Comments Add Comment

वकिल बन्न खोज्दा चार पटक प्रधानमन्त्री भइयो !

१ असोज, काठमाडौं । बैतडी जिल्लाको कुरकुटियामा विसं. १९९६ साल फागुन ३ गते जन्मेका लोकेन्द्रबहादुर चन्द पञ्चायत र बहुदलकालमा दुई-दुईपटक प्रधानमन्त्री बने । ०४६ सालको जनआन्दोलनका बेला दुई हप्तामात्रै प्रधानमन्त्री बनेका चन्दले आन्दोलनरत दल र दरबारबीच सहमति जुटाउन भूमिका खेले ।

संसद नभएका बेला ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले चन्दलाई संकटमोचकका रुपमा अघि सारेका थिए । त्यसपटक भने उनले राजाले दिएको ‘टास्क’ पूरा गर्न सकेनन् । राजतन्त्रको विरुद्धमा जनयुद्ध गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नसकेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

त्यसबेला कांग्रेस-एमालेलाई सरकार र शान्ति प्रक्रियामा सहभागी गराउन नसक्दा शान्ति प्रक्रियाले गति लिन नसकेको उनको बुझाइ छ । आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन प्रयत्न गरेको तर दरबारको एउटा शक्तिले अस्वीकार गरेको चन्द बताउँछन् ।

मृदुभाषी नेताको पहिचान बनाएका लोकेन्द्रबहादुर चन्द राजनीतिमा मात्रै नभएर साहित्यमा पनि उत्तिकै सशक्त नाम हो । एक दर्जन भन्दा बढी पुस्तकका सर्जक उनले ०५४ सालमा मदन पुरस्कार पाएका थिए ।

एउटा उपन्यास र आत्मकथा प्रकाशनको तयारीमा रहेका चन्दले अहिलेसम्म पुस्तकको रोयल्टी भने पाएका रहेनछन् ।

यही दशैंको आसपासमा आँखाको शल्यक्रिया गर्ने तयारीमा रहेका पूर्वप्रधानमन्त्री चन्द ढाड र खुट्टाको दुःखाइले गर्दा टाढा हिँडडुल गर्दैनन् ।

बरिष्ट राजनीतिज्ञ चन्दले ०२७ सालमा जिल्ला पञ्चायतको सभापतिबाट राजनीतिक ‘करिअर’ शुरु गरेका हुन् । अन्ततः चन्दसमेत सभासद रहेको संविधानसभाको पहिलो बैठकले ०६५ सालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै संघीय गणतान्त्रिक नेपालको घोषणा गर्‍यो । ६०१ सभासदमध्ये चारजनाले राजतन्त्रको पक्षमा भोट दिएका थिए । तर, चन्दले भने गणतन्त्रकै पक्षमा मत दिए ।

तथापि गणतन्त्र स्थापनाको एक दशकपछि अनलाइनखबरसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री चन्दले राष्ट्रिय एकताको प्रतीकका रुपमा सांस्कृतिक राजतन्त्रको आवश्यकता रहेको औंल्याएका छन् ।

पञ्चहरूको पार्टीको रुपमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी ०४६ सालको राजनीतिक परिवर्तनपछिदेखि नै विभिन्न चिरामा विभाजित छ । तर, अब पदीय लालसाले गर्दा टुक्राटुक्रा भएको राप्रपा एक ठाउँमा नआए त्यो पार्टीको भविष्य समाप्त हुने पूर्वप्रधानमन्त्री चन्दको विश्लेषण छ ।

पछिल्लो समय मिडियासँग हत्तपत्त खुल्न नचाहने चन्द भक्तपुरस्थित निवासमा प्रारम्भिक राजनीतिक जीवन, पञ्चायतदेखि बहुदलकालीन प्रधानमन्त्रीको अनुभव र साहित्यक जीवनबारे यसरी खुलेः

प्रभावशाली वकील बन्न पञ्च बनेको प्रधानमन्त्री बनाइएँ

विद्यार्थी जीवनमा पनि विभिन्न सामाजिक संघसंस्थामा बसेर त काम गर्दै थिएँ । मलाई राजनीतिमै होमिने इच्छा भने थिएन । त्योबेला पञ्चायती व्यवस्था थियो । विद्यार्थी छँदा यो व्यवस्था त मिलेन कि जस्तो लाग्थ्यो । तर, पछि पञ्चायती व्यवस्थाका सिद्धान्तहरू पढेँ । त्यसमा भएका दुईवटा कुरा मन परे । एक- शोषणरहित समाजको स्थापना र अर्को- वर्ग समन्वयको सिद्धान्त । यी सिद्धान्त करिब- करिब महात्मा गान्धीको सर्वोदयसँग मिलेको हुनाले ठीकै छ भन्ने मनमा लाग्यो ।

त्योबेलामा वकालत गर्ने लाइसेन्स लिन पढाई सकिएपछि ६ महिनासम्म कुनै ल र्फममा गएर काम गर्नुपथ्र्याे । सर्वोच्च अदालतको एउटा समितिले पारित गरेपछि मात्रै वकालत गर्ने लाइसेन्स पाइन्थ्यो । त्यो परीक्षा पास गरेर लाइसेन्स पाएपछि म बैतडी लागें ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र हाम्रै जिल्लाका लवदेव भट्ट मैले प्राक्टिस गरेकै ल र्फममा काम गर्नुहुन्थ्यो । भण्डारीलाई म अहिले पनि गुरु नै भन्छु ।

त्यतिबेलाको मेरो अनुभव के रह्यो भने कर्मचारीहरू पनि पञ्चायतको सदस्यलाई छुट्टै ढंगले हेर्दथे । सदस्यता लिएको छैन भने वास्ता गर्दैनथे । जसरी अहिले सत्ताधारी कार्यकर्ताको कुरा टेर्छन्, अरुको सुन्दैनन् ।

राम्रो वकिलै हुनका लागि पनि पञ्चायतको सदस्यता लिनुपर्ने रहेछ भन्ने लाग्यो र जिल्ला सभा सदस्य भएँ । त्यसपछि सभापतिको चुनाव आयो । उम्मेदवार बन्ने मेरो पटक्कै इच्छा थिएन । साथीभाइले उम्मेदवार बन्न दबाव दिए । त्यहाँ लामो समयदेखि एउटा समूह हाबी रहेछ । त्यसलाई मैले मात्रै टक्कर दिनसक्छु भन्ने साथीभाइ, आफन्तको भनाइ थियो । उम्मेदवार बन्न तयार भएँ र ०२७ सालमा बैतडी जिल्ला पञ्चायतको सभापति भएँ ।

त्योबेलामा धेरै काम गर्नुपर्ने । तर, सुविधा केही हुँदैनथ्यो । ल को प्राक्टिस पनि छुट्यो ।

जिल्लाको सभापतिको भन्दा अञ्चल सभापतिको त्यति धेरै काम हुँदैनथ्यो । वर्षको दुई तीनवटा काम गरिदिएपछि भयो । त्यसै गरौंला र कञ्चनपुरमा बसेर ल प्राक्टिस गरौंला भनेर ०२८ सालमा अञ्चल सभापतिकोे चुनाव लडें र जितें ।

एक/डेढ वर्षपछि नै राष्ट्रिय पञ्चायतको चुनाव आइहाल्यो । त्यसमा साथीहरूले पनि लड्नुपर्छ भने । म पनि लागि त हालियो, लडौं भनेर अघि सरेँ । चुनाव पनि जितेँ र काठमाडौं आएँ ।

त्यसको करिब एक वर्षमा राष्ट्रिय पञ्चायत उपाध्यक्ष (उपसभामुख जस्तै) को चुनाव हुने भयो । त्यसमा उम्मेदवार बनंे । मेरो विपक्षमा मरिचमानसिंह श्रेष्ठ हुनुहुन्थ्यो । उहाँलाई जम्मा एक भोटले पराजित गरेँ ।

त्यसपछि तीन पटकसम्म निर्विरोध राष्ट्रिय पञ्चायतको उपाध्यक्ष भइरहेँ । राष्ट्रिय पञ्चायत अध्यक्ष (सभामुख) भएँ । ०४० सालमा प्रधानमन्त्री भएँ । मुलुकको विकास एशियाली मापदण्डमा पुर्‍याउने भन्ने राजा वीरेन्द्रको निर्देशन थियो ।

वीरेन्द्रलाई बहुदल दिन कसले रोक्यो ?

०३६ सालको जनमत संग्रहपछि जुन राजनीतिक अवस्था आयो, त्यसपछि नै राजाले बहुदल पक्षधरलाई समेट्न खोजेको बुझिन्थ्यो । तर, दरबार भनेको राजा मात्रै हुँदैनन्, अनेक घेरा हुन्छन् । त्यही घेराले गर्दा राजाले चाहेको सबै गर्न मिल्दैन ।

म प्रधानमन्त्री भइसकेपछि (०४० सालतिर) को कुरा हो । त्यतिबेला नागार्जुनमा हप्ताको एकदिन प्रधानमन्त्रीले राजालाई दर्शन गर्नुपर्दथ्यो । बर्खाको समय थियो । म गएँ । मेरो जाहेरी सकियो ।

हिँड्नेबेलामा मैले व्यवस्था बाहिर भएका कांग्रेस लगायतलाई के गरिबक्सन्छ सरकार भनेर सोधेँ । अरुलाई नदिए पनि कांग्रेसलाई पार्टी सञ्चालन गर्न दिइबक्सेको छ । उनीहरूमा पनि राजाले केही बक्सन्छ भन्न आशा होला भनेपछि राजा आफ्नो आसनबाट उठेर कुर्सीमा बस्नुभयो र मलाई पनि बस भन्नुभयो ।

यिनीहरूको माग के हो ? उहाँले सोध्नुभयो । थाहा नभएर भन्दा पनि मेरो मुखबाट सुन्न चाहनुभएको थियो । त्योबेला उम्मेदवार हुँदा सपथ पत्रमा हस्ताक्षर गर्नुपथ्र्यो । त्यो नहोस् र हामीलाई चुनाव चिह्न (रुख) पाइयोस् । देशभरिमा एउटै चिह्नमा लड्न पाइयोस् भन्ने माग हो सरकार भनें । वर्गीय संगठन हुनुपर्‍यो भन्ने पनि माग छ भनें ।

त्यसपछि राजाले यसमा तिम्रो भनाइ के छ भनेर सोध्नुभयो । उम्मेदवार हुँदा राजा र राजसंस्थाप्रति आस्था छ भन्ने लगायतका सहीछापको केही मतलब छैन । दशवटै औंलाले सही छाप गरे पनि अदालतमा गएर होइन भनीदिन्छ । त्यसकारण सपथपत्रमा भएको त्यो व्यवस्था (राजसंस्थाप्रति आस्था छ भन्ने वाक्य) हटाइदिइबक्से हुन्छ भनिदिएँ । वर्गीय संगठन पञ्चायतभित्र पनि राजनीति गर्ने थलो नै हो भनें ।

चुनावचिह्नका लागि सरकारबाट हुकुम भयो भने निर्वाचन आयोगले मिलाइहाल्छ । आयोगको प्रमुखलाई मौखिकै हुकुम भए पुग्छ भनें । बरु, हामी पञ्चहरूका लागि पनि चुनाव चिह्नको निर्णय गर्नुपर्छ कि भनेँ ।

राजाले कांग्रेसका कोही आउने र कोही नआउने हो भने त्यसको अर्थ छैन, सबै आउने हो भने ठीक छ भन्नुभयो । त्यसका लागि तिमी कुरा गर, सबै आउँछन् भने म त्यो माग पूरा गरिदिन्छु भन्नुभयो ।

त्यहाँबाट म आएँ । राजाले ठीक छ त भन्नुभयो, तर गर्न दिन्छन् कि दिँदैनन् भन्ने कुरा मनमा खेल्यो । प्रधानमन्त्रीले नै राजालाई उक्सायो भन्ने पार्छन् कि जस्तो पनि लाग्यो ।

कांग्रेसलाई मैले आफैं भनिनँ । त्योबेलाका एकजना मन्त्रीलाई लगाएँ । उनी थिए नारायणदत्त भट्ट । उनी मार्फत कांग्रेसका नेताहरू सबैलाई एक हप्ता काठमाडौंमै बस्नु भन्न लगाएँ । वार्ता अघि बढ्दै थियो ।

दर्शनभेटको चौथो दिन एउटा कामले दरबारमा गएको थिएँ । राजाले प्रधानमन्त्री तिम्रो अरु नै धेरै काम छ, त्यता ध्यान देऊ, म यो काम अरुलाई नै जिम्मा दिन्छुृ भन्नुभयो । राजा वीरेन्द्र खुशी होइबक्सन्नथ्यो । त्यसपछि त्यो कुरा अगाडि बढ्न सकेन ।

दुई हप्ताका लागि प्रधानमन्त्री

म ०४६ सालमा फेरि दुई हप्ताका लागि प्रधानमन्त्री भएँ । मरिचमानजी हट्नु भएपछि म प्रधानमन्त्री भएको थिएँ । राजा वीरेन्द्रबाट आन्दोलनरत कांग्रेस र बाममोर्चाका नेताहरूसँग कुरा गर्न आज्ञा भयो । उनीहरूलाई देश, देशको स्वाधीनता र सार्वभौमिकता चाहिएको हो कि होइन सोध्नु भन्ने आज्ञा भयो । यदि चाहिएको हो भने यिनीहरूले मागेको के हो, म दिन तयार छु भन्नुभयो ।

मैले चिठी त देखिनँ । तर, बाहिरबाट केही मिलाउँ भन्ने चिठी आएको थियो रे । तर, पूर्खाले आर्जन गरेको स्वतन्त्रता मेरा पालामा जान दिन्न । बरु यी जे भन्छन्, म गर्छु भन्नुभयो ।

त्यसपछि मैले कांग्रेस र कम्युनिष्टसँग वार्ता गर्न अलग-अलग टोली पठाएँ । कांग्रेसबाट कृष्णप्रसाद भट्टराईजी, गिरिजाप्रसाद कोइरालाजी र कम्युनिष्टबाट सहाना प्रधान, राधाकृष्ण मैनाली आउनुभयो । त्यो बैठकमा म पनि बसेँ । सहमति हुने भएपछि गणेशमान सिंहजी पनि आउनुभयो ।

सहमतिपछि निर्दलीय सरकार हटाएर बहुदलीय सरकार बनाउने र नयाँ संविधानका लागि कमिटी गठन हुने भयो । कमिटी पनि गठन भयो ।

०४६ चैत २६ पछि बहुदलीय व्यवस्था हुने भयो । तर, संविधान त पञ्चायती नै थियो । जुन धाराअन्तर्गत सरकार गठन भएको हो, त्यसअनुसार मैले राजीनामा गर्नु पर्दथ्यो । संविधानको धारा त अहिले ठ्याक्कै सम्भिmन सकिनँ । तर, त्यसमा के थियो भने जटिल परिस्थिति उत्पन्न भयो भने राजाले खास काम दिएर अन्तरिम सरकार गठन गरिबक्सन सक्नेछ र त्यो सरकार बढीमा तीन महिना कायम रहन सक्नेछ वा जुन दिन जिम्मा दिएको काम पूरा हुन्छ, त्यो सरकारले राजीनामा दिनेछ भन्ने व्यवस्था संविधानमा थियो ।

त्यसै अनुसार मैले राजीनामा दिएँ । बाहिर खोसेर लियो, के-के भन्छन् त्यस्तो केही होइन ।

राजाले मलाई पदको मोह छैन र आफ्नो भन्दा मुलुकको भलो सोच्छ भन्ने विश्वासले प्रधानमन्त्री बनाएको हुनुपर्छ । धेरै कुटनीति गर्नसक्छ भनेर होइन ।

पूरा नभएको ‘टास्क’

बहुदल आएपछि कांग्रेस र एमालेबीच कुरा मिलिरहेको थिएन । मनमोहन अधिकारीजीले नेतृत्व गरेको सरकार विघटन भएपछि शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बन्यो । त्यसमा हाम्रो पार्टी पनि सहभागी थियो ।

पार्टीभित्र पनि मपट्टकिा साथीहरूले आफूलाई अन्याय भएको महसुस गरिरहेका थिए । त्यतिबेला गिरिजाबाबु, कृष्णप्रसाद भट्टराईजी, सूर्यबहादुरजी र म बसेर निर्णय गथ्र्यौं । तर, मेरो पक्षका साथीहरुको काम हुँदैनथ्यो । यो गुनासो लिएर म सूर्यबहादुरजीकहाँ पनि गएँ । उहाँले हुन्छ-हुन्छ भन्नुहुन्थ्यो, कार्यान्वयन गर्नुुहुन्नथ्यो ।

एमालेले त धेरै पहिलादेखि नै मलाई प्रधानमन्त्रीमा अगाडि बढ्न प्रस्ताव ल्याएका थिए । मैले नै भर्खर नयाँ सरकार गठन भएको छ, अहिले त्यस्तो गर्नुहुँदैन भन्दै आएको थिएँ । एमालेले बामदेव गौतमजीलाई खटाएको थियो । हाम्रोतर्फबाट म आफैं वार्तामा जान्थें ।

यसरी एमालेको समर्थनमा ०५३ मा म तेस्रोपटक प्रधानमन्त्री भएँ । त्यसबेला हाम्रै पार्टीका कतिपय सांसदले मलाई भोट दिएनन् । शेरबहादुर देउवाजीलाई भेटेर म तपाईको विरुद्ध प्रधानमन्त्री बन्न लागेको छु भनेको थिएँ ।

त्यसैगरी चौथो पटक विभिन्न राजनीतिक दलसँग सरसल्लाह गरेर माओवादी समस्यालाई पनि शान्तिपूर्ण समाधान गर्ने म्यान्डेटसहित ०५९ सालमा म पुनः प्रधानमन्त्री भएँ । राजाले दिएको जिम्मेवारी अनुसार माओवादीलाई वार्ताको टेबलमा ल्याउन सफल पनि भएँ । तर, दलहरू सहमत नहुन्जेल समाधान निस्किँदैन भन्नेमा म शुरुदेखि नै प्रष्ट थिएँ ।

दलका नेताहरूलाई भनें, मलाई राजाले दिएको ‘टर्म अफ रिफरेन्स’ मा दलहरु र माओवादीलाई सहमतिमा ल्याउने भन्ने छ । जुन दिन यो काम पूरा हुन्छ, त्यसपछि म राजीनामा गर्छु । त्यसपछि प्रधानमन्त्री हुने त तपाईहरु नै हो । अहिले शान्ति स्थापना गरौं, तपाईहरु पनि सरकारमा आउनुस् । सरकारमा नआउने हो भने वार्ता टोलीको अध्यक्षता लिनुहोस् । कांग्रेस र एमाले जसले लिए पनि हुन्छ ।

मैले यही भनेर केही दिन वार्ता टोली गठन पनि गरिनँ । तर, उहाँहरू आउनुभएन ।

माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रयास

मैले ज्ञानेन्द्र राजालाई पटक-पटक प्रधानमन्त्री पद दलहरुलाई नै दिउ“m भन्थें । ३/४ वटा दलबाट प्रधानमन्त्री पाए माधवकुमार नेपाललाई अगाडि सार्ने भन्ने सूचना पनि आएको थियो । मैले माधव नेपाललाई बनाउँ भनें । एमाले पनि सुधि्रइसकेको छ । प्रधानमन्त्री नै बने पनि कू गर्न सक्ने अवस्था छैन । सेना सरकार -राजा) सँगै छ । राम्रो गरेनन् भने छँदैछ । निर्वाचित भएर आएका होइनन् सजिलै हटाउन सकिबक्सन्छ भनें ।

तर जंगलमा पनि कम्युनिष्ट, सरकारमा पनि कम्युनिष्ट हुन्छ भनेर माधव नेपाललाई प्रधानमन्त्री बनाउन मानेनन् ।

माओवादी वार्तामा आए पनि शान्ति प्रक्रियामा आएनन् । त्यसमा भारतले पनि खेलेको थियो । उनीहरू हामीविना नमिलोस् भन्ने पक्षमा थिए । नेपालको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा जस लिनसके आफ्नो देशको माओवादी समस्या समाधान फाइदा पुग्थ्यो भन्ने बुझाई पनि भारतीयहरुको हुन सक्छ ।

त्यसपछि मैले राजीनामा दिएँ । चैतमा पहल गरेको, जेठमा राजीनामा स्वीकृत गरिबक्सियो । म हटेपछि माधव नेपाललाई प्रधानमन्त्री बनाइबक्सियोस् भनेको थिएँ । तर, सूर्यबहादुर थापाजीलाई प्रधानमन्त्री बनाउनुभयो । मैले छाडेर उहाँलाई ल्याउनुको अर्थ हुँदैनथ्यो । उहाँ आउनु भएको एक/दुई मिटिङपछि नै माओवादी फेरि जंगल पसे । थापाले शायद दलहरूलाई सहमतिमा ल्याउँछु भनेर कबुल गर्नुभएको थियो क्यारे । ल्याउन नसकेपछि उहाँले पनि प्रधानमन्त्री पद छोड्नुभयो ।

काम गर्न बहुदलमै सजिलो

म पञ्चायतमा दुई र बहुदलमा दुई पटक प्रधानमन्त्री बनेँ । तर, काम गर्न पञ्चायतका बेलामा भन्दा बहुदलमै सजिलो लाग्यो । पञ्चायतका बेला सबै सदस्य स्वतन्त्र हुन्थे । प्रत्येक सदस्यको एक- एक चित्त बुझाउनुपर्ने हुन्थ्यो । बहुदलमा त हि्वप लाग्ने भयो । जसले गर्दा पार्टीलाई मनाए पुग्थ्यो । तर, पञ्चायतमा कार्यकर्ताको नचाहिँदो दबाव भने आउँदैनथ्यो ।

गुण र दोष सबै व्यवस्थामा हुन्छ । पञ्चायत, बहुदल, गणतन्त्र सबै समयको परिवर्तनसँगै आएका व्यवस्था हुन् ।

रामचन्द्र भगवान हुनुहुन्थ्यो । मैले सुनको मृग सृष्टि गरेको छैन भन्ने उहाँलाई थाहा थियो । सीताजीको हरण हुनुपर्ने थियो, राम सुनको मृगको पछि दौडनुभयो । अवस्था झण्डै त्यस्तै भयो कि जस्तो पनि लाग्छ ।

तर, राजतन्त्र समाप्तिको विषयमा पनि ठूलो गल्ती भयो भन्न खोजेको होइन । फ्रान्स र रुस जस्ता देशहरूमा केही न केही मिस्टेक भएकै कारणले राजतन्त्रको अन्त्य भएको थियो ।

हाम्रो सन्दर्भमा भन्दा राजा ज्ञानेन्द्रले बहुदलका नेताहरूलाई ल तपाईहरू कसलाई भन्नुहुन्छ, अगाडि बढ्नुस् भनेको भए हुन्थ्यो जस्तो लाग्छ । माओवादी पनि आइहाल्थ्यो । सबै कुरा मिलेर जान्थ्यो ।

हुन त म कसलाई दोष दिऊँ ? तर, त्यतिबेला दरबारमा एकथरी मान्छेहरू ०४६ सालमा राजा वीरेन्द्रले त्यति अधिकार छोडेकोमा पनि असन्तुष्ट हुनेहरू पनि थिए । उनीहरूले यो भएन सरकार, वास्तविक शासक हुनुपर्‍यो भनेको पनि हुनसक्छ ।

जे भयो ठीकै छ । तर, राष्ट्रिय एकताको प्रतीकका रुपमा निर्वाचित नभएर सांस्कृतिक रुपमा राख्न सकेको भए राम्रै हुने थियो कि जस्तो लाग्छ ।

गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता

खासगरी राष्ट्रिय एकताका लागि सांस्कृतिक राजतन्त्र राम्रो हुन्छ जस्तो लाग्छ । कसैले संवैधानिक भन्लान् । कसैले के भन्लान् । तर, मलाई राष्ट्रपतिसहितको राजा राख्न सकिन्छ जस्तो लाग्छ । बेलायत, क्यानडा, अष्ट्रेलिया जस्ता देशमा महारानी नै राष्ट्रध्यक्ष हुँदा पनि केही बाधा परेको छैन ।

पहिला पनि कुनै न कुनै रुपमा समावेशी बनाउने प्रयत्न हुन्थ्यो । मेरो पहिलो मन्त्रिमण्डलमा सात/आठ जना मधेसबाटै थिए । विभेद मधेसमा भन्दा पहाडमा छ जस्तो लाग्छ ।

पालना गर्ने हो भने त समावेशिता सम्बन्धी कानून नै बनेको छ । समावेशिता आवश्यक छ । गरिबलाई समेट्ने कुरा छुटेको छ । कानूनमा भएको व्यवस्था कार्यान्वयनमा लैजानु पर्दछ ।

संघीयता सबैले मानिसकियो । त्यसमा म के भनौं र ? तर, यसको सञ्चालन गाह्रो छ । एउटै पार्टीबीच पनि संघ र प्रदेशबीच संघर्ष चलिरहेको छ । प्रदेश र स्थानीय तहलाई जिम्मेवारी बढी छ, अधिकार कम छ । कर कति बढेको छ ? यस्तो भन्दा धेरैले आलोचना गर्लान्, तर संघीयता धान्न सजिलो छैन ।

हेर्नुहोस् भिडियो

वार्ताका बेला माओवादीले संविधानसभा हाम्रो सिद्धान्त हो । हामी यहाँ आए पनि भाषण गरिराख्छौं । मेलमिलाप भयो भने चुनाव भाग लिन्छौं भनेका थिए । आन्दोलनमा पनि गणतन्त्रको नारा लागेको थिएन । धर्मनिरपेक्षताको पनि नारा लागेको थिएन । एक्कासी आयो ।

मेरो भनाइ के हो भने यस्ता मुद्दाहरूमा छलफल हुनुपर्दथ्यो । प्रस्ताव आउँदा बित्तिकै पारित गर्नुहुन्थ्यो भन्ने मेरो भनाइ हो । सबै धारा कार्यविधि छोट्याएर गरियो । कानूनीरुपमा गलत छैन । तर, बोल्न दिनुपर्दथ्यो ।

कमल थापाले पिउन नसकेको विष

अहिले राप्रपा तीन चिरामा विभाजित छ । म कुनै पनि पार्टीमा छैन । सबैलाई पार्टी अध्यक्ष चाहिएकाले यति धेरै पार्टी बनेको हो । अध्यक्ष पद त जम्मा एउटा हुन्छ नि । सबैलाई अध्यक्ष दिन पनि सकिँदैन ।

तर, पार्टी एक नहुने हो भने राप्रपाको कुनै भविश्य छैन । त्यसैले फुट्ने बित्तिकै म कतै नलागी बसेको हुँ । कतिपय साथीहरू नयाँ पार्टी बनाउने कुरा पनि गरिराख्नुभएको छ । तर, राप्रपाको चौथो टुक्रा बनाएर कुनै काम छैन ।

पार्टी एकताको प्रयास हुन्छ भने म त्यसमा सहयोग गर्छु । नत्र कुनै जाँदिन पनि । अब उमेर पनि हुन लाग्यो । ‘रिटायर्ड’ हुने मौका दिनुभयो, धन्यवाद भन्छु ।
मैले कमलजीलाई यहीँ बैठकमा पार्टीलाई एक गर्ने जिम्मा तपाईको हो भनेको थिएँ । अध्यक्ष भएपछि पार्टीलाई एकतावद्ध बनाउने जिम्मेवारी तपाईको हो भनेको थिएँ । आफू विष पिएर भए पनि पार्टीलाई अमृत पिलाउनुस् भनेको थिएँ । तर, उहाँले सक्नुभएन । यो कुरामा ध्यान दिनुभएन ।

संविधान बनेपछि पनि उहाँले यो संविधानलाई हाम्रो आलोचनात्मक समर्थन छ, केही मुद्दाका लागि लडिरहने छौं भन्नुपर्दथ्यो । त्यति भनेर सरकारमा नगइदिएको भए पार्टीका लागि धेरै राम्रो हुने थियो । पार्टी पनि फुट्दैनथ्यो होला ।

उहाँ दुईचोटि सरकारमा जानुभयो । सर्वश्रेष्ठ संविधान भन्नुभयो । मान्छेहरू त कान ठाडो पारेर बसेका छन् ।

कसैले सोधेको छ, अध्यक्ष भएर के गर्नुहुन्छ ? कुनै कार्यक्रममा बोलाउँछन् भन्ने गर्छु । पार्टी बलियो भयो भने त केन्द्रीय सदस्य भए पनि मान्यता हुन्छ । तपाईहरू विचार गर्नुहोस् भनिराखेका छन् । मिलाउनुपर्छ सबै भन्छन् । तर, पदको सवाल आएपछि सबैलाई अध्यक्ष चाहिन्छ । कहाँबाट कुरा मिल्छ ?

रोयल्टीविनै साहित्यकार

राजनीतिमा नलागेको भए म साहित्यकार हुन्थें जस्तो लाग्छ । राजनीति बाहेक रोज्नुपरेको भए साहित्य रोज्थें ।

पहिलो कविता १० वर्षको हुँदा लेखेको थिएँ । तर, प्रकाशित भने ०१८/०१९ सालपछिका कविता मात्रै भए ।

मान्छेले समाजमा केही न केही परिचय खोजिरहेको हुन्छ । त्यस्तो परिचय साहित्यले तत्काल दिँदैन । राजनीतिक चहल-पहलले तत्काल सामाजिक परिचय दिन्छ । यसमा शक्ति हुन्छ । नभए भोलि शक्ति आउला भनेर बस्छ ।

तर, दीर्घकालमा फेरि साहित्य नै हो । ४०-५० वर्षपछि कसैले सोध्यो भने प्रधानमन्त्रीको नाम भन्न सक्दैन । तर भानुभक्त, मोतीराम भट्ट सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरेको नाम फ्याट्टै भन्न सक्छन् । सयौं वर्षसम्म पनि अझै सम्झिरहन्छन् ।

सुदुरपश्चिमाञ्चलको १०० वर्षदेखि अहिलेसम्मको समाजको चित्रण गर्ने गरी एउटा उपन्यास तयार पारेको छु । एउटा कामदार केटी मुख्य पात्र छिन् । उनी बीचमा बेपत्ता पनि हुन्छिन् । माओवादी द्वन्द्वकाल, सात सालको परिवर्तन पनि उपन्यासमा आउँछ ।

मैले ०५४ मा विसर्जन कथा संग्रहका लागि मदन पुरस्कार पाएको थिएँ । अहिलेसम्म कसैले केही दिएका छैनन् । छाप्छन्, लैजान्छन् । रोयल्टी-सोयल्टी केही ल्याउँदैनन् । त्यो विसर्जन पनि एकजनाले प्रकाशनका लागि लगेका छन् । कता लिएर गए, गए ।

युवा पुस्ताको लेखन चेत धेरै राम्रो छ । हेर्दा केटाकेटीजस्तो लाग्छ । तर, उनीहरूको सिर्जनाले साँच्चै मन छुन्छ ।

नथिया आधी पढेको छु । त्यो वादी समुदायको विषयमा छ । कतिपयले वादीको विषयमा यस्तो किन लेखेको पनि भन्ने गर्छन् । तर, समाजमा भएको समस्यालाई यथार्थरुपमा देखाउनु नराम्रो होइन । वास्तविकता बाहिर ल्यायो भने न समस्याको निकास निस्कने हो ।

केही महिनाभित्रै आत्मकथा लिएर आउँदैछु ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment