Comments Add Comment

पवित्र महिना रमजान : जीवनमा अल्लाहको आशीर्वाद प्राप्त गर्ने अवसर

अहिले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान चलिरहेको छ । अत्यन्त पवित्र आशीर्वाद एवं सौभाग्यले भरिपूर्ण रमजान मानिसहरूले अल्लाहप्रति प्रेम एवं समर्पण दर्शाउनुका साथै आफूले आफैंलाई अल्लाहले देखाएको बाटोमा कत्तिको दृढतापूर्वक लाग्न सकिएको छ भनेर जाँच्ने अवसर पनि हो । यसकारण रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै-प्यासै रही सर्वशक्तिमान अल्लाहलाई याद गरी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुन्छ ।

रमजानको महिना थुप्रै अर्थले पवित्र मानिन्छ । अल्लाहले यसै महिनामा संसारी मानिसका लागि कुरा शरीफ उतारेका थिए जसबाट मानिसहरूलाई नियम र आदर्शको प्रकाश प्राप्त भयो । यो महिनाले प्रेम एवं बन्धुत्वको सन्देश दिने इस्लामको सार तत्वलाई समेत उजागर गर्छ । रोजा भोकप्यास तथा समस्त वैयक्तिक चाहना एवं वासनामाथि नियन्त्रण गर्ने साधना हो । यसलाई पालन गर्नाले मानिसमा संयम तथा त्यागको भावना सुदृढ हुन्छ । यो महिनामा गरिबहरूलाई नजिकबाट बुझेर उनीहरूको सेवा गर्ने भाव आफूमा जागृत गराउने दृष्टिले समेत अनुपम मानिन्छ ।

सामाजिक हिसाबले पनि रमजानको ठूलो महत्व छ । यो महिनामा सक्षम व्यक्तिले गरिबहरूलाई अनिवार्य रूपले आफ्नो कुल सम्पत्तिको निश्चित हिस्सा ‘जकात’ का रूपमा बाँड्नुपर्छ जसले सामाजिक असमानता हटाउन धेरै हदसम्म मद्दत गर्छ ।

यो महिनामा रोजा बस्नु सम्पूर्ण मुसलमानहरूको कर्तव्य हो । कुरान शरीफमा यो महिनाको महिमा गान पाइन्छ । यो दैवी आशीर्वादयुक्त महिनामा मानिसहरूबाट कुनै गल्ती नहोस् र उनीहरूलाई अल्लाहको कृपा मिलोस् भन्ने अभिप्रायले रोजालाई इस्लाममा अनिवार्य गरिएको पाइन्छ । तसर्थ यो महिना हरेक सच्चा मुसलमानले अल्लाहको रहमत (कृपा) प्राप्त गर्ने प्रयत्नमा कुनै कसर बाँकी राख्दैनन् ।

एक महिना लामो यो व्रत बस्दा स्वास्थ्यमा केही समस्या पो आउला कि ? अथवा त्यसबाट शरीरलाई फाइदा नै बढी पो मिल्छ कि ? यस विषयलाई यहाँ दर्शाउन खोजिएको छः

रोजाः कसरी स्वस्थ्यकर ?

मुस्लिम समुदायको पर्व रमजान सुरु भएको छ । यतिबेला विश्वभर छरिएका लाखौं मुसलमान समुदाय सूर्योदयदेखि सूर्यास्तसम्म ३० दिनका लागि रोजा (उपवास) राख्छन् ।

सबैभन्दा कठिन-सुरुवाती केही दिन

प्राविधिक रूपले अन्तिम पटक खाना खाइसकेपछि आठ घण्टा वा त्यसभन्दा केही समयपछिसम्म तपाईको शरीर उपवासका लागि तयार भएको हुँदैन । यो पेटमा रहेको भोजनबाट पोषक तत्व अवशोषित गर्ने समय हो ।

त्यसपछि तुरुन्तै हाम्रो शरीरले कलेजोमा जमेको ग्लूकोज र मांसपेशीबाट ऊर्जा लिन्छ । उपवासको क्रममा वा त्यसपछि, ग्लुकोजको भण्डार सकिन्छ । र, शरीरको उर्जाका लागि अर्को स्रोत बोसो बन्छ ।

जब शरीरमा बोसो कम हुन थाल्छ, तब तौल घट्छ । कोलोस्ट्रोलको मात्रा घट्छ र यसले मधुमेहको जोखिम पनि कम गर्छ । ब्लड सुगरको स्तर कम हुनु कमजोरी वा सुस्त अनुभव हुनसक्छ । टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने, सास फेर्न गाह्रो भएको अभनुव हुन्छ । यो त्यही बेला हुन्छ, जतिबेला तपाईको भोक तीव्र स्तरमा हुन्छ ।

३ देखि ७ दिनः शरीरमा पानीको कमी भएमा सावधान

जसै शरीर रोजामा अभ्यस्त हुँदै जान्छ, बोसो पग्लन्छ र यो ब्लड सुगरमा बदलिन्छ ।

रोजाको क्रममा तरल पदार्थ समेत पिइँदैन । यद्यपि शरीरमा पानीको अभाव पूर्ति गर्नका लागि दुई रोजाको बीचमा पर्याप्त पानी पिउनुपर्छ । खानामा पर्याप्त मात्रामा कार्बोहाइड्रेड र केही बोसोयुक्त अर्थात् शक्तिवर्द्धक खानेकुराको सेवन गर्नुपर्छ । यस क्रममा केही प्रोटिन, नुन र पानीयुक्त संन्तुलित आहार लिनुपर्छ ।

८ देखि १५ दिनः रोजाको बानी

तेस्रो चरण आउँदासम्म तपाईंको मनोदशामा सुधार देखिन्छ । किनभने त्यसबेला तपाईंको शरीर रोजामा अभ्यस्त भइसकेको हुन्छ । क्याम्ब्रिजमा एडेनब्रुकका एक अस्पतालका एनेस्थेसिया र इन्टेसिभ मेडिसिन सल्लाहकार रजीन महरुफ भन्छन्, यसका केही फाइदा छन् ।

‘दैनिक जीवनमा हामी अत्यधिक क्यालोरी लिइरहेका हुन्छौं, खानाको माध्यामबाट । यसले शरीरलाई अन्य काम गर्नमा अवरोध गर्छ, जस्तो कि स्वयम्को मर्मत गर्न ।’ उनका अनुसार जब रोजाको क्रममा उपवास बसिन्छ, तब शरीरले अन्य कार्यमा ध्यान दिन्छ । त्यसरी रोजाले स्वस्थ्य बनाउन, संक्रमण रोक्न र यससँग लड्नका लागि शरीरलाई फाइदा पुर्‍याउँछ ।

१६ देखि ३० दिनः डिटाक्सिङ

रमजानको अन्तिम बाँकी समयमा, तपाईको शरीर उपवासको प्रक्रियाअनुरूप ढल्छ । यस क्रममा तपाईंको मलाशय, कलेजो, मिर्गौला र छाला डिटाक्सिफिकेसनको चरणबाट गुजि्रन्छ ।

डा. महरुफ भन्छन्, ‘स्वास्थ्यका सन्दर्भमा यस चरणमा शरीरको अंग काम गर्नका लागि अधिकतम क्षमतामा र्फकनुपर्छ । तपाईको स्मरण एवं एकाग्रता बढ्न सक्छ र तपार्इमा अरू बढी इनर्जी आउन सक्छ ।’

यो त्यही बेला हो, जब भोकमरीको मोडमा आउन लागिन्छ र ऊर्जाका लागि आफ्नो मांसपेशीको प्रयोग हुन थाल्छ । यो तब हुन्छ, जब तपाईंको उपवास केही दिन वा हप्तासम्म चलिरहन्छ । यद्यपि रमजान केवल बिहानदेखि बेलुकीसम्म मात्र चल्छ । त्यसैले हामीसँग ऊर्जा दिने खाद्य एवं तरल पदार्थले स्वयंलाई पूर्ति गराउनका लागि पर्याप्त अवसर पाउँछ । यसले तौल घटाउनमा सहयोग पनि गर्छ ।

त्यसो भए, रोजा बस्नु हाम्रो स्वास्थ्यका लागि राम्रो हो ?

डा. महरुफ भन्छन्, ‘निश्चय पनि । तर एक सर्तमा ।’ उनका अनुसार उपवास हाम्रो स्वास्थ्यका लागि राम्रो हो, किनभने यति बेला हामी के र कति बेला खान्छौं भन्ने कुरामा ध्यान दिन्छौं । एक महिनासम्मको रोजा ठीक हुनसक्छ । तर, यो भन्दा लामो अवधिको लागि रोजा बस्नु उचित हुँदैन ।

लगातार लामो समयसम्म उपवास बस्नु तौल घटाउने उपयुक्त विकल्प होइन । किनभने अन्त्यमा तपाईंको शरीरको बोसो ऊर्जामा बदल्ने प्रक्रिया रोकिन्छ र त्यसको बदलामा त्यो मांसपेशीमा बदल्न थाल्छ । यो अस्वस्थकर हो र यसको अर्थ हो कि, तपाईको शरीर अब ‘भोकमरी मोड’मा जाँदै छ ।

डा. महरुफका अनुसार रमजानका साथै अन्य दिनमा पनि उपवास बस्नु एक स्वस्थ्य विकल्प हुन्छ । रमजानको क्रममा सही तरिकाले गरिएको रोजा, तपाइलाई हरेक दिन तपाईको शरीरमा ऊर्जा भर्नका लागि अनुमति दिन्छ । यसको अर्थ यो हो कि, शरीरलाई कत्ति पनि कष्ट नदिई तपाईले आफ्नो तौल नियन्त्रण गर्न सक्नुहुनेछ ।

यद्यपि रोजा राख्नुको शारीरिकभन्दा बढी आध्यात्मिक महत्व छ । अल्लाहको नजिक पुग्न, इमानको जीवन जिउन तथा मानव जीवन सफल बनाउनका लागि इस्लाममा रोजाले ठूलो महत्व राख्छ । रमजानका अवसरमा हरेक दिन बसिने रोजाको छुट्टाछुट्टै विशिष्ट धार्मिक महत्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment