Comments Add Comment

८१ वर्षे धावक : जसले दौडेरै रोगलाई जितिरहेका छन्

१९ कात्तिक, काठमाडौं । सामान्यतया ८० वर्षको उमेर काटेका वृद्धवृद्धाहरुलाई हिँडडुल गर्नै सकस हुन्छ । धेरै त अनेकथरी रोगले गाँजिएर घरभित्रै थलिन्छन् ।

तर, हङकङका चाउ वाई चुएनको कथा फरक छ । उमेरले ८१ वर्ष पुगेका उनी अहिले पनि फूर्तिसाथ दौडिन्छन् । पाएसम्म दौड प्रतियोगिताहरुमा भाग लिन्छन् । उनी कुनै पनि रोगब्याधीबाट मुक्त छन् ।

४० वर्ष भयो चाउ दौडन थालेको । अझै १० वर्ष मज्जाले दौडिन सक्छु भन्ने आत्मविश्वास छ उनको । हरेक मंगलबार, बिहीबार र शुक्रबार बेलुका ४ बजेपछि उनी मैदान पुग्छन् । मैदान पुग्नासाथ एक्कासी गुटुङटङ कुद्दैनन् । बरु वार्मअपका लागि उनी केही समय यताउती विचरण गर्छन् । १० मिनेट यसरी टहलिएपछि उनको शरीरले आफसेआफ गति समान्छ । अनि १० किलोमिटर लगातार दौडिन्छन् ।

‘दौडिरहँदा म बीचमा बिश्राम लिदिँन । जब दौडिन थालिन्छ तब गन्तव्य पूरा नहुँदासम्म दौडिरहनु पर्छ । जब हिँड्न थालिन्छ तब हारिन्छ,’ उनी भन्छन् ।

चाउले यो उमेरमा पनि कति प्रतियोगिताहरु पनि जितिरहेका छन् । उनी हरेक महिना जस्तो कुनै न कुनै प्रतिस्पर्धामा भाग लिइरहेका हुन्छन् । सम्म परेको मैदानमा मात्रै होइन, उवडखावड र उकाली ओरालीमा पनि तेज दौडन्छन् ।

यसरी दौडेर आफूले शारीरिक साथै मानसिक स्फुर्ति पनि पाइरहेको चाउको अनुभव छ । चाउले दौडन सुरु गरेको सन् १९७९ मा हो । जतिबेला उनलाई कसैले भनिदिएको थियो, ‘दौडियो भने स्वस्थ भइन्छ ।’

किशोरावस्थामा नै रोजगारी सुरु गरेका चाउले सुरुमा रेस्टुरेन्टमा काम गरे । त्यसपछि घर बनाउने ठाउँमा ज्यामी काम गरेका उनले पछि ड्राइभिङ गर्न थाले । पछि आफै मिनिबसको मालिकसम्म बने ।

काम सकेर घर आउँदा उनलाई चक्कर लागेको जस्तो हुने, घुँडा दुख्ने, स्वाँस्वाँ हुने जस्ता समस्या थिए । जीवनको आर्थिक समस्या समाधान भइरहे पनि चाउको शारीरिक समस्या बढीरहेको थियो । औषधीले पनि केही समयका लागि मात्रै आराम दिन्थ्यो । यसैले उनले हिँड्न बानी गर्न थाले । पछि दौडन थाले ।

दौडन थालेपछि उनी रोकिएनन् । दौडँदै जाँदा उनले बाटोमै थुप्रै साथीहरु बनाएका छन् ।

उनै साथीहरुको संगतमा चाउ एउटा खेल संस्थामा आबद्ध भए । उक्त संस्थाले दौडन सिकाउनुका साथै प्रतिस्पर्धा पनि गराउँथ्यो । त्यहीँबाट चाउ दौड प्रतिस्पर्धामा भाग लिन थाले ।

गएको हप्ता मात्रै चाउले हङकङमा भएको ‘हङकङ मास्टर्स एथ्लेटिक्स च्याम्पियनसिप’ मा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, ५ हजार मिटर दौड र १०० मिटर रिले दौड गरी ६ प्रतिस्पर्धामा भाग लिए ।

४२ किलोमिटरको म्याराथनमा समेत दौडेर चाउले देखाएको शाहस अनौठो नै छ । उनले ७५ वर्षको हुँदा पहिलोपटक थाइल्याण्डमा म्याराथनमा भाग लिएका थिए ।

‘थाइल्याण्ड म्याराथनमा हामी बिहान ४ बजेबाट नै दौडन थालेका थियौं, ८ बजेपछि गर्मी धेरै बढ्यो । सैनिकहरुले मलाई टाउकोमा पानी हालिदिँदै चिसो बनाइदिएका थिए । त्यसले म निकै आभारी भएँ,’ उनले सम्झिए ।

चाउको विशेषता भनेकै दृढता र अनुशासन हो । जसले उनी चाहेका हरेक दौड पूरा गर्छन् । अभ्यासको बेला पनि उनमा धैर्य र उत्साह देखिन्छ ।

‘म ३५ डिग्री सेल्सियस तामक्रम हुँदा पनि दौडिन्छु, पानी परिरहेको दिनमा पनि दौडिन्छु,’ उनले सुनाए ।

कतिसम्म भने उनले आँधी तुफान आउँदासम्म पनि आˆनो दौडको तालिका छाडेका छैनन् । ‘तुफानको खतराको संकेत आउँदा म दौडिरहेको थिएँ । उडाउला जस्तै भएपछि मैले छोरालाई लिन बोलाएँ किनकी त्यहाँ ट्याक्सिहरु केही थिएनन्,’ चाउले भने ।

चाउको अर्को अचम्मको बानी छ । उनी दौडिरहेका बेला पानी पिउँदैनन् ।

‘पानीका लागि रोकिँदा पहिलेकै अवस्थामा पुग्न फेरि समय लाग्छ र दौडन अप्ठेरो हुन्छ’ उनी भन्छन् ।

चाउ असाध्यै सकारात्मक सोच्छन् । यसैले पनि होला उनी हरेक दिन अझै फुर्तिलो बनिरहेका छन् ।

यही वर्षको सुरुमा उनले २१ किलोमिटर दौड तीन घण्टाभन्दा बढी समयमा पूरा गरे । जसले गर्दा आयोजकले उनलाई प्रमाणपत्र दिएनन् । तीन घण्टाभित्र दौड पूरा गर्नेलाई मात्रै प्रमाण पत्रको व्यवस्था थियो ।

त्यसले पनि उनलाई दुःखी बनाएन । ‘दौडमा सहभागी हुन पाएँ । दौड पूरा गर्न पाएँ । त्यसले धेरै खुसी मिल्यो’ उनी भन्छन् ।

यही वर्ष मात्र उनी १० भन्दा धेरै प्रतियोगितामा भाग लिँदै छन् । बृद्ध उमेरका अरुले पनि शारीरिक अभ्यासमा ध्यान दिउन् भन्ने लागेको उनी बताउँछन् । जीवनको अन्तिम स्वाससम्म दौडन नछाड्ने दृढता छ उनको ।

‘यदि तपाइँ मनदेखि केही गर्न चाहनुहुन्छ भने त्यसबाट हरेश खानु हुँदैन । चाहेमा सकिन्छ’ चाउ भन्छन् ।

(यो सामग्री साउथ चाइना मर्निङ पोस्टमा नोरा टोङले लेखेको लेखलाई भावानुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment