Comments Add Comment

चिया बेचेर कहिलेसम्म बचाउलिन् सीताले मिर्गौलारोगी श्रीमान् ?

१ माघ, काठमाडौं । भक्तपुर, मनोहरा किनार । बिहान ७ बजे । न धुम्मिएको, न खुलेको । कटमेरो मौसम ।

कटेरोमा बस्ने र नजिकै फोहोरको डंगुरमा प्लाष्टिक खोज्नेहरुलाई तात्तातो चिया, डुनोट, चुरोट बेचिरहेकी थिइन्, सीता तामाङ । दुईवटा थर्मस बोकेर चिया बेच्न एकाबिहानै निस्किएकी श्रीमती खोज्दै सुब्बा गोले टुप्लुक्कै त्यहाँ आइपुगे ।

२८ बर्षीय सुब्बा गोलेको अनुहार पुरै धुम्मिएको छ । माक्स र टोपीको बीचबाट चिहाइरहेका उनका पहेंला आँखा टिलपिल रसाएका छन् । पछिल्तिर झोला भिरेका छन् । हातमा पञ्जा । बाक्लो लुगाले ज्यानलाई जतिसक्दो न्यानो बनाउने यत्नमा छन् । तर, ज्यान तंग्रिएको छैन ।

टहरा अघिल्तिर बालिएको प्लाष्टिकको आगो ताप्न टुक्रुक्क बसे उनी । श्रीमानको मनोदशा बुझेर हुनुपर्छ, बेच्दाबेच्दैको चिया यत्तिकै थन्काएर सीता पनि त्यही थचक्क बसिन् । तर, उनीहरुबीच संवाद भएन । दुबै मौन ।

बाहिर प्रकट नभए पनि उनीहरुको मनभित्र कति कोलाहल मच्चिएको छ भन्ने उनीहरुलाई नै थाहा छ ।

नसोध कहाँ दुख्छ घाउ ?

बिहान दुबै सँगसँगै मनोहरा सुकुम्बासी बस्तीको डेराबाट निस्किएका थिए । श्रीमान पाटन अस्पतालतर्फ लागे । श्रीमती चिया बेच्न थालिन् ।

निस्कने बेला श्रीमतीले सोचेकी थिइन्, श्रीमानले आफ्ना लागि रगत जोहो गर्नेछन् । श्रीमानले सोचेका थिए, श्रीमतीले दुई/चार रुपैयाँ कमाउलिन् । तर, त्यसो भइदिएन ।

रित्तो हात फर्किए श्रीमान । आजै चढाउनुपर्ने एक पिन्ट रगत उनले कतै पाएनन् । पाटन अस्पताल पुगेर पनि । ब्लड बैंकमा खोजे, त्यहाँ पनि भेटेनन् । भक्तपुर अस्पतालमा छ कि ? अहँ, पाइएन ।

न उनी खुलेर मनको बह पोख्न सक्छन्, न रोगका अगाडि घुँडा टेक्न । कति कुटिल, कति निष्ठुर परिस्थिति !

गोलेका दुबै मिर्गौंलाले काम गर्दैनन् । एकछिन हिँडडुल गर्न सक्दैनन् । हात-खुट्टा सुनिन्छन् । रगत निथ्रिएर अनुहार कालो भइसकेको छ । आँखा भासिएको छ । यस्तो लाग्छ- यो शरीर कुनै शरीर नभएर रोगको घर हो । पीडाको थुप्रो हो ।

‘महिनैपिच्छे चारपोका रगत चढाउनुपर्छ । कहाँ जान्छ त्यत्रो रगत ?’ यसो भन्दै सीता आफ्ना श्रीमानको शरीर नियाल्छिन् ।

महिनापिच्छे डायलासिस गराउनु, रगत चढाउनु, अस्पताल धाउनु, औषधी ख्वाउनु । जीवन यसैगरी बित्दैछ । डायलासिसका लागि पैसा तिर्नुपर्दैन । तर, रगतका लागि हप्तैपिच्छे पैसा चाहिन्छ । एक पटकको पाँच सय रुपैयाँ । खोजेका बेला रगत पनि पाइँदैन । औषधीका लागि थप तीन हजार रुपैयाँ । भरपेट खानै मुस्किल छ, त्यसमाथि औषधी-उपचारले ऋणै-ऋणको कुम्लो बोकाइदिएको छ ।

‘अब त माग्ने ठाउँ छैन,’ सीताले सुनाइन्, ‘आजै १० हजार तिर्नुपर्नेछ, अस्ति भर्खर सापटी लिएको । उसले पनि सुँगुर बेचेर दिएको पैसा, खै कहाँ खोजेर फर्काउने ?’

बाध्यता कतिसम्म छ भने रोगले थिलथिलो ज्यान लिएर सार्वजनिक बसमा चढेर अस्पताल आउजाउ गर्नुपर्छ । रगत आफैं जोहो गर्नुपर्छ । खर्चपानी आफैं जुटाउनुपर्छ । दुःख भनिसाध्य छैन ।

९ वर्षकी छोरीलाई गाउँमा राखेका छन् । छोरीसँग नभेटेकै महिनौं भयो । यता बुढाबुढी सुकुम्बासी बस्तीमा आश्रय लिएका छन्, मासिक दुई हजार तिर्ने सर्तमा । घरबेटी आमै मनकारी छिन् ।

पहिले घरबेटी आमै चिया बेच्थिन् । अहिले आफ्नो इलम उनै सीतालाई सुम्पेकी छन् । ‘यहाँ बसेर के गर्छौ, दुःख पाएकी छौ । चिया बेचेर यसो दुई/चार पैसा जोहो गर्नु’ भन्दै उनलाई दुईवटा थर्मस, प्लास्टिकको ढाकीसमेत घरबेटीले दिएकी छिन् ।

त्यही थर्मसमा सीता चिया बनाउँछिन् । बिहान-बेलुकी सुकुम्बासी बस्तीमा घुमाउँछिन् । कहिले बिक्री हुन्छ, कहिले रित्तो हात । ‘चिया बेचेर बुढोलाई कहिलेसम्म बचाउन सक्छु थाहा छैन,’ उनी भन्छिन् ।

चियासँगै उनी दिनहुँ एक प्याकेट डुनोट र एक प्याकेट चुरोट बेच्छिन् ।

सोचेजस्तो हुन्न जीवन

स्थायी घर रसुवा । गाउँमै अर्म पर्म गरेर बसे हुन्थ्यो । खेतालापात गरेर पनि गुजारा चल्थ्यो । तर, सोचेजस्तो कहाँ हुन्छ जीवन ?

श्रीमती र छोरीलाई छाडेर सुब्बा गोले मलेसिया पुगे । डेढ लाख ऋण काढेर । त्यहाँ दुई बर्ष बसे । मलेसियामा चुहाएको पसिना डेढ लाखको साँवा ब्याज तिर्दैमा सकियो । आउनु र जानु मात्र भयो । दुई बर्ष खेर गयो । फकर्ंदा छोरी र श्रीमतीका लागिसमेत केही ल्याउन सकेनन्, रोग सिवाय ।

घर फर्किएलगत्तै रोगले थलिए । मिर्गौंला खराब भइसकेको रहेछ । स्थानीय अस्पतालले भन्यो, जतिसक्दो चाँडो काठमाडौंको सुमेरु अस्पतालमा पुर्‍याउनु । श्रीमानलाई काठमाडौं लिएर आए । मनोहरा नजिकै सुकुम्बासी बस्तीमा डेरा लिए ।

सुमेरुमा उपचार गर्न सकिएन । पाटन अस्पताल पुर्‍याइयो । त्यहाँबाट पनि उही रिपोर्ट आयो- ‘दुबै मिर्गौला काम नलाग्ने भइसकेका छन् ।’

अब के गर्ने ?

‘मिर्गौला दिएर जाति हुन्छ भन्ने सुनें,’ सीता भन्छिन्, ‘मेरो मिर्गौंला दिन्छु भनेकी थिएँ, तर मिलेन । अरु आमाबुबा कसैले दिन तयार भएनन् । दाजुहरु छन्, अहिलेसम्म भेट्न पनि आएका छैनन् ।’

एकजना दिदी भने बेलाबखत आएर हेर्छिन् । उनी पनि राम्ररी आँखा देख्दिनन् । ‘आफन्तले फोनसमेत गर्न छाडे,’ सीता भन्छिन्, ‘हामी दुई बुढाबुढी मात्रै छौं । हामीसँग कोही छैन, केही छैन ।’

उनले भोगेका छन्, आपत-विपतमा आफन्तले भन्दा पराईले सहयोग गर्छन् ।

केही समयअघि श्रीमान् डायलासिस गर्न पाटन अस्पताल जानुपर्ने थियो । तर, घरबाट निस्केपछि हिँड्न सकेनन् । नजिकै पुगेर सार्वजनिक यातायात चढ्ने ताकत भएन । दुई-चार पाइला हिँड्नासाथ थचक्कै बसे ।

न बुढालाई अस्पताल पुर्‍याउने पैसा छ, न त्यहीँ छाड्ने मन छ ।

नजिकै एक ट्याक्सी थियो । चालकले आफैं बोलाएर ट्याक्सीमा चढाए । भने, ‘जति दिन सक्नुहुन्छ, दिनुहोस् ।’ मनकारी चालकले पाटन अस्पतालसम्म पुर्‍याइदिए ।

तर, सधैं कहाँ मनकारी मान्छे भेटिन्छ ?

सार्वजनिक बस चढेर अस्पताल जाँदा बस्ने सिटसमेत छाड्दैनन् । भिडमा कोचिएर, उभिएर जानुपर्दा बिरामी मान्छेलाई कस्तो सकस हुँदो हो ।

यो शहर पनि कम्ता कठोर छैन । ऋणपान गरेर रगत किन्न खोज्दा पनि पाइँदैन । कहिले डायलासिसको पालो पाइँदैन । कहिलेसम्म यस्तो पीडा झेलिरहनुपर्ने हो ? अनिश्चित छ ।
सुब्बा घले भन्छन्, ‘जहिलेसम्म बाँचिन्छ, डायलासिस त गरिरहनुपर्छ ।’ जीवन बाँच्न होइन, कटाउनै मुस्किल छ ।

सरकारले मृगौला रोगीको निशुल्क डायलासिस गराइदिने घोषणा त गरेको छ । तर, सुब्बा गोलेलाई हप्तैपिच्छे रगतको इन्तिजाम गर्न अनि पाटन अस्पताल धाउन धौधौ पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment