८ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।
सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ । लगत्तै, सुन तस्करी र सनम शाक्य हत्याको मुद्दा चलिरहेको जिल्ला अदालत मोरङमा उनलार्इ उपस्थित गराइएको छ ।
गोरेलाई गौरीघाटबाट बिहान करिब ५ः ३४ बजेको समय पक्राउ गरिएको छानविन समितिले बताएको छ । मोरङ उर्लाबारी-४ का गोरेको काठमाडौं-८ स्थित गौरीघाटमा घर छ । उनलाई त्यहीं क्षेत्रबाट पक्राउ गरिएको समितिले बताएको छ ।
समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेलले भने, ‘हामी सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी कार्य जारी राखेकै थियौं । नेपाल आएको सूचनाका आधारमा मंगलबार बिहान पक्राउ गरिएको हो ।’
समितिका अनुसार गोरेसँग प्रारम्भिक सोधपुछ भएको छ र उनले सुन तस्करी र त्यसमा संलग्नहरुबारे केही सूचना दिएका छन् । ‘उनीहरुको विषयमा समेत गोरेबाट पुष्ट्याइ प्रमाण, तथ्य र सूचना प्राप्त भएको छ’, संयोेजक पौडेलले भने, ‘गहिराइका साथ तथ्यपरक ढंगले अनुसन्धान गर्नै क्रम जारी राख्नेछौं ।’
समितिको अनुसन्धानका क्रममा चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको ठहर गरेको छ । त्यस आधारमा ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।
गोरे समूहले तस्करी गरेर ल्याएको साडे ३३ किलो सुन हराएपछि खोजविनका क्रममा सनम शाक्यको हत्या भएको थियो । त्यसको छानविनका क्रममा गोर र उनको समूहले गर्दै आएको सुन तस्करीको पोल खुलेको हो ।
के हो साढे ३३ किलो सुनकाण्ड ?
माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइँगुइँ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिअार्इजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।
एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।
घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।
भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म
चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।
प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।
उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ-११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।
उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’
दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।
जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।
नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । ‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो’, स्रोतले भनेको छ, ‘उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।’
देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । काठमाडौंको गोेरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए ।
हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।
यो पनि पढ्नुस्
यी हुन् ३८ क्वीन्टल सुन तस्करीका नाइके गोरे
होटललाई ‘अफिस’ बनाउँथे गोरे ! ६ लाख खर्चेर ल्याएको एकाउन्टेन्ट खोज्दै समिति
गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)
सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति
त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)
कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति
अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे
प्रतिक्रिया 4