Comments Add Comment

उकुसमुकुस काठमाडौं: नगरबासीमा नाक, कान, घाँटीको समस्या

२६ भदौ, काठमाडौं । काठमाडौं म्हैपीका १९ वर्षिय  सुजित खनाललाई घरबाहिर निस्कनुपरे माक्स नभई हुन्न । माक्स नलगाई हिडडुल गरेपछि उनको घाँटी सुक्छ । रुघा लाग्छ ।

अधिकांश राजधानीवासीको साझा समस्या हो यो । घरबाहिर निस्कनु परेमा माक्स लगाउनै पर्ने । माक्स नलगाई हिंडडुल गर्दा बिरामी हुने सम्भावना छ । यहाँको वायु यति दूषित छ कि, त्यसले हरेक क्षण नगरवासीको फोक्सोलाई शिथिल बनाइरहेको छ । यही कारण त अहिले नाक, कान, घाँटीको समस्याले नगरवासी आक्रान्त छन् ।

यस हिसाबले अक्सिजनको सिलन्डिर नै पछाडि बोकेर हिडेको अतिरिञ्जित तस्विर, भिडियो कुनै दिन काठमाडौंको वास्तविकता नबन्ला भन्न सकिदैन । । काठमाडौंको सडकमा हुने धुलो र धूवाँबाट बच्न मास्कको प्रयोग गर्ने गरेको खनाल बताउँछन् ।

भयावह तथ्यांक

विश्वका विभिन्न १८० देशमा वायु प्रदूषणको अवस्था मूल्यांकन गर्दै केही महिनाअघि सार्वजनिक गरिएको ‘इन्भाइरोमेन्टल पर्फमेन्स इन्डेक्स’मा नेपाल १७६ औं स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

अमेरिकाका प्रतिष्ठित येल र कोलम्बिया विश्वविद्यालयले विश्व आर्थिक मञ्चको सहयोगमा संयुक्त रूपमा तयार गरेको उक्त प्रतिवेदनमा ८७.२ अंकको साथमा स्विट्जरल्याण्ड पहिलो स्थानमा रहँदा नेपालले ३१.४४ अंक मात्रै प्राप्त गरेको थियो ।

२४ वटा सूचकाङ्कलाई आधार मानेर तयार गरिएको उक्त प्रतिवेदनले पनि नेपालमा वायु प्रदूषणको अवस्था कति खराब छ भन्ने कुराको चित्रण गर्छ ।

उकुसमुकुस वायु

धुलोधूवाँयुक्त कच्ची र अस्तव्यस्त सडक अनि त्यसमा गुड्ने सवारी साधन नै नेपालमा वायु प्रदूषणका मुख्य कारक हुन् । विभिन्न उद्योग, कलकारखाना र इँटाभट्टाहरूले पनि वायुप्रदूषण बढाएका छन् । यस्तै ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण समेत वायुप्रदूषण हुने गरेको छ ।

खासगरी शहरी क्षेत्रमा सडक विस्तार कार्य चलिरहेको स्थानमा धुलो खपिसाध्य छैन । यस्ता ठाउँमा कुहिरीमण्डल हुनेगरी  उड्ने धुलो र धूवाँको  मुस्लोले सास फेर्न नै गाह्रो बनाउँछ । शहरी क्षेत्रमा हुने यस्ता प्रदूषणको कारण धेरै मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या निम्तन थालेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुप्रदूषणको कारण प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ । प्रदूषणको कारण धेरैको मृत्यु हुने देशमध्ये  नेपाल पनि अग्रस्थानमा आउँछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा वायुप्रदूषणको कारण हुने मृत्युदर वर्षेनी प्रतिलाख १९३ दशमलव ८ रहेको छ ।

प्रदूषणले नाक, कान, घाँटीको स्वास्थ्यमा पार्ने असर

काठमाडौं लगायतका शहरी क्षेत्रमा वायुप्रदूषण मात्रै होइन ध्वनि प्रदूषण समेत उच्च रहेको छ । यस्तो प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ ।

धुलो, धूवाँ तथा ध्वनि प्रदूषणले मानिसहरूमा नाक, कान, घाँटी र छातीसम्बन्धी  समस्या बढाएका छन् । बालबालिका र वृद्धवृद्धाको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले प्रदूषणको कारण उनीहरूको जीवन बढी जोखिममा छ ।

वीर अस्पतालका नाक, कान र घाँटी विशेषज्ञ डाक्टर त्रिदीप पन्थ भन्छन्, ‘हालैका वर्षहरूमा बढेको धुलो, धूवाँ र प्रदूषणको कारण नाक, कान, घाँटी र छाती रोगका विशेषज्ञकहाँ  बिरामीको चाप बढेको छ ।’

डाक्टर पन्थका अनुसार धूवाँ, धुलो र प्रदूषणले नाक, कान, घाँटीको स्वास्थ्यमा यस्ता समस्या देखिन्छन्ः

-नाक, कान, घाँटीमा एलर्जीको समस्या तथा रुघाखोकीको समस्या बढ्छ ।

-धुलो धूवाँको कारण घाँटीमा संक्रमण भएर टन्सिलाइटिस हुन सक्छ ।

-एलर्जीको समस्या बढ्दै गएर कहिलेकाहीं पिनासको समस्या पनि निम्तन सक्छ र नाकमा मासु पलाउने समस्या बढ्छ ।

-ध्वनि प्रदूषणको कारण वा चर्को ध्वनि आउने क्षेत्रमा धेरै समय बस्नाले मानिसको श्रवण शक्तिमा विस्तारै ह्रास आउँछ र मानिसहरू तिखो स्वर सुन्न नसक्ने हुन्छन् ।

-त्यस्तै नाकको बाटो हुँदै छातीमा धुलो, धूवाँ पस्छ र त्यसले दम, निमोनिया लगायतका अन्य समस्या देखिन्छन्। छातीको क्यान्सर समेत हुन सक्छ भने  मुटुसम्बन्धी रोगहरूको जोखिम पनि बढ्छ ।

यस्ता स्वास्थ्य समस्याबाट बच्न कस्ता उपाय अपनाउने ?

नाक, कान, घाँटी धेरै नै संवेदनशील अंग भएकाले यसको राम्रो हेरविचार गर्नुपर्छ । वायु र ध्वनि प्रदूषणबाट यी अंगहरू जोगाउन विशेष ध्यान दिनुपर्छ ।

सरकारले सडक विस्तार कार्यलाई छिटै व्यवस्थापन गरेर धुलो, धूवाँ नउड्ने बनाइदिएमा प्रदूषणबाट निम्तने स्वास्थ्य समस्याबाट केही हदसम्म भए पनि बच्न सकिने डाक्टर पन्थ बताउँछन् । तर, आम मानिसले सरकारी पाटोलाई नहेरी आˆनो स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

प्रदूषणको कारण नाक, कान, घाँटीमा निम्तने स्वास्थ्य समस्याबाट जोगिन निम्न उपाय अपनाउनुपर्ने उनको सल्लाह  छः

-प्रदूषणबाट बच्न लागि धुलोधूवाँ धेरै हुने ठाउँमा जान कम गर्ने । त्यस्तै ध्वनि  प्रदूषणबाट उत्पन्न हुन सक्ने कानको समस्याबाट बच्न धेरै कोलाहल र कर्कश आवाज आउने ठाउँमा धेरै नबस्ने ।

-धुलो धूवाँयुक्त स्थानमा जानैपर्ने भएमा अलि बाक्लो खालको मास्क प्रयोग गर्नुपर्छ । पातला मास्कले त खासै प्रभावकारी रूपमा धुलो धूवाँबाट बचाउन सक्दैन।  बाक्लो खालको विशेष मास्क लगाए प्रदूषणको असरबाट धेरै हदसम्म बच्न सकिन्छ ।

-वातावरणमा कीटाणु, भाइरस सबै कुरा हुन्छन् त्यसैले तिनबाट जोगिन रुघाखोकी लागेका मानिसहरूको वरिपरि जानु हुँदैन।  यसो गर्दा रुघाखोकी र छातीको इन्फेक्सनबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment