Comments Add Comment

वीपीले सुम्निमा उपन्यासमा के भन्न खोजेका छन् ?

वीपीको सिर्जनामध्ये सुम्निमा उपन्यासको नाम अग्रपंक्तिमा आउँछ । यसलाई यौनमनोवैज्ञानिक उपन्यासका रूपमा व्याख्या र विश्लेषण गरेर प्रशस्त अध्ययन भएका छन् । अर्थात् अध्यात्मवाद र भौतिकवादको परिधिमा भएको यसको चर्चा चुलीमा पुगिसकेको अवस्था अहिले विद्यमान छ ।

यस रचनाको आख्यानको मूल धारमा यौनमनोविज्ञान रहेता पनि यसभित्र आन्तरिक धारमा सांस्कृतिक समन्वयवादी चिन्तन बगेको देखिन्छ । विदेशी भाषामा समेत अनुवाद भएको वीपीको निकै चर्चित उपन्यास सुम्निमाको केन्द्रमा रहेर उनका सर्जक व्यक्तित्वले नेपाली समाजको अवस्था र त्यसको रुपान्तरणका बारेमा संकेत गरेका घटकहरू प्रशस्त मात्रामा रहेका छन् ।

राजनीति र साहित्यलाई अलग–अलग क्षेत्र मान्दै राजनीतिको वृत्त सामाजिक र साहित्यको वृत्त व्यक्तिगत रहने कुरामा विश्वास गर्नु वीपीको धर्म हो । तर, कृति सार्वजनिक भइसकेपछि पाठकको हातहातमा परेपछिको अवस्थामा पाठकको ग्रहणशील क्षमताले टिपेको र तिनलाई व्याख्या गरेको अर्थ सामाजिक बन्न पुगेको देखिन्छ ।

जहिले पनि यौनमनोवैज्ञानिक उपन्यास भनेर विश्लेषण गरिने रचना सुम्निमाले प्रवाह गरेको सम्प्रेषणीयतामा आजका पाठकले नेपाली समाजको दह्रो उपस्थिति भेटेको छ ।

कुनै कालखण्डमा अश्लील उपन्यास भनेर सुम्निमाको तीव्र आलोचना नभएको पनि होइन र यसलाई सिध्याउनका लागि यसका केही प्रतिहरू नजलाइएको पनि होइन । सुम्निमाको कला सौन्दर्यले स्थापित गरिदिएको साहित्यिक मूल्यले गर्दा यसको कथ्यको विषय नांगो जस्तो लागे पनि प्रस्तुति नांगो भएको छैन ।

मान्छे केवल मासुको थुप्रो मात्र नभएर उसको अस्तित्व त्योभन्दा बढी मानसिक घातप्रतिघातमा जगमगाइरहेको हुन्छ । यसले गर्दा उसको अन्तर्मनका आवेग र संवेगहरूले उसका बाह्य क्रियाकलाप प्रभावित भइरहेको हुन्छ । यसैले एउटा मान्छेको सिँगो चित्रण गर्न उनको सामाजिक र आर्थिक परिवेश मात्र पर्याप्त हुँदैनन् भन्ने कुरामा वीपी विश्वस्त छन् ।

साथै उनी आख्यानमा चरित्रको मानसिक द्वन्द्व र अन्तर्द्वन्द्व आवेग संवेग घातप्रतिघातको पनि विश्लेषण गरिनुपर्छ भन्ने कुरा मान्दछन् । यही धारमा उभिएर उनले टिपेका चरित्रको विश्लेषण गर्दा सोमदत्तले सोचेको अध्यात्मवादी चिन्तन र सुम्निमाले सोचेको भौतिकवादी चिन्तन भित्र ती चरित्रहरूको सामाजिक परिवेश र पृष्ठभूमि जीवन्त रूपमा उभिएको देखिन्छ ।

वीपी भन्छन्– जीवन सुरुदेखि आजसम्म एउटै छ । तर, जीवनयापनको विधि र गति बदलिएको छ र बदलिरहन्छ । यो बदलिने प्रवृत्तिले नै साहित्यमा नयाँ–नयाँ प्रयोगको आवश्यकता ल्याउँछ ।

हुन पनि समयको विभिन्न अन्तरालमा साहित्यले एकपटक स्थापित गरेको चिन्तनमा पाठकको जीवनयापनको विधि र बदलिएको गतिले त्यही रचनाबाट भिन्न अर्थ प्राप्त गर्न सक्छ । पटक–पटकको पुनर्पठनले सिर्जनाको अर्थलाई फरकफरक किसिमले व्यापकता प्रदान गरेको हुन्छ । सर्जकको प्रस्ततिको कलात्मक सौन्दर्यले यो सम्भावना प्रवाह गरेको हुन्छ । कृतिको यही सम्भावना नै यसलाई सार्वजनीनता प्रदान गर्दै सफल बनाउने कारक तत्व हो ।

उतिबेलै पुराणलाई परम्परागत अवधारणाबाट नहेर्ने गरेका स्रष्टा वीपीले जहिले पनि महाभारतको कथ्य र यसको प्रभावमाथि प्रश्नचिन्ह उठाएका छन् । अर्को शब्दमा भन्नु पर्दा पुराण महाभारतले छुटाएका जनताका बारेमा उनले चासो देखाएका छन् ।

समय सन्दर्भमा पाठकको आ–आफ्नै परिवेशअनुसार अभिव्यक्त हुन सक्ने यस्तो शिल्प र सौन्दर्यले विदेशी भाषामा अनुवादित भएको सुम्निमाको विशेष महत्व देखिन्छ । किनभने यौन मनोवैज्ञानिक मात्र भनिएको र अध्ययन विश्लेषण गरिएको सुम्निमा उपन्यासको अर्को आयाममा सांस्कृतिक समन्वयवादी चिन्तन प्रवाहले बलियो स्थान ओगटेको देखिन्छ ।

यस अर्थमा वीपीको चिन्तन बुझ्न उनको एउटै उपन्यास राम्रोसँग पढे पुग्छ । यसैलाई उनको सांस्कृतिक चिन्तनको बिज माने हुन्छ । किनभने यो उपन्यासको पृष्ठभूमि खण्डमा नै सांस्कृतिक समन्वय स्थापनाको संकेत प्रवाह गरेका छन् ।

उतिबेलै पुराणलाई परम्परागत अवधारणाबाट नहेर्ने गरेका स्रष्टा वीपीले जहिले पनि महाभारतको कथ्य र यसको प्रभावमाथि प्रश्नचिन्ह उठाएका छन् । अर्को शब्दमा भन्नु पर्दा पुराण महाभारतले छुटाएका जनताका बारेमा उनले चासो देखाएका छन् ।

किनभने, ती वर्णनमा आउन छुटेका जनता पनि त्यही स्थान र परिवेशका थिए । तर, ती छुटेका जनताका बारेमा उनको सिर्जनात्मकताले आकार दिएको छ । यसलाई गहिरिएर हेर्ने हो भने कुनै पनि राजनेताको दृष्टिबाट कोही पनि जनता छुट्नुहुँदैन भन्ने अन्तःप्रेरणा यहाँ स्पष्ट देखिन्छ । पटकपटकको पुनर्पठनबाट अभिव्यक्तिभित्र लुकेका सत्य उद्घाटित हुन पुग्दछ । यसको केही संकेत सुम्निमामा भेटिन्छ भने यसको बृहत्तर आख्यानात्मक प्रयोग मोदिआइन उपन्यासमा भएको छ ।

सुम्निमा उपन्यासको यस पृष्ठभूमि खण्डमा पौराणिक आभास प्रदान गर्नका लागि पूर्वी नेपालको चतरा भूमिको बराह क्षेत्रको वर्णन गर्दै कथ्यलाई प्रवेश गराइएको छ ।

लेखकले दुई विपरीत समाजबाट टिपेको पात्रलाई चारित्रिक विकास भएको छ । यी दुई पात्रले नेपाली समाजको दुई नितान्त बेग्लाबेग्लै महत्वपूर्ण समाजिक जीवन कथाको उद्घाटन हुन पुगेको छ । ती दुई चरित्रका जीवनप्रतिको दृष्टिकोण, खानपान, रहनसहन आदि नितान्त विपरीत अवस्थामा देखिन्छन् ।

वीपीका पात्रहरुले यहाँ समाजसँग भन्दा पनि संस्कारसँग लडाईं लडेका छन् । यही खण्डमा राजकुमारको उर्दी हुँदाहुँदै पनि सांस्कृतिक समन्वयको व्यवहार जनताको तहबाट हुन गएको देखिन्छ । आफूमाथि राजाबाट सांस्कृतिक हस्तक्षेप भएको महसुस गर्ने भिल्लको यसको विरोधमा लडाइँ लड्नुपर्छ भन्ने प्रस्तावलाई अस्वीकार गर्दै अनार्य समूदायको सांस्कृतिक व्यवहारलाई सुरक्षित हुने परिवेशको पक्षमा सुम्निमाका बुवा वा गाउँका बिजुवा (धामी) दृढतापूर्वक अगाडि सरेका छन् (पृ.९–१२) ।

यहाँनिर लेखकले नेपाली समाजको सौन्दर्य भनेको यहाँको सांस्कृतिक सौहार्दता हो भन्ने कुरा बिजुवामार्फत् स्थापित गरेका छन् । कोशी किनार अनि त्यहीँ वरपरको परिवेशमा हिँडिरहका यी दुई जनाको वैचारिक द्वन्द्व सुरुसुरुको भेटघाटबाट नै सिर्जना भएको देखिन्छ । यसबाट उपन्यास विचारप्रधान बन्न पुगेको छ ।

उपन्यासको तेस्रो संरचनामा उपसंहार भनिएको छ, जहाँ बडो चखिलो किसिमले सांस्कृतिक समन्वयवादको स्थापना हुन पुगेको छ । सुम्निमाभन्दा पनि सोमदत्तको ढिपीले उनीहरूको राम्रो जोडी बैवाहिक जीवनमा बाँधिनबाट बञ्चित हुन पुगेको छ । तथापि जीवन भोग्ने क्रममा अरूसँगै विबाह गरेर दुवैजना एक एक सन्तानका आमा र बुवा बनेका छन् । उपन्यासको कथ्यले यही नयाँ पूर्खा सुम्निमाकी छोरी र सोमदत्तको छोरोलाई प्रवेश गराएको छ ।

यो सामाजिक र सांस्कृतिक सौहार्दता अनि समझदारीको महत्वपूर्ण कार्यव्यवहार हो । यसपछिका घटनाक्रममा पनि सुम्निमाले कहीँ कतै सोमदत्तलाई सांस्कृतिक हस्तक्षेप गरेको देखिँदैन । उनले आर्यको संस्कृतिलाई सम्मान गर्दै सोमदत्तको छोरोलाई मासु खुवाएकी छैनन् ।

आमाबाबुको उचित संरक्षण र शिक्षा नपाएका त्यो बालकलाई आफूसरह मासु खुवाएर सांस्कृतिक अतिक्रमण गर्न सकिने प्रतिकूल अवस्था हुँदाहुँदै पनि उनले छोरीलाई बेग्लै पातमा पोलेको मासु राखिदिएर अनि सोमदत्तको छोरोलाई बेग्लै खानेकुरा पठाइदिने गरेकी छिन् । साथै छोरीलाई सोमदत्तको छोरो ब्राह्मण भएकाले उनीहरूको संस्कारका बारेमा जानकारी पनि दिएकी छिन् । यो सांस्कृतिक समन्वयवादको अर्को बलियो उदाहरण हो ।

बिरामी सोमदत्तलाई भेट्न गएकी सुम्निमा, आफ्नै अगाडि सोमदत्तको मृत्यु भएपछि केही बिचलित भइन् । दुई थोपा आँसु उनका लागि खसे पनि । उनको पनि दाहसंस्कार गर्न यहाँ सहृदयपूर्वक सुम्निमाले जिम्मेवारी निभाएकी छिन् ।

सुम्निमाको छोरोले सोमदत्तको धोती, लंगौटी, कमण्डलु, मूजको डोरी, पिरा, कुशासनलाई बाबुको चिनोको रूपमा राख्छ कि भनेर ख्याल पनि गरेकी छिन् (पृ.८९) । यस कार्यबाट उनले आर्य संस्कृतिलाई सम्मान गरेको देखिन्छ, जसले उनीभित्रको सांस्कृतिक समन्वयवादी चेतना उजागर भएको कुरालाई प्रमाणित गर्दछ ।

नेपालमा आफूलाई आदिवासी भन्नेहरूको प्रतिनिधित्व सुम्निमाले गरेको छ । सुम्निमा खाली किरातीको मात्र होइन, सम्पूर्ण अनार्यको प्रतिनिधि पात्र हो । यहीँनिर मानिसलाई नयाँ दृष्टिकोणबाट हेर्न खोज्ने, जसले गर्दा एउटा व्यक्तिका असीमित अनेक आयामलाई अध्ययन गर्ने र नयाँ संवेदना मानिसकाप्रति जगाउन सक्ने कला वास्तविक कला हो भन्ने वी.पी.को धारणाले मूर्तता पाएको छ ।

यस्तै उनी कला मर्यादित हुँदैन, आफ्नो मर्यादा यसले आफै सिर्जना गर्दछ । कुनै प्रभावले जानेकै वस्तु पनि नयाँ लाग्न सक्दछ । यस सार्वभौम सहारामा सार्वभौम संवेदनशीलतालाई ग्रहण गर्दै मान्छेका विभिन्न पक्षलाई उद्भाषित गर्नु कलाको उद्धेश्य हो भन्ने वीपीको अवधारणा पनि सुम्निमामा चरितार्थ हुन पुगेको देखिन्छ ।

उपन्यासको अन्तमा कथ्यले पुखौँपूर्खामा हस्तान्तरिक भएको सामाजिक व्यवहारलाई संकेत गरेको देखिएको छ । आफ्ना अग्रजका बारेमा एउटा पुर्खाले अर्को पुर्खालाई बताउने प्रक्रम जारी रहेको आभास यहाँ पाइन्छ । त्यही सन्दर्भमा कालान्तरमा किंवदन्तीमा मात्र बाँकी रहेका त्यो प्राचीन सत्यलाई वीपीले यसरी अभिव्यक्त गरेका छन् : … त्यहाँ कुनै कालमा आश्रम थियो भन्ने चिन्हसम्म पनि रहेन । भिल्लहरू शिकारका लागि त्यता आउँदा कहिलेकाहीँ कुनै एउटा ढुंगालाई देखाएर भन्ने गर्थे,–प्राचीनकालको एउटा आश्रमको अवशेष हो यो, जो किरातीहरूमा जनश्रुति मात्र बाँकी रह्यो कि उनीहरूको जातिको एउटा शाखा, पछि रावा खोलातर्फ लाग्यो, को एउटा पुर्खा आश्रमवासी बाहुन थियो रे । (पूर्ववत्)

प्रकृतिलाई कोतरेर बनाएको आश्रमलाई प्रकृतिले सोहोरेर आफ्नो बनाइसकेको अवस्थामा पछिल्ला पुस्ताका सबैले त्यो भग्नावशेष देखेका थिए, बुझेका थिए र यसबारेका एउटा पूर्खाले अर्को पुर्खालाई बुझाउँदै आएका थिए । यहीँनेर वीपीले अझै आफ्नो विचार यसरी अभिव्यक्त गर्दछन् : …किरातीहरूको जातीय रक्तधारामा एउटा ब्राह्मणले आफ्नो रक्त पनि मिसाएको थियो । (पूर्ववत्)

उपन्यासकारले प्रवाह गरेको विचार हो, हामी नेपाली एक अर्कामा सांस्कृतिकरूपमा अनुबन्धित छाँै । साँच्ची नै हो हाम्रो पूर्खाको रगत एक अर्कोमा मिसिएको छ । हामी एक अर्काका सम्बधी हौँ, नातेदार हाँै भन्ने यथार्थ यस उपन्यासबाट स्थापित भएको छ ।

यो पनि पढ्नुहोस कांग्रेसले बुझ्नुपर्ने वीपीको सांस्कृतिक चिन्तन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment