+
+
Shares

भेनेजुएला प्रकरण : अमेरिकाको पक्षमा उभियो कांग्रेस

सरकार र नेकपाको वक्तव्य राष्ट्रिय स्वार्थ विपरीत भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २० गते २०:३१

२० माघ,काठमाडौं । भेनेजुएलाको संकटमा प्रमुख विपक्षी नेपाली कांग्रेस अमेरिकाको पक्षमा उभिएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकार र नेकपाको भेनेजुएलासम्बन्धी वक्तव्यले अमेरिकासँगको सम्बन्धमा असर परेको भन्दै आलोचना गरेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गरी सरकार र नेकपाको वक्तव्यलाई अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरीत भनेका छन् ।

कांग्रेको विज्ञप्तिमा भनिएको छ ‘यस्तो असंवेदनशील,अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासीन कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको बैठक आपत्ति प्रकट गर्दछ । बिगत ६५ वर्षदेखि अमेरिकाले नेपालको भौतिक र सामाजिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याउँदै आएको बिर्सन हुन्न ।’

कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक खाँडले नेपालको हितमा सहयोग पुर्‍याउने देशसँग सम्बन्ध बिगार्न नहुने बताएका थिए । ‘६५ वर्ष भन्दा लामो समयदेखि नेपालको भौत्तिक विकासमा शिक्षा, स्वास्थ्य, यातायात, लगायत बिभिन्न क्षेत्रमा महत्वपूर्ण अनुदान सहयोग उपलब्ध गराइरहेको अमेरिकाको खिलापमा जसरी उहाँले सार्वजनिक रुपमा धारणा राख्नुभयो । त्यो गलत छ,’ खाँडले दोहोर्‍याए, ‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थका लागि, जनताको हितका लागि पनि नेपालको हितमा सहयोग पुर्‍याउने राष्ट्रसँग सम्बन्ध बिगार्नु हुँदैन ।’

नेपालसँग कुनै उल्लेखनीय सम्बन्ध नरहेको भनेजुएलको राजनीतिक घटनाक्रममा सरकार र नेकपाको वक्तव्य औचित्यहीन र अपरिपक्व रहेको कांग्रेसले जनाएको छ । नेकपा अध्यक्ष प्रचण्डले गत साता वक्तव्य जारी गरी भेनेजुएलाका राष्ट्रपति निकोलस माडूरोविरुद्ध अमेरिका र उसको गठबन्धनले हस्तक्षेप गरेको भन्दै निन्दा गरिएको थियो ।

नेकपा अध्यक्षको वक्तव्यप्रति असन्तुष्टि जनाउँदै अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा मागेको थियो । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाका नाम नलिए पनि भेनेजुएलाको समस्या त्यहाँको संविधान कानुन अनुसार बाह्य हस्तक्षेपबिना समाधान हुनुपर्ने जनाएको थियो ।

त्यसयता नेपाल र अमेरिकाबीचको सम्बन्धमा खटपट देखिएको छ । शुक्रबार प्रधानमन्त्रीको उपस्थितिमा नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरुलाई दिइएको ब्रिफिङमा पनि अमेरिकी राजदूत अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?