Comments Add Comment

पशुपतिले पानी हालिसके, आगो फुक्न खोज्दै विवेकशील

'लुट्न सके लुट' मा पशुपति शर्माको ब्याकगियर

५ फागुन, काठमाडौं । पशुपति शर्मा निकै प्रतिभाशाली लोकगायक हुन् । जनजिब्रोमा झुण्डिने शब्द र मिठासपूर्ण लयले उनका थुप्रै गीतहरु लोकप्रिय बनेका छन् । तर, पछिल्लो गीत ‘लुट् सके लुट…’ मा भने उनी आफ्नो स्तर कायम राख्न चुके ।

६ वर्षअगाडि पशुपतिले गाएको ‘मलाई अमेरिका यही मलाई जापान पनि यही…’ बोलको गीतले संगीत क्षेत्रमा मात्र नभएर सिंगो देशमा सकारात्मक तरंग ल्याएको थियो । विदेशिएका वा विदेशिन चाहेका नेपालीहरुलाई आफ्नो देशभित्र केही गर्न सकिन्छ भन्ने बलियो सन्देश प्रवाह गरेको थियो । यो गीतबाट पशुपतिले धेरै वाहवाही बटुले ।

यसरी राष्ट्रवादी तरंग सिर्जना गर्ने उनै गायकको पछिल्लो गीत भने ठीक उल्टो देशप्रति नकारात्मक भावना उत्पन्न गर्नेखालको छ । यसमा उनले देशको दुरावस्थालाई चित्रण त गरेका छन्, तर खराब निश्कर्षका साथ । देश लुट्नेहरुलाई खबरदारी गर्नुको साटो उनले यही लुटमा मिसिन युवालाई आह्वान गरेका छन् ।

‘अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने शब्दहरु अतिरञ्जित लाग्छन् । उनले ‘लुट’ भनेर भ्रष्टाचारलाई ईंगित गर्न खोजेका हुन् भने संसारमा भ्रष्टाचार हुने देश नेपाल मात्रै पक्कै होइन । हालै जारी विश्वव्यापी सूचकांका आधारमा हेर्ने हो भने पनि नेपालभन्दा बढी भ्रष्टाचार हुने ५० भन्दा बढी देशहरु छन् ।

गीतमा अरु पनि आपत्तिजनक कुराहरु छन् । पार्टीका कार्यकर्ताको बोलीलाई कुकुरको भुकाईसँग तुलना गरिएको छ भने शासकलाई यमराजको उपमा दिइएको छ । राष्ट्रपतिले ३ अर्बको हेलिकोप्टर चढि्छन् भनेर सामाजिक सञ्जालमा कसैले लेख्नु र त्यसलाई गीत नै बनाएर गाउनु फरक कुरा हुन् । राष्ट्रपतिसँग डेढ अर्बको निजी हेलिकोप्टर छ भनेर पशुपति शर्माले पुष्टि गर्न पक्कै सक्ने छैनन् ।

कम्तिमा गीतको अन्तिममा सकारात्मक सन्देश दिएर टुंग्याएको भए हुन्थ्यो । तर, अन्त्यमा झन् उनले जोड दिएर भनेका छन्, ‘अब गर्न छोड्दे कान्छा आदर्शको खेती, केही न केही त बुझिस् होला भनेपछि यति ।’ अर्थात् पशुपतिले निश्कर्ष नै निकालेका छन् कि आदर्शको खेती गरेर अब काम छैन, लुटमै लाग्नुपर्छ ।

पशुपतिले पक्कै पनि कसैप्रति दुराग्रह राखेर गलत नियतले यो गीत लेखेका/गाएका होइनन् होला । किनकी उनी कुनै राजनीतिक झुकाव बोकेका गायक होइनन् । युवा संघले दावी गरेजस्तो उनी कांग्रेस निकट हुन् भन्ने कुनै तात्विक आधार देखिँदैन । कांग्रेसको सरकार हुँदा उनले ‘मलाई अमेरिका यही..’ गाउनु एउटा संयोग मात्रै हो । साथै, ‘लुट्न सके लुट’ गाउँदा कम्युनिष्टको सरकार हुनु पनि संयोग मात्रै हुन सक्छ । गीत कम्युनिष्टविरोधि भनेर होइन कि ‘देशप्रति दुर्भावना फैलाउने’ भएकोमा चिन्ता हो ।

सामाजिक सञ्जालमा सरकार गीतमा प्रतिवन्ध लगाएको भनेर पनि हौवा पिटिएको छ । यो गीतका बारेमा बालुवाटारमा छलफलसम्म भएको समाचार आए पनि प्रतिवन्ध लगाएको कुरा भने अफवाह हो । सत्तापक्षका कार्यकर्ताहरुले धाक/धम्की दिएर गीत हटाउन वाध्य पारेको ठान्ने/भन्नेहरु पनि छन् । तर, पशुपति आफैंले ‘शुभचिन्तकहरुबाटै केही शब्दहरुमाथि गुनासो आएकाले हटाएको’ स्पष्ट पारेका छन् । उनलाई कसैले खतरनाक धम्की दिएर यस्तो लेख्न बाध्य पारेका होलान् भन्ने कल्पना गर्नु व्यर्थ छ । किनकी कसैले त्यस्तो गरेको भए उनी प्रहरीमा जान सक्थे, जनता गुहार्न सक्थे ।

यतिबेला पशुपति प्रकरणलाई मसला बनाउन सरकारविरोधि शक्तिहरु उद्यत देखिएका छन् । सबैभन्दा उत्ताउला बनेर आएका छन् दुई फ्याकमा विभाजित दुई विवेकशील । एउटाले त माइतीघरमा आज उक्त गीत सबैलाई सुनाउने भनेर कार्यक्रम नै राखेको छ । हामी कल्पना गर्न सक्छौं, माइतीघर मण्डलामा ठूलो आवाजले ‘लुट्न सके लुट कान्छा…’ भन्दै गीत बज्दाको माहोल कस्तो होला ? सामाजिक सञ्जालमा जे तातेको छ, त्यसलाई भजाएर लोकपि्रयता हासिल गर्न खोज्नु विवेकशीलको परम्परागत चरित्र हो ।

गीतका मूल स्रष्टाले नै गल्ति महसुस गरेर माफी मागिसकेपछि अरुले यसलाई बोकेर हिँड्न खोज्नु महादेवले सतिदेवीको लाश बोकेर हिँडेजस्तै निरर्थक छ । पशुपतिले विवादमा पानी हालिसकेका छन् । विवेकशीलले आगो फुक्न खोजिरहेको छ ।

यदि कांग्रेसको सत्ता यतिबेला थियो भने कांग्रेसकै कार्यकर्ताले गीतको विरोध गर्ने थिए । त्यतिबेला कम्युनिष्ट कार्यकर्ताले पशुपतिको जयजयकार पनि गर्न सक्थे । देशको ट्रेन्ड यस्तै छ । सामाजिक सञ्जालको ट्रेन्ड यस्तै छ । सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरु विषयको गहिराईमा पुगिरहने लेठो गर्दैनन् । सरकार र राजनीतिक दलहरुप्रति यति चर्को वितृष्णा छ कि उनीहरुविरुद्ध जसले जे बोले पनि भिडले समर्थन गरिहाल्छ । तर, आफूलाई देशको बैकल्पिक शक्ति दावी गरेर हिँड्नेहरु यसरी भिडसँगै बहकिएर हिँड्न सुहाउँदैन ।

हरेक गीत आफैंमा एउटा दस्तावेदज हुन् । कुनै राजनीतिक भाषण जस्तो होइन, आज सुन्ने भोली बिर्सिने । सडकमा ‘यो सालको हैजा, फलानोलाई लैजा’ भनेर नारा लगाएजस्तो पनि होइन । गीतमा लेखिएका शब्दहरु हत्पति मर्दैनन् । त्यसैले गर्दा पशुपतिको गीतलाई गम्भिरतापूर्वक लिनुपरेको हो ।

पशुपतिले विवाद झांगिन नपाउँदै यूट्यूवबाट गीत हटाएर निकै बुद्धिमत्ता देखाए । चाँडै गल्ति महसुस गरेर आफूप्रतिको सम्मान उनले बढाएका छन् । तर सत्ताविरोधि जनमतको सामाजिक सञ्जालमा रोइलो भने जारी छ ।

सत्ताविरोधी गीत पशुपति शर्माले मात्रै गाएका छैनन् । पञ्चायतकालमा कम्युनिष्ट पार्टीहरुले नै सबैभन्दा बढि यस्ता क्रान्तिकारी गीतहरु गाउँथे । ती गीतहरु मूलतः सैद्धान्तिक हुन्थे । रामेश-रायनको ‘गाउँ गाउँबाट उठ, बस्ति बस्तिबाट उठ…’ मा कसैलाई पाँडेगाली गरिएको छैन । तर, यो गीतले तत्कालिन सत्ताविरुद्ध जनतालाई जुरुक्कै उठाएको थियो । जीवन शर्माको ‘झरनाको मीठो पानी..’ जति जनचेतना जगाउन शक्तिशाली छ, उति काव्यिक पनि छ ।

भन्न खोजिएको के भने जनतालाई ब्यूँझाउनका लागि तल्लो स्तरमा उक्लेर कसैलाई गालीगलौज गर्नुपर्दैन । सिर्जना जति बिम्बात्मक भयो उति भव्य एवं शक्तिशाली हुन्छ । ठाडो गाली त रत्नपार्कमा उभिएर मुकुन्देले पनि गर्छन् ।

यस अर्थमा, पशुपति शर्माबाट एउटा गल्ति भएको छ । उनले यसलाई सच्याउने तत्परता देखाएका छन् । तर, गीतको मुख्य ‘अवधारणा’ मा नै समस्या भएकाले उनले कसरी यसलाई सच्याउन खोज्नुभन्दा अर्को गीततिर लाग्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment