Comments Add Comment

पोखराको कथा : लेकसाइड मध्यरातसम्म गुल्जार, अन्यत्र ९ बजे नै डन्डा

२० फागुन । लेखक गनेस पौडेल भन्छन्, ‘पोखरा भनेको संस्कृति हो, कुनै एक ठाउँ वा स्थान होइन ।’

कवि तीर्थ श्रेष्ठ कालीगण्डकीदेखि मर्स्याङ्दी बुढीगण्डकीसम्म समेटिएको संस्कृतिलाई पोखरा मान्छन् । हुन पनि विदेशमा भेटिने लमजुङ, तनहुँ, स्याङ्जा वा पर्वत र म्याग्दीका मानिसहरु घर सोध्ने हो भने छोटो उत्तर आउँछ, पोखरा । पोखरा कहाँ भनेर सोधे भने बल्ल जिल्लाको नाम र ठाउँ भन्छन् ।

एकातर्फ बृहद पोखराको बहस चलिरहेको छ भने अर्कोतर्फ पुरानो साँध सीमाना र सहरभित्रै पोखराको परिचय र अवस्था फरक छ । पोखरा बजारकै कथा–व्यथा भिन्न छन् ।

पर्यटकीय पोखराभित्रै सरकारको नजर फरक हुँदा यहाँका व्यवसायीको चित्त दुखाइ छ । पोखरा भन्नेबित्तिकै पर्यटनसँग जोडिएर आउँछ । तर, त्यही पर्यटन क्षेत्रको महसुस र फाइदा सबैले लिन भने नपाउँदा यहाँ दुई खाले धारणा बनेका छन् । एउटा हो, लेकसाइड र अर्को त्योदेखि बाहेकको बजार क्षेत्र ।

लेकसाइड आधा रातसम्म गुल्जार हुँदा अन्य बजार क्षेत्र १० नबज्दै प्राय सुतिसक्छ । लेकसाइडबाहेक बजार क्षेत्रमा पर्यटक रोकिँदैनन्, सिधै गुल्जार लेकसाइड क्षेत्र हानिन्छन् ।

यस्तो हुनुका पछाडि सरकारककै फरक व्यवहार भएको बताउँछन्, नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन सिटी रेबानका निवर्तमान अध्यक्ष केपी शर्मा । ‘एउटै सहरभित्र दुईखाले व्यवस्था छ । लेकसाइडबाहेक अरु क्षेत्र पर्यटन क्षेत्र नै होइन भन्ने गरी प्रशासनले व्यवहार गर्छ,’ शर्मा भन्छन्, ‘पोखराको पर्यटन र त्यसबाट लाभान्वित व्यवसाय सरकारकै कारण सानो दायरामा खुम्चियो ।’

काठमाडौंबाट सडक मार्ग भएर पोखरा घुम्न आउनेहरु पृथ्वीचोक हुँदै छिर्छन् । पोखरामा हुने प्राय ठूला कार्यक्रम पृथ्वीचोक, सिर्जनाचोक, सभागृह बुद्धचोक लगायत ठाउँमै हुन्छन् । तर, पाहुनाको रोजाइ बजार क्षेत्रका होटल हुँदैनन् । पोखरामा हुने ठूला कार्यक्रमले लेकसाइड क्षेत्रका होटल भरिभराउ हुँदा अन्य बजार क्षेत्रका होटल, रेस्टुरेन्ट खाली बस्नुपर्ने अवस्था छ ।

त्यसको कारण लेकसाइड क्षेत्रमा आधा रातसम्म व्यवसाय खुला रहन पाउँछन् तर अरु बजार क्षेत्रमा १० नबज्दै डन्डा लाग्छ । त्यतिसम्म पनि ठिकै छ तर, सरकारले पर्यटन व्यवसायीका नाममा अर्को विभेद गरेको शर्माले आरोप लगाए ।

‘पोखराको पर्यटन क्षेत्रको विषयमा छलफल, गोष्ठी हुँदा लेकसाइडबाहेक अन्य बजार क्षेत्रका व्यवसायीलाई बोलाइँदैन वा आवश्यक ठानिँदैन । सरकारले पर्यटन व्यवसायीसँग राय, सुझाव लिएको भन्छ, हाम्रा कुरा कहिल्यै समेटिँदैनन्’ शर्माले प्रश्न गरे, ‘के हो यो पर्यटन व्यवसायी मापदण्ड ? के हामीले पर्यटनको क्षेत्रमा योगदान पु¥याएका छैनौं ? के हामी पर्यटन व्यवसायी होइनौं ?’

यसअघि पटकपटक पोखरालाई २४ सै घन्टा खुला गर्ने बहस र प्रयास भए । तर, पोखरा भनेको लेकसाइडमात्र २४ सैं घन्टा खोल्ने भनेर अभ्यास गरियो । लेकसाइड क्षेत्रजस्तै अन्य बजार क्षेत्रलाई पनि सबै याम खुला गर्ने विषयमा बहस नभएको भन्दै रेबानका संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठले दुःख मनाउ गरे ।

पर्यटन व्यवसायीको मापदण्ड के हो भन्ने नै आफूहरुले नबुझेको बजार क्षेत्रका व्यवसायी बताउँछन् । लेकसाइडदेखि बाहेक क्षेत्रका पसलमा ९ बजेको आसपासमै प्रहरी लठ्ठी घुमाउँदै बन्द गराउन आइपुग्ने गुनासो आउने सिटी रेबान अध्यक्ष दीपकराज तिमिल्सिना सुनाउँछन् । पोखरामा सुरुदेखि नै व्यापार व्यवसायमा यो २ खाले नियम बसालियो ।

एकातिर रातभर उज्यालो अर्कोतिर सम्साँझै अँध्यारो । त्यसैको उपज पोखरा उस्तै प्रकृतिको दुई संस्था छन् । एउटा सिटी रेबान, अर्को रेबान । लेकसाइडबाहेकको बजार क्षेत्रका किराना र क्याफे ९ बजे आसपासमै बन्द गर्नुपर्छ ।

होटल ११ बजे र दोहोरी रेस्टुरेन्ट, गजलमा ११ बजे संगीत र पौने १२ बजे बार बन्द गर्नुपर्ने बाध्यता छ । त्यसो नभए प्रहरीबाटै सास्ती खेप्नुपरेको गुनासो व्यवसायीको छ । ११ बजेपछि मात्रै पनि पृथ्वीचोक आसपासमा आउने पर्यटकलाई भोग लागे खाने ठाउँ पाउन गाह्रो पर्छ । न सजिलै कोठ पाउँछन् न खाने पिउने रेस्टुरेन्ट ।

बजार क्षेत्रका होटल, रेस्टुरेन्ट र बार बेलैमा बन्द हुने भएपछि पोखरा आउनेहरु सिधै लेकसाइड हानिन्छन् । व्यवसायीले सरकारलाई तिर्ने करको मापदण्ड एउटै हो तर हेर्ने नजर फरक छ । ‘परिकार र आतिथ्यता पनि उस्तै पस्किरहेका छौं । हामी सानादेखि ठूलो पर्यटकसम्मलाई पनि राख्न सक्छौं,’ निर्वतमान अध्यक्ष शर्माले भने, ‘एउटै सहरभित्र हामीले धेरै सास्ती खेप्नुपरेको छ ।’

प्रतिशोधले जन्मिएको सिटी रेबान

लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट, बार तथा होटल व्यवसायी मिलेर रेबान खोले । अन्य बजार क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायी पनि रेबानमा संगठित हुन चाहन्थे । तर, लेकसाइड क्षेत्रका व्यवसायीले बजार क्षेत्रलाई समेट्न चाहेनन् ।

लेकसाइडका व्यवसायीले अरुलाई पर्यटन व्यवसायी नै होइनन् भने जस्तो व्यवहार गरेको बजार क्षेत्रका व्यवसायीको गुनासो छ । त्यसपछि आफैं संगठित हुन थाले । पृथ्वीचोक, सिर्जनाचोक, सभागृह, चिप्लेढुंगा, महेन्द्रपुल लगायत बजार क्षेत्रका व्यवसायी छलफलमा जुटे । कसरी संगठित हुने, कुन–कुन क्षेत्र समेट्ने, केके काम गर्ने भनेर बजार क्षेत्रका व्यवसायीको भेला बस्यो, फलस्वरुप २०५७ सालमा जन्म्यो, सिटी रेबान । २ सयको हाराहारीमा सदस्य बने । जसको अध्यक्ष बने, चिरञ्जीवी श्रेष्ठ र महासचिव बने नवीन चालिसे ।

सिटी रेबानमा सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक क्षेत्रका होटल, क्याफे, रेस्टुरेन्ट, दोहोरी, गजल रेस्टुरेन्ट आवद्ध भए । अहिले त्यो क्षेत्र बिस्तार गर्दै लैजाने योजना सिटी रेबानको छ ।

‘पर्यटन भनेको लेकसाइड मात्रै हो भन्ने थियो । हामी पनि यही पोखराको व्यवसायी हौं र सम्पूर्ण पोखरा र आसपासको सबै ठाउँ पर्यटकीय क्षेत्र हो भन्ने सन्देश दिन पनि हामी संगठित भएका थियौं,’ तत्कालीन अध्यक्ष चिरञ्जीवीले भने, ‘त्यतिबेला गुणस्तरीय हिसाबले पर्यटन व्यवसायी भनेको हामी हौं, बजार क्षेत्रका होइनन् भन्ने सोच लेकसाइड क्षेत्रका व्यवसायीमा थियो ।’

अस्तित्व देखाउन फुड फेस्टिभल

संगठन त बन्यो तर, आम मानिसमाझ पुग्ने इन्भेन्ट थिएन । सिटी रेबान त्यस्तो इभेन्टको खोजीमा थियो, सेवाग्राही र व्यवसायीलाई जोडोस् र अनि संस्कृति, परम्परा प्रवद्र्धन पनि होस् । रेबानको छलफलले निस्कर्ष निकाल्यो, फुड फेस्टिभल ।

७ वर्षअघि सुरु भयो फुड फेस्टिभल । पोखराका लागि मेला महोत्सव नौलो होइन । यहाँ महिनैपिच्छे मेला महोत्सवका नामबाट कार्यक्रम हुन्छन् । तर, उस्तै प्रकारका महोत्सवको भीडमा रेबानले परम्परागत नेपाली खानालाई प्रदर्शन र प्रवद्र्धन गर्ने योजना ल्यायो । ‘गाउँ गाउँका हाम्रा परम्परागत खानालाई महोत्सवमा राख्ने, प्रत्येक्ष पकाउने, खुवाउने र मौलिक खेतीको विकास गर्दै किसानलाईसमेत जोड्ने उद्देश्यसहित मेला सुरु भएको हो,’ महासचिव जीवन दाहालले भने ।

आइतबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा फेस्टिभल सुरु भएको छ । तर, अपेक्षाकृत लोकप्रियता पाएको छैन । यसै पनि फेस्टिभलका लागि यो बेला अफसिजन हो । यस्तो बेला जुन मौलिक खाना र खाजाका परिकारको प्रदर्शन र प्रवद्र्धन गर्ने भनिएको छ, त्यसो हुन नसक्दा अरु महोत्सवजस्तै खुम्चिएको देखिन्छ ।

तर, महोत्सवमा समय अनुसार नयाँपन दिइरहेको सिटी रेबान उपाध्यक्ष धर्मबन्धु सुवेदीले बताए । ‘खाना, संस्कृति, संगीत, सांगीतिक कार्यक्रमलाई परिमार्जन गरिरहेका छौं । यसपालि शिवरात्रि पर्व परेकाले मेला स्थलमा बृहत् शिवलिंग निर्माण गरेका छौं,’ सुवेदीले भने, ‘अघिल्लो मेला नेपाल संवत ११३७ बेला भएको थियो । त्यस बेला हामीले ११३७ वटा अन्डाको अम्लेट बनाएका थियौं ।’

हाइजेनिक खाना र सत्कार बढाउँछौं

पृथ्वीचोक, सिर्जनाचोक, सभागृह चोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका होटल, रेस्टुरेन्ट र बारमा हाइजेनिक खाना, सरसफाइ र सत्कारको स्तर बढाउने सिटी रेबानका व्यवसायीको भनाइ छ । यो क्षेत्रका पार्टी प्यालेससमेतमा खाना र सरसफाइमा कमजोरी हुने बेलाबेलामा गुनासो आउने गरेको थियो ।

‘हामी साना तथा उच्च तहसम्मका अतिथि राख्न सक्छौं । ठूलो कार्यक्रम गर्न सक्छौं, खुवाउन सक्छौं,’ निर्वतमान अध्यक्ष केपी शर्माले भने, ‘हामी सबैखाले क्षमता बढाउँदैछौं ।’ स्तरीय र धेरै खर्च गर्ने पर्यटकको रोजाइ नै लेकसाइड हुँदा अन्य बजार क्षेत्रका होटलमा हाइजेनिक खाना र हस्पिटालिटी कमजोर भएको सेवाग्राहीको गुनासो छ । तर, रेबान त्यो मान्न तयार छैन । प्रतिस्पर्धाले केही समस्या देखिएपनि सरसफाइ र क्वालिटीमा कम्परमाइज नगर्नेगरी पहल गरिरहेको अध्यक्ष दीपक तिमिल्सिना बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment