Comments Add Comment

कस्तो छ डा. केसीको स्वास्थ्य ? आमाको आग्रहमा गरियो रगत परीक्षण

स्वास्थ्य अवस्था निकै गम्भीर

७ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको रगत परीक्षण गरिएको छ । जसबाट उनको स्वास्थ्य निकै गम्भीर रहेको पाइएको छ ।

जुम्लाबाट काठमाडौं ल्याउने क्रममा प्रहरीले कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा अत्यधिक बल प्रयोग गरेको भन्दै डा. केसीले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै आएका थिए । ८० वर्षीय आफ्नी आमा मित्रकुमारी केसीको विशेष आग्रहमा उनी रगत परीक्षण गर्न तयार भएका हुन् ।

आइतबार साँझ छोरालार्इ भेट्न आएकी आमा स्वास्थ्य परीक्षण पनि नभएको थाहा पाउँदा विक्षिप्त भएकी थिइन् । भेटमा उनले केही भनिनन् । तर, टेलिफोनमा भावुक हुँदै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी थिइन् ।

केसीको रगत परीक्षणको रिपोर्ट आएसँगै चिकित्सकहरु चिन्तित भएका छन् । रगतका सम्पूर्ण ‘प्यारामिटर’हरु असामान्य छन् । सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ । यति कम सेतो रक्तकोशिका भएका बिरामीलाई कुनै संक्रमण भइहाले त्यसले भयावह रुप लिन सक्ने चिकित्सकहरु बताउँछन् ।

यसैका कारण भेट्न आउने मानिसहरुलार्इ १० मिटर परै राख्ने गरिएको छ र डा. केसी अनसन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ‘ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको छ । ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर ब्रेनमा देखिन्छ । स्नायुहरु शक्तिहीन बन्दै जान्छन् र बेहोस हुने, सिजर हुने अर्थात छारे रोगका लक्षणहरु पनि देखिन सक्छ ।

जुम्लामा रहँदै घटेको पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा अझै बढेको छैन । विशेषत पोटासियम एकदमै न्युन छ जसको सिधा सम्बन्ध मुटुसँग छ ।

रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ । एकैछिन पनि अक्सिजन नलगाउँदा डा. केसीलार्इ निकै अप्ठ्यारो हुने गरेको किशोर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment