Comments Add Comment

थोरै-थोरै तर पटक-पटकः यसरी खाए न रोग लाग्छ, न भोक जाग्छ

हामी विहान उठेर नास्ता गर्छौं । स्वास्थ्यका लागि नास्ता अनिवार्य मानिन्छ । हुन त कतिपयले बिहानको नास्ता अनुपयुक्त हुने तर्क पनि गर्छन् ।

पछिल्लो समय खानपान सम्बन्धी बढेको सर्तकता र स्वास्थ्य सचेतनाले गर्दा धेरैले बिहानको नास्ता गर्छन् । नास्ताले दिनभरका लागि शरीरलाई उर्जा दिन्छ । त्यसैले बिहानको नास्ता हेभी तर स्वस्थ्यकर हुनुपर्छ भनिन्छ ।

बिहान ओछ्यान छाड्नसाथ मनतातो पानी पिउनुपर्छ । यो कुरालाई पनि धेरैले पालना गर्दै आएका छन् । मनतातो पानी पिउँदा त्यसले शरीरका भित्री अंगहरुलाई सक्रिय तुल्याउनका साथै पाचन यन्त्रलाई राम्रो गर्छ ।

दिनको सुरुवात मनतातो पानीबाट

विज्ञापनमा ‘हरेक दिनको सुरुवात चियासँग’ भनिएपनि अहिले धेरैले मनतातो पानीबाट दैनिकी सुरु गर्छन् । चिया भनेको दुध, चिनी मिश्रति चियालाई बुझिन्छ, जो स्वास्थ्यका लागि घातक हुन्छ । जबकी ग्रीन टि वा अग्र्यानिक अर्थोडक्स चिया भने लाभदायक मानिन्छ ।

मनतातो पानी, ग्रीन टि वा कागती पानी पिइसकेपछि धेरैले दिनको आरम्भ गर्छन् । त्यसपछि पालो आउँछ नास्ताको । कतिपयले नास्ताको ठाउँमा भात खान्छन् । भात भनेको हाम्रो परम्परामा दाल, भात, तरकारी, अचार आदि हो ।

अब बिहानको खाना खाइसकेपछि कतिले मध्यन्ह खाजा खान्छन् । त्यसबीचमा चिया पिउँछन् । बिहानको खाना, मध्यन्हको नास्तापछि पालो आउँछ रातको खानाको । अक्सर हामीकहाँ रातको खाना सात, आठ वा नौ बजेको समयमा गरिन्छ । रातको खाना पनि बिहानकै जस्तै दाल, भात, तरकारी हुन्छ ।

हाम्रो खानपान शैलीः रोगको थैली

यो तालिकालाई मूल्यांकन गर्ने हो भने के हाम्रो खानपान शैली स्वस्थ्यकर छ ? अर्थात हामीले जसरी, जुन समयमा, जति खाना खान्छौं, त्यो शरीरका लागि आवश्यक छ ? अपुग छ वा बढी भयो ?

वास्तवमा हाम्रो खानपान शैली त्यती स्वस्थ्यकर छैन । त्यही कारण धेरैजसो नेपाली खानपानकै कारण रोगी बनेका छन् । यसको पहिलो उदाहरण त ग्याष्ट्रिक हो । यसलाई नेपालीको साझा रोग पनि भनिन्छ ।

ग्याष्ट्रिक मुलत खराब खानपानकै कारण हुने गर्छ । ग्याष्ट्रिकले पाचन यन्त्रलाई बाधा पुर्‍याउँछ । यो क्रमस अल्सर हुँदै क्यान्सरसम्म पुग्न सक्छ । त्यसैले ग्याष्ट्रिक सामान्य समस्या होइन । यसको समयमै निदान खोज्नुपर्छ । अतः यसको प्रभावकारी निदान भनेको औषधी भन्दा पनि सन्तुलित र सही खानपान नै हो ।

हाम्रो खानपान शैलीले निम्त्याएको अर्को समस्या हो, मोटोपन । धेरैजना अहिले मोटोपनको शिकार भएका छन् । नेता, मन्त्री, व्यवसायी, उद्यमी, पेशाकर्मी सबैजसोको पेट पुट्ट निस्किएको देखिन्छ । यस्तो पेट आफैमा रोगको घर हो । शरीरमा अतिरिक्त जमेको बोसोले पेट निस्कन्छ, जो अनेक रोगको कारण बन्न सक्छ ।

हामी मधुमेह र उच्च रक्तचापबाट पनि ग्रसित छौं । दुबै रोग खराब खानपान र जीवनशैलीले निम्त्याउने हुन् । मधुमेह र उच्च रक्तचापबाट बच्नका लागि मात्र होइन, यसको नियन्त्रणका लागि पनि खानपानमै सतर्कता अपनाउनुपर्छ ।

यी बाहेक थुप्रै किसिमका रोगहरु हामीलाई खराब खानपान र खानपान शैलीकै कारण लाग्ने गर्छ । त्यसैले रोगमुक्त भएर स्वस्थ्य जीवन बाँच्नका लागि खानपानको खास शैली जान्नुपर्छ । यसको लागि धेरै कुरा जान्न पर्दैन । केवल खाने तालिका र खानेकुराबारे आधारभूत जानकारी भए हुन्छ ।

थोरै थोरै, पटक पटक

स्वस्थ्य शरीरका लागि दिनमा चार, पाँच पटकसम्म खानु राम्रो मानिन्छ । अर्थात एकै पटक धेरै होइन । बरु, पटक पटक थोरै थोरै खानुपर्छ । अझ प्रभावकारी ढंगमा बुझ्नुपर्दा बिहानको खाना धेरै र त्यसपछिको खाना क्रमस घटाउँदै लानुपर्छ । राती सुत्नुअघिको खाना सुपाच्य र थोरै हुनुपर्छ । खाना खानसाथ सुत्नु राम्रो होइन ।

खानेकुरा स्वस्थ्यकर हुनुपर्छ । सागपात, सलाद, फलफूल, जुस, सुपको मात्रा धेरै हुनुपर्छ । खाना सन्तुलित र सुपाच्य हुनुपर्छ । सन्तुलित खाना भनेको हाम्रो शरीरलाई आवश्यक पोषक तत्वको आधारमा निर्धारण गरिएको खानेकुरा हुन् ।

एउटा खानेकुरामा जुन पोषक तत्व पाइन्छ, अर्कोमा त्यो नपाइन सक्छ । त्यसैले सबै किसिमको पोषक तत्व ग्रहण गर्नका लागि थरीथरीको खानेकुरा खानुपर्छ ।

कुनैपनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिदैन । यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नुपर्छ ।

कुन खानेकुरा कति खाने भन्नेले मात्र पनि पुग्दैन । त्यो कति बेला खाने भन्ने पनि जान्नुपर्छ । दिनमा कति पटक खानेकुरा खाने भन्ने तालिकाले हाम्रो स्वास्थ्यलाई सही ढंगले पोषण आपूर्तिमा सघाउ पुर्‍याउँछ । यो भनेको भोजन व्यवस्थापन पनि हो । किनभने एकै पटक धेरै खानेकुरा सेवन गर्दा पाचन पक्रियालाई असर गर्छ । त्यसैले समय तालिका अनुसार खानेकुरा खानु राम्रो हो ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।

यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

किन एकै पटक धेरै खान्छौं ?

हामी किन एकै पटक धेरै खान्छौं ? किनभने हाम्रो खाने तालिका नियमित छैन । जब भोक लाग्छ, हामी मन थाम्न सक्दैनौं । मन अघाउनेगरी खान्छौं । मन त अघाउँछ, पेटले भने बोझ लिनुपर्छ ।

निश्चित तालिका मिलाएर ठिक समयमा खानेकुरा खादा पेट खाली हुँदैन । भोक अनुभव हुँदैन । फलत जथभाभावी खानबाट बचिन्छ ।

तौल घटाउन

डाइबिटिजमा रोगीहरुले दिनमा ३ पटक मात्र नभएर ५-६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ । यसबाट शरीरको क्यालोरी बर्न हुन्छ र रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

यदि तपाईं आफ्नो वजन क मगर्न चाहनुहुन्छ भने पनि दैनिक पटक-पटक खानेकुरा खानु आवश्यक छ ताकि तपाईंको मेटाबोलिज्म स्थिर रहोस र क्यालोरी बर्न भइरहोस ।

यदि क्यालोरी एब्जर्व हुनुका साथसाथै बर्न पनि भइरह्यो भने यो जम्न पाउँदैन र तौल नियन्त्रणमा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment