Comments Add Comment

जिल्ला न्यायाधीशमाथि निलम्बन र स्पष्टीकरण, एनसेलको सुनुवाइ बृहत पूर्ण इजलासमा

१७ माघ, काठमाडौं । न्यायपालिका शुद्धीकरणका लागि आक्रामक अभियान थालेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले दुईजना जिल्ला न्यायाधीशलाई निलम्बन गरेका छन् । न्याय परिषदमार्फत थालिएको यो अभियानका क्रममा अन्य दुई जिल्ला न्यायाधीशलाई एक हप्ते स्पष्टीकरण सोधिएको छ ।

न्याय सम्पादनमा बदनियत देखिएपछि पुस २६ गते न्यायपरिषदमा तानिएका ललितपुर जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय निलम्बनमा परेका हुन् । त्यस्तै माघ पहिलो साता तानिएका तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेको न्यायपरिषद स्रोतले जनाएको छ ।

न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अवैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा समेत उजुरी परेको थियो ।

न्यायपरिषद सचिवालयले जिल्ला न्यायाधीशहरुमध्ये पहिलो बरियतामा रहेका सर्लाहीका राजेश काफ्ले र भक्तपुरका मोहम्मद जुनैद आजादलाई स्पष्टिकरण सोधेको छ । न्याय सम्पादनका क्रममा बद्नियत गरेको र न्यायिक बिचलन देखिएको भन्दै दुई जिल्ला न्यायाधीशलाई कारवाही किन नगर्ने भनेर एक साताभित्र लिखत स्पष्टीकरण मागेको छ ।

यसअघि न्यायपरिषदले ३८ किलो सुनकाण्डका अभियुक्तहरुलाई न्युन धरौटीमा छाड्ने उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ जना न्यायाधीशलाई कारवाहीस्वरुप परिषदमा तानिएको थियो । उनीहरुमाथि पनि छानविन भइरहेको र दोषी देखिए निलम्बन गरिने प्रधान न्यायाधीश निकट स्रोतले जनाएको छ ।

प्रधान न्यायाधीशको कार्यभार सम्हाले लगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा, टीका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । सो संयन्त्रबाट आवश्यक अनुगमन, निगरानी गर्ने, प्रतिवेदन लिने र आवश्यक प्रक्रिया अबलम्बन गर्ने राणाले बताएका थिए ।

निगरानी संयन्त्रले बिभिन्न न्यायाधीशहरुका उपर आएका गुनासा र उजुरीहरुको छानविन गर्ने क्रममा स्थलगत अनुगमन समेत गरेको स्रोतले जनाएको छ । संयन्त्रले सुक्ष्म अनुगमन, निगरानी र गुनासाहरुको सुनुवाइ गरेको थियो

यसैबीच न्यायपरिषदले न्याय सेवाका बरिष्ठतम उपसचिव कृष्णप्रसाद नेपाललाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ । बरिष्ठताका आधारमा उनलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको स्रोतले जनाएको छ ।

एनसेलको मुद्दा वृहत पूर्ण इजलासमा

यसैबीच एनसेलको कर छलीसम्बन्धी मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणासहितको वृहत पूर्ण इजलासमा विहीबार हुँदैछ । यसअघि पटक–पटक स्थगित र हेर्दाहेर्दैमा राखिएको मुद्दालाई राणा प्रधान न्यायाधीश भएलगत्तै नियमित इजलासमा सारेका थिए ।

एनसेलको मुद्दा राणासहित मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहत पूर्णइजलासमा राखिएको हो । यसअघि हेर्दाहेर्दैमा राखेर फैसला हुन लाग्दा न्यायाधीश विश्वम्भर श्रेष्ठले चलखेल देखिएको भन्दै लामो विदामा बसेपछि मुद्दा फैसला हुन पाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment