Comments Add Comment

‘मदन भण्डारीलाई अमेरिकाले मारेको हो भन्ने तथ्यसहित प्रस्तुत गरेको छु’

'म सञ्जय थापा हुँ, प्रदीप नेपाल प्राविधिक नाम मात्र हो'

१९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले अहिले पनि आफू सञ्जय थापा नै भएको घोषणा गरेका छन् । यही घोषणाअन्तरगत आफूले लेखेका ५१ वटा साहित्यिक पुस्तकलाई सञ्जय थापाको नामबाट प्रकाशित गर्न समि प्रतिष्ठानसँग उनले सम्झौता पनि गरेका छन् ।

यसै महिनाको अन्त्यदेखि क्रमशः उनका सबै पुस्तकमा सञ्जय थापा नाम उल्लेख भएर बजारमा आउन थाल्नेछन् । बजारमा आउन लागेका ‘सञ्जय थापाका कथाहरु’यसैको पहिलो उदाहरण हो ।

आफ्नो चल्तीको नाम परिवर्तन गरेको आधिकारिक घोषाणा गरेपछि हामीले उनलाई नाम फेर्नुपर्ने कारण सोध्यौं । जवाफमा उनले भने- ‘म साहित्कार नै हुँ । राजनीति गर्दागर्दै मन्त्री भएँ, त्यो संयोग थियो । तर, लेखक सञ्जय थापामा जुन गरिमा छ, त्यो प्रदीप नेपालमा छैन । त्यसैले नाम परिवर्तन गरेको हुँ ।’

अहिले ६५ वर्ष पुगेका प्रदीप नेपाल आफ्ना दाजु चर्चित साहित्यकार मञ्जुलको संगतमा लागेर १५ वर्षको उमेरदेखि नै राजनीतिमा आकृष्ट भएका हुन् । सानै उमेरमा जेल परेका नेपालले ०३३ सालमा नख्खु जेल तोडेर भागेपछि चर्चा पाए ।

एमालेको नौ महिने शासनकालमा सूचना तथा सञ्चार मन्त्री भएयता उनले पटक-पटक शिक्षा, जलस्रोत तथा स्वास्थ मन्त्रालय सम्हालेका थिए । ०६५ सालमा तत्कालीन एमालेले संघीयताको वकालत गर्न थालेपछि उनले त्यसको विरोधमा आफ्नो मत राखे । संघीयताले देशको हित गर्दैन भन्ने मतमा अडिग भएपछि पार्टीसँग उनको सम्बन्ध पातलो हुँदै गयो । अहिले उनी राजनीतिमा निश्क्रिय छन् र पूर्णतः साहित्यमा होमिएका छन् ।

आफ्नो कुरा स्पष्टरुपमा राख्ने उनी कतिपय अवस्थामा विवादमा पनि तानिन्छन् । पछिल्लोपटक आफ्नो उपन्यास ‘बर्बरिक’माथि नाटक रुपान्तरण भएर मञ्चन भइरहँदा उनले मदन भण्डारीको हत्या अमेरिकी जासुसी संस्थाले योजनावद्ध ढंगले गरेको उद्घोष गरेका थिए ।

त्यसैगरी उनी माओवादी र एमालेबीचको एकीकरणको स्थायित्वमाथि पनि शंका गर्छन् ।

२० वर्षअघि नेपालले अन्तरवार्ता दिँदा त्यसको पनि पारिश्रमिक लिने उद्घोष गर्दा नेपाली प्रेेसले त्यसको मजाकको विषय बनाएको थियो ।

यिनै राजनीतिक एवं साहित्यकार प्रदीप नेपालसँग अनलाइनखबरले गरेको साहित्य सम्वाद-

ब्युरोक्रेसीले चाह्यो भने जस्तै मै हुँ भन्ने मन्त्रीलाई पनि सुताइदिन सक्छ । देशले जति प्रगति गर्न सक्थ्यो, त्यो नसक्नुमा रोगी हुँदा र बुढेसकाल लाग्दा पनि पदमा टाँसिने र राजनीति गरिरहने कारणले पनि हो

तपाईं प्रदीप नेपाल कि सञ्जय थापा ?

म सञ्जय थापा नै हुँ । प्रदीप नेपाल प्राविधिक नाम हो । सञ्जय थापाले सर्जकबारे बताउँछ । जब कि प्रदीप नेपाल एउटा राजनीतिक प्राणी हो ।

प्रदीप नेपालको नाममा के खराबी छ र ?

खराबी होइन, म राजनीतिक प्राणीभन्दा सर्जक भएकाले सञ्जय थापामा बढी सिर्जनशीलता भेट्छु ।

राजनीतिबाट टाढा हुँदै गएपछि निराशा र कुण्ठा बढेको हो ? यो कुरा लेखनमा पनि देखिएको हो ?

राजनीति समाजका लागि गरेको थिएँ । आफूले सक्ने दिएँ । मन्त्रीबाट बाहिरिँदा पनि ‘क्लिन’ नै रहेँ । सायद सर्जक व्यक्तित्व भएकै कारण सम्भव भएको हो । त्यसमाथि मलाई सधैं ब्युरोक्रेसीले साथ दियो । विशेष गरी मेरो मन्त्रालयका सचिव सधैं स्वच्छ छवि भएका कारण मसँग उहाँहरुको कुरा मिल्यो ।

पहिलोपटक सूचना तथा सञ्चार मन्त्री हुँदा भोजराज पोखरेलजस्ता सहृदयी सचिव भएका कारण मैले ब्युरोक्रेसीसँग कसरी डिल गर्ने कुरा सिकेँ । नत्र ब्युरोक्रेसीले चाह्यो भने जस्तै मै हुँभन्ने मन्त्रीलाई पनि सुताइदिन सक्छ ।

जहाँसम्म तपाईंको प्रश्न छ, राजनीतिमा आफूलाई लागेको कुरा बडो स्पष्टसँग राखेँ । पदको लोभ भएको भए ‘जसैजसै बुढी उसै उसै स्वाहा’ पनि गर्न सक्थेँ, गरिनँ ।

अर्को कुरा, बुढेसकालमा पनि राजनीति गर्ने कुरा बेइमानी हो । युवामा जस्तो उसले व्यवस्थ्ाापन गर्न सक्तैन । मानिसहरु गिरिजाप्रसादको उदाहरण दिन्छन्, तर म उहाँको मन्त्रीमन्डलमा काम गरिसकेको मान्छे भएका कारण थाहा छ । उहाँ मन्त्रिपरिषदको बैठकमा पनि बढीमा १० मिनेट बसेर हिँड्नुहुन्थ्यो । देशले जति प्रगति गर्न सक्थ्यो, त्यो नसक्नुमा रोगी हुँदा र बुढेसकाल लाग्दा पनि पदमा टाँसिने र राजनीति गरिरहने कारणले पनि हो ।

म ०६५ सालदेखि जब संघीयतामा मेरो विमति रह्यो, राजनीतिबाट किनारामा पारिएको हुँ । मैले पनि सम्झौता गर्नतिर आफ्नो श्रम खर्च गरिन । जहाँसम्म त्यसपछिका साहित्यमा निराशा पोखिएको कुरा छ, त्यसपछि लेखिएका कृतिहिरु ‘एउटा एक हजार बर्ष, भर्‍याङ्, पण्डितजी, आमाको मन जस्ता कृति पढ्दा थाहा हुन्छ । मेरो उद्देश्य साहित्यमा जे थियो, त्यसमा एक रति विचलित भएको छैन ।

मेरा पाठकको चिन्ता मैले बुझ्नुपर्छ । उहाँहरुको बुझाइमा राजनीतिक नेता कार्यकर्ताहरु भष्ट्राचारी हुन्छन् र लेखक साहित्यकारचाहीँ सादाचारी हुन्छन् । म यसकारण प्रदीप नेपाल हुनुमा पश्यताप गर्दिन, किनभने मैले अहिलेसम्म राजनीतिमा एउटा पनि छिः भन्नुपर्ने काम गरेको छैन । १२ वर्ष संसदमा बिताएँ तर सुत्केरी, खर्च, सुरा सुन्दरी र भन्सार सुविधाको गाडीलाई परैबाट नमस्कार गरेर बिदा गरेँ । अब राजनीतिबाट टाढा भएपछि कतै बिग्रीहाल्छ कि भन्ने चिन्ता पनि सकिएको छ ।

बुढेसकाल राजनीतिमा राम्रो गर्न नसकिए झैं साहित्यमा पनि राम्रो गर्न सकिदैन, होइन र ?

साहित्यमा चाहिँ जति पाको भयो, उति मानिस चिन्तनशील हुन्छ । हो, युवा जस्तो छिटो छिटो कृतिनिकाल्न नसकिएला तर आफूले समाजलाई दिन चाहेको बिचार राम्रोसँग दिन सकिन्छ । यो कुरा बुझेकै कारण मैले बाँकी समय साहित्यलाई दिन चाहेको हुँ । ६५ वर्ष भएँ, यो गम्भीर साहित्य लेख्ने ठीक समय हो ।

मानिसहरु बिरामी भएका कारण पहिलेजस्तो सक्रिय जीवन बाँच्न गाह्रो छ भन्छन् । कस्तो अनुभव गर्नुहुन्छ ?

डा. उपेन्द्र देवकोटाका कारण मैले नयाँ जीवन पाएको सत्य हो । पिनास बिग्रेर सिँगान टाउकोमा जमेका कारण त्यसलाई निकाल्न निकै ठूलो अप्रेसन गर्नुपर्‍यो । यसका केही साइड इफेक्ट भएका कारण पहिलेजस्तो मानिस चिन्न र छिटोछिटो हिँडडुल गर्न सक्दिनँ । तर, अध्ययन, लेखन र बौद्धिक चिन्तनमा झन् बढी खारिएको छु । दुईचार वटा गम्भीर पुस्तक लेख्न सक्छु भन्ने लागेको छ र त्यही अनुसारको तयारी गरिरहेको छु ।

तर, यसका लागि नाम नै परिवर्तन गर्नुपर्ने कारण चाहिँ अझै चित्त बुझेको छैन । चित्तबुझ्दो उत्तर दिनुस् न ।

जब मैले पहिलोपटक प्रदीप नेपालको नाममा ‘एकाइसौं सताब्दीकी सुम्निमा’ निकाले । मेरा खास पाठकले मेरो चिन्ता गरे । पत्रकार बबिता बस्नेत, विष्णुविभू घिमिरेहरुले निकै चित्त दुखाउनुभो । एकपल्ट मलाई चर्चित सय व्यक्तिमध्ये छानेर एउटा संस्थाले सम्मान गर्न बोलाएको थियो । त्यसमा प्रदीप नेपाललाई भन्दा सञ्जय थापाले प्रगतिशील साहित्यको विकास र उन्नयनमा पुर्‍याएको योगदानश्वरुप लायन्स शताब्दी सम्मानद्वारा विभूषित गरिएको कुरा उल्लेख थियो । नेपालमा मात्र होइन, विदेशमा पनि सञ्जय थापाकै नामबाट मलाई सम्मान गरियो ।

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको बेलायतमा भएको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा म पनि निम्तालु थिएँ । कार्यक्रम उद्घोषिकाले मञ्चबाट भनिन्, ‘हामीले त सञ्जय थापालाई बोलाएका थियौं तर यहाँ प्रदीप नेपाल उपस्थिति हुनुभएछ ।

त्यसैले यथास्थानमा आसन ग्रहण गर्नहुन अनुरोध गरिन्छ ।’ यी सबै कारणले म राजनीति भन्दा साहित्यिक व्यक्तित्व हुँ र प्रदीप नेपाल भन्दा सञ्जय थापा हुँ भन्ने प्रमाणित भएको हो । जवकी मेरा ५१ व्ाटा साहित्यिक कृतिमध्ये सञ्जय थापाको नाममा ७ वटा उपन्यास, तीनवटा कथा सङ्ग्रह र तीन वटा निबन्ध सङ्ग्रह मात्रै प्रकाशित छन् ।

मैले प्रदीप नेपालका नाममा बढी पुस्तक लेखे पनि पाठकले सञ्जय थापालाई नै रुचाए । यो कुरा अरुले भनेर मात्र होइन, मन्त्रीको कुर्सीमा बस्दा नै अनुभव गरेको हुँ र त्यहीबेला म सञ्जय थापा नै रहने उद्घोष गरेको थिएँ । किनभने, पाठकले मलाई सञ्जय थापाकै नाममा चिनेका हुन् ।

राजनीतिले तपाईंलाई मन्त्री बनायो । साहित्यलाई चाहिँ के दियो ?

मेरो साहित्यको गुरु राजनीति हो । राजनीतिमा लागेर भूमिगत नभएको भए मैले सिक्किमदेखि नेपालको सिमाना र नेपालका ५६ जिल्लालाई नजिकबाट चिन्न सक्तिन थिएँ । ती मानिससँग संगत गर्दा उनीहरुको चेतनास्तर, हाम्रो पछौटेपनले मलाई भित्रैदेखि हल्लायो । कतिसम्म भने एकपल्ट प्रौढ शिक्षा पढ्न आउने एक महिलाले मलाई सोधिन्, ‘यो डाँडा पर पनि मानिस बस्छन् ?’ नेपाल त परको कुरा पल्लो डाँडामा पनि मानिस बस्छन् भन्ने कुरा उनीहरु कल्पना गर्न सक्दैन थिए । यस्ता हजार कुरा सिक्ने अवसर मलाई राजनीतिले दियो ।

प्रदीप नेपालबाट सञ्जय थापा हुनुपर्ने कारण चाहिँ के थियो ?

२०३७ सालअघि हामी अत्यन्तै उग्र कम्युनिस्ट थियौं । कतिसम्म भने आफ्ना नाममा कुनै लेख छाप्नु भनेको कुनै न कुनै रुपमा आफूलाई ठूलो बनाउने प्रपञ्च हो भन्ने मान्थ्यौं । यो कडा अनुशासनका कारण पार्टीका सदस्यले केही पनि लेख्ने छुट थिएन । यता म नलेखी नसक्ने । पार्टीका काममा हिँड्दा मैले देखेको समाज, मेरा अग्रज नेताको त्याग, नेपाली समाजको पछौटेपन देख्दा निकै छपपटी हुन्थ्यो । भोलिका दिन परिवर्तन होला, तर अहिले यी कुरा लिपीबद्ध गर्दै जानुपर्छ भनेर लेख्न थाले ।

पहिले मेरो नाम सञ्जय थापा मगर थियो । किनभने म भूमिगत भएर मगर गाउँमा बस्थेँ । यहि नाममा लेख लेखेर मैले काठमाडौंको ‘सुस्केरा’ नामक पत्रिकामा पठाएँ । यो पत्रिकाका सम्पादक रघुजी पन्त थिए । उनले मेरो अक्षर देख्ने वित्तिकै चिनिहाले । साथीका नाताले उनले लामो नाम काटेर छोट्याएका रहेछन् । यो कुरा उनले पनि गोप्य नै राखे । यसरी पार्टीबाट बच्न नयाँ नाम राखेको थिएँ तर पछि यही पहिचान बन्न पुग्यो ।

तपाईंका धेरैजसो उपन्यास कुनै व्यक्तिको महिमागान गाउने प्रयास गर्छन्, यसो किन गर्नुपर्‍यो ?

केही उपन्यास मैले मेरा अग्रज नेता र नेपाली समाजका लागि ठूलो मूल्य चुकाएका व्यक्तिहरुका विषयमा लेखेको छु । जस्तो बर्बरिकमा मदन भण्डारी नायक हुनुहुन्छ । ‘पार्टीकी आमा’ उपन्यासमा हामीलाई सेल्टर दिने साहिँली आमाको त्याग र बलिदान उल्लेख गरेको छु ।

मैले सत्य कुरा भन्ने आँट गरेको हुँ । त्यो आँट अरुले गर्न सक्दैनन् । मदन भण्डारीलाई अमेरिकाले मारेको हो भन्ने तथ्यसहित प्रस्तुत गरेको छु

‘देऊमाइको किनारमा’ मा इमालमा चर्चित नेता रामकुमार वान्तवाको योगदान र उनलाई पञ्चायती सरकारले कसरी सक्यो भन्ने कुरा उल्लेख गरेको छु । ‘नओइलाउने फूल’ उपन्यासमा त्यो बेलाका चर्चित नेता र मेरा गुरु हरि नेपालको हत्या किन र कसरी भयो भन्ने उल्लेख छ । उपन्यास जस्तो कुरा कसैको महिमागान गाउन लेखिदैन, उनीहरुको अनुपस्थितिमा जुन महत्ता महसुस हुन्छ, त्यो उल्लेख नगरी बस्नै नसक्ने भएपछि लेख्छु ।

कतिपयले यस्ता कृति पार्टीका लागि लेखिएका कारण यसको साहित्यिक मूल्य छैन भन्ने पनि गर्छन् । यस्ता कृति मात्रै किन लेख्नुहुन्छ ?

खासमा मैले पार्टीका लागि लेखें, पार्टीका लागि लेखेको होइन । समाज जस्तो देखेँ, त्यस्तो लेखेँ । प्रगतिवादी साहित्यको कोणबाट समाज कस्तो हुनुपर्छ भन्ने आग्रह भने राखेकै हुँ । केही कृति व्यक्ति प्रधान भए पनि ती व्यक्तिको समाज प्रतिको चिन्तन र उनले चाहेको परिवर्तनका कुरा छन् । कुनै पात्रले मेरो जीवनमा साह्रै प्रभावित बनाएका छन् । ती व्यक्तिहरु अचानक मेरो संसारबाट समाज परिवर्तन गर्दा गर्दै हराएपछि मैले भावभिव्हल भएर लेख्ने गरेको हुँ ।

चाहे मदन भण्डारी हुन्, चाहे वान्तवा हुन् चाहे हरि नेपाल, यी यस्ता नेता थिए, जसले यो समाजमा आफ्नो योगदान पूरा गर्न नपाइ गए । उनीहरु बाँचिरहेको भए, देशको मुहार अवश्य परिवर्तन हुने थियो भन्ने विश्वास लाग्छ ।

जहाँसम्म साहित्यिक मूल्यका कुरा छ, त्यो पाठकले भन्ने कुरा हो । पाँचथरको परिवेशमा लेखिएको ‘बुङ्लाका साँझहरु’लाई प्रशिद्ध समालोचक ऋषिराज बरालले पहिलो प्रगतिवादी आञ्चलिक उपन्यास भन्नुभएको छ । यो कृतिलाई पूर्वाञ्जल विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको पनि छ । ‘स्वर्णीम सहरहरु’ मा मैले कठोर संघर्ष गरेर आएका नेताहरु कसरी विग्रदै गए भन्ने चित्रण गरेको छु । ‘२१ औं शताब्दीकी सुम्निमा’मा मैले एउटी किँरात युवतीको आत्मकथा लेखेको छु ।

‘नन्दिता’ उपन्यासले एकजना आदर्श व्यक्ति कहाँबाट पतन हुन्छ भन्ने कुरा उल्लेख गरेको छु । यसरी हेर्दा मैले त्यही पार्टीमा बसेर राजनीतिक सामाजिक ब्यङ्ग्य प्रशस्त गरेको छु । ‘आकाश गंगाको तिरैतिर’मा माओवादीद्वारा हत्या गरिएका त्यही पार्टीका अर्का चर्चित नेता यदु गौतमको राजनीतिक चित्र प्रस्तुत गरेको छु । राजनीतिभित्रको राजनीतिलाई कसैले त लेख्नैपर्छ, मैले देखेको कुरा लेखेको हुँ ।

तर, यसमा निकै बिवाद पनि भयो नि ?

मैले सत्य कुरा भन्ने आँट गरेको हुँ । त्यो आँट अरुले गर्न सक्दैनन् । मदन भण्डारीलाई अमेरिकाले मारेको हो भन्ने तथ्यसहित प्रस्तुत गरेको छु । साहित्य लेख्दा कसलाई नाफा वा घाटा हुन्छ भनेर कलम चलाउने गरिदैन ।

नयाँ के लेख्दै हुनुहुन्छ ?

एउटा निकै संवेदनशील र विवादास्पद हुने विषयमा उपन्यास लेख्दैछु । सत्य कुरा समयक्रममा कसरी छोपिन्छन् भन्ने सत्य त्यसले उद्घाटन गर्नेछ । खासमा हामी जुन रामायण पढिरहेका छौं, त्यसका नायक राम भारतीय होइनन् । अयोध्यापुरीका नेपाली भूमिका राम नै असली नायक हुन् । यो कुरा झट्ट सुन्दा अनौठो लाग्छ, तर लामो अध्ययनपछि मैले यो निष्कर्ष निकालेको हुँ ।

यो उपन्यास निस्किएपछि अयोध्या पक्षधर (भारतीय मिडियाहरु सहित) मसँग खनिने छन् । तर सत्य यही हो । सीता गर्भवती भएपछि १ हजार २ सय किलोमिटर टाढाबाट कसरी सीता ऋषिको कुटी आइपुइन् भन्ने सामान्य तथ्यसमेत ख्याल नगरि यो केवल काल्पनिक साहित्य हो वा भगवानको पालामा जे पनि हुन्छ भनेर तथ्यलाई तोडमोड गर्न मिल्दैन ।

पछिल्लो समय तपाईं संस्कृत साहित्यको गम्भीर अध्ययनमा लाग्नु भएको छ, किन होला ?

कतिपयले संस्कृतलाई मृत भाषा मानेका छन् । तर त्यो सत्य होइन । संस्कृतमा अथाह ज्ञान रहेछ भन्ने कुरा धेरैपछि मात्र मैले थाहा पाउने मौका पाएँ । भयो के भने २०५१ सालमा सञ्चारमन्त्री हुँदा मैले रेडियो नेपालबाट संस्कृत भाषामा पनि समाचार प्रशारण गर्ने निर्णय गरे । यसको ठूलो विवाद भयो । म लोकप्रियताको आधारमा निर्णय गर्दिन, यही कारण म आफ्नो निर्णयमा एक्लै पर्छु । यसमा पनि त्यस्तै भयो ।

जिल्ला जिल्लामा मेरो पुत्ला जलाइयो । पाँच मिनेट समाचार प्रशारण गर्दा किन यति ठूलो बिरोध हुनुका पछाडि मलाई गम्भीर षडयन्त्रको संकेत मिल्यो । त्यसपछि मैले यसको संस्कृतका विद्वानसँग अन्तरक्रिया थाले ।

त्यसपछि नै हो, मैले संस्कृत अध्ययन सुरु गरेको । सुरुमा तिलकप्रसाद लुईंटेलले अनुवाद गर्नुभएको ऋग्वेद किनेँ । बाहुनको छोरो भए पनि परम्परा विरोधी भएका कारण संस्कृत श्लोक बुझ्न सकिन । भावानुवाद पढ्दै जाँदा धेरै कुरा खुल्दै गए । जति पढ्यो, उती मलाई औडाहा हुन थाले । संस्कृतमा लेखिएको वेदलाई ज्ञानको श्रोत भन्छन्, विद्वानहरु ।

त्यति मात्र होइन, आध्यात्मिक दर्शनलाई हिन्दु धर्मसँग जोडेर ब्याख्या गर्छन् । तर ऋग्वेदमा कतै पनि मैले हिन्दु धर्म भेटिन । त्यहाँ स्वर्ग नर्क, बम्हा,विष्णु केही पनि छैन । त्यहाँ केवल अग्नी, वायु, वरुण र सविताको बन्दना भेटिन्छन् । यति बुझेपछि आधुनिक विज्ञानको स्रोत ऋग्वेद रहेछ भन्ने बुझ्न कसैलाई गाह्रो हुँदैन । अक्सिजनको स्रोत वायु हो भन्ने वैज्ञानिक विश्लेषण उतिबेला नभए पनि मानव जीवनको रक्षामा वायुको आवश्यकतालाई ऋग्वेदका लेखकले राम्रैसँग बुझेका थिए ।

संस्कृत भाषाको विरोधमा पनि राजनीति छ भन्ने तपाईंको निष्कर्ष हो ?

हो । यसका धेरै उदाहरण छन् । अणुबमका पिता मानिने जुलियस रबर्ट हाइमर नामक बैज्ञानिकले भनेका छन्, ‘आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यो सबै प्राचीन हिन्दु विद्वताको प्रतिपादन, समर्थन र परिष्करण हो ।’

संस्कृत साहित्य नेपाल बाहेकका देशको पूँजी भैसकेको रहेछ । उपनिषद भारतीय सम्राट अकबरका पालामा संस्कृतबाट पर्सियन भाषामा अनुवाद भएको रहेछ । इस्ट इण्डिया कम्पनीको स्थापनापछि मौलिक संस्कृत साहित्य पहिले बेलायत हुँदै युरोपमा फैलियो । म त्यतिबेला छक्क परेँ, जतिबेला मलाई युरोपका जर्मनी, फ्रान्स र बेलायतमा संस्कृत विश्वविद्यालयहरु छन् भनेर थाहा पाएँ । अरुतिर त्यो स्तरको पढाइ हुने संस्कृत भाषाको विषयमा नेपालमा चाहीँ विरोध हुनुको कारण स्पष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment