Comments Add Comment

श्रीमान्-श्रीमतीको झगडाः किन टुट्दैछ सम्बन्ध ?

सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिकाको न्यायिक समितिमा धेरैजसो उजुरी यस्ता छन्, जुन दम्पतीले एक-अर्कामाथि दोषारोपण गरेका छन् । अर्थात श्रीमान्-श्रीमतीबीच हुने मनमुटाव एवं खटपट न्यायिक समितिसम्म पुगेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले अनलाइनखबरसँग भनेकी छिन्, ‘न्यायिक समितिमा श्रीमान्-श्रीमतीको झगडा धेरै आउँछन् । त्यसमा कुटपिटदेखि यौन सम्बधसम्मका विवाद हुनेगर्छ ।’

बाहिरी घटना अर्थात, चोरी, डकैती, ठगी, जग्गा विवाद आदि भन्दा दम्पतीबीचको विवाद चर्को बन्दैछ । सिन्धुपाल्चोक न्यायिक समितिमा दिनहूँ चाङ लाग्ने उजुरीले यही भन्छ ।

सिन्धुपाल्चोक मात्र होइन, मुलुकको सबै भेगको दशा उस्तै छ । दाम्पत्य जीवनमा भित्रभित्रै आगो सल्कदैछ । जीवनभर एकअर्काको साथ दिने कसम खाएर जोडिएका सम्बन्धहरु किन यति पीडादायी मोडमा पुग्छ ?

उपाध्यक्ष शेर्पाको भनाईमा ‘अहिलेका युवती (श्रीमती)मा आफुले भनेजस्तो भए ठीक, नभए छोडपत्र गरिहाल्छु भन्ने भावना पाइयो । सानोतिनो विमति हुनसाथ योसँग बस्दै बस्दिनँ भन्दै आउँछन् । अलिकति पनि सम्झौता गर्न नचाहने प्रवृत्ति देखिएको छ ।’

उनले अर्को कुरा के खुलाएकी छिन् भने, आफ्नो गाउँपालिकामा परेका उजुरीमध्ये कतिपयमा चाहि ‘पुरुष पीडित’ भएको पाइएको छ । श्रीमान्ले आफुले जतिसुकै सहेर बसेपनि, जतिसुकै सम्झउँदा पनि श्रीमतीले चित्त नबुझाएको बताइन्छ । शेर्पा भन्छिन्, ‘कतिपय पुरुष लोकलाजको डरले पनि पीडा सहेर बसेको बुझियो ।’

उनले श्रीमान्-श्रीमतीको झगडा नै अहिले सामाजिक विसंगतिको मूल पाटो भनेर संकेत गरेकी छिन् । यद्यपी के कारणले उनीहरुबीच झगडा हुँदैछ वा झगडाको चुरो के हो भन्ने कुरा चाहि खुलाएकी/खोज गरेकी छै्रनन् ।

झगडाको बिउ

जीवनभर नछुट्ने, एकअर्काको साथ दिने, दुःख-सुख बाढ्ने भन्दै जोडिएका दम्पतीबीच कसरी आपसी कलहको बिउ रोपिन्छ ?

यसमा एकमात्र कारण छैनन् । दम्पतीबीचको मनमुटाव, झगडाको अनेकन कारण छन् । हुन त नेपाली समाजमा ‘बुढाबुढीको झगडा, परालको आगो’ भनेर यसलाई सामान्यीकरण गरिएको छ । घर-व्यवहार चलाउने क्रममा दुबैबीच विवाद हुनु, मतान्तर हुनु, भनाभन पर्नु एक नियमित मात्र होइन, आवश्यक प्रक्रियाको रुपमा पनि लिइने गरिएको छ ।

फरक पृष्टभूमीमा हुर्किएका युवा र युवती जब श्रीमान्-श्रीमतीको रुपमा एकअर्कालाई अंगाल्न पुग्छन्, दुबैको स्वभाव, प्रवृत्ति र अपेक्षाहरु आपसमा मेल खादैन । यही बेमेलले पनि उनीहरुमा झगडाको स्थिती पैदा हुनसक्छ ।

श्रीमान्-श्रीमतीबीचको झगलाई लिएर विभिन्न अध्ययन पनि भएका छन् । नतिजा के देखिएको छ भने, विश्वभर नै दम्पतीबीच झगडा हुनेगर्छ । बर्षमा हरेक दिनजसो नै केही न केही निहुँमा उनीहरुबीच भनाभन हुने गर्छ । खासगरी बच्चाको विषयलाई लिएर दम्पतीबीच भनाभन पर्छ । घतलाग्दो कुरा चाहि के भने, दम्पतीबीच जति झगडा हुन्छ, उनीहरुको सम्बन्ध उत्तिकै बलियो पनि हुन्छ भन्ने अध्ययनमा देखिएको छ । यद्यपी यस्ता झगडा वा मतान्तर नितान्त पारिवारिक विषयमा भएको हुनुपर्छ ।

हामीकहाँ देखिने विवाद भने घर बाहिरको प्रसंगबाट जोडिएका देखिन्छन् ।

यसमा वैदेशिक रोजगारदेखि लघुवित्तसम्म कारक देखिएको छ । वैदेशिक रोजगारीको कारण श्रीमान्-श्रीमती अलग भएका छन् । श्रीमान्ले विदेशबाट पठाउने पैसा र श्रीमतीमा बढ्दो आकंक्षाले पनि धेरैको घरबार टुटेको छ । यसमा श्रीमती मात्र होइन, श्रीमान् पनि दोषी रहेको पाइन्छ ।

वैदेशिक रोजगारीले टुट्दै दाम्पत्य

वैदेशिक रोजगारीले धेरैको दाम्पत्य सम्बन्धलाई दुई चिरा बनाइदिएको छ । खासगरी श्रीमान्लाई विदेश पठाएर छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने पवित्र मन लिएर पारिवारिक सर-सल्लाह हुने गरेको पाइन्छ । सोही बमोजिम श्रीमान् विदेश जान्छन्, श्रीमती बालबच्चालाई लिएर सदारमुकाम -विद्यालय पायक पर्ने ठाउँ)मा बस्छन् । अहिले धेरैतिर देखिएको पारिवारिक प्रवृत्ति हो यो ।

पैसा कमाउन गएका श्रीमान् लामो समय विदेशमै हराउँछन् । यसरी भौतिक रुपमा उनीहरुको दुरी बढ्दै जाँदा आपसी संवाद पातलिदै जान्छ । सर-सल्लाह हुँदैन । एकअर्काको भावना र चाहाना साझेदार हुँदैन । मनोविज्ञहरु के पनि भन्छन् भने, शारीरिक आवश्यक्ताबाट विमुख हुनुपर्दा पनि उनीहरुबीच सम्बन्ध चिसिदै जान्छ । त्यसैपनि नेपाली दम्पतीको समस्या सयन कक्षाबाट सुरु हुने यसअघिका अध्ययनमा खुलिसकेको छ ।

अर्कोतिर श्रीमान्ले पैसा पठाउने र त्यसलाई सही रुपमा उपयोग गर्न नक्सदा पनि उनीहरुबीच फाटो आउने देखिन्छ । धेरैजसो श्रीमान् विदेशबाट र्फकदा आफुले पठाएको पैसा मात्र होइन, श्रीमती समेत पाउँदैनन् । भलै यसमा श्रीमतीको मात्र दोष नहुन सक्छ, किनभने मान्छेमा बढ्दो आकंक्षा, शारीरिक आवश्यक्ता आदि थुप्रै कुरा यसमा जोडिने गर्छ ।

लघु वित्तले उजाडिएको सम्बन्ध

दाम्पत्य सम्बन्धमा चिसोपन आउनुको अर्को कारण हो, आर्थिक उतार-चढाव । जब आर्थिक समस्या उत्पन्न हुन्छ, दम्पतीबीच कलह सुरु हुन्छ । अहिले यस्तै कलहको बिजारोपण गाउँ-गाउँमा पसेको लघुवित्तले पनि गरिदिएको छ ।

‘महिला शसक्तिकरण’का लागि भन्दै ग्रामिण महिलामाथि बिना योजना ऋण लगानी गरिरहेका लघु वित्त कार्यक्रमले धेरैको परिवारलाई आर्थिक दलदलमा फसाइदिएको छ । श्रीमान्लाई थाहै नदिई ऋण लिने र जथाभावी खर्च गर्ने एवं लगानी गर्ने प्रवृत्तिसँगै महिलाहरु ऋणै-ऋणमा डुब्ने गरेका छन् । अतः आफुले गुपचुप लिएको ऋणबारे श्रीमान्सँग खुलेर कुरा गर्न नसक्दा वा आफुले गरेको गल्ती ढाकछोप गर्न खोज्दा उनीहरुबीच कलह सुरु भएको पाइन्छ । लघु वित्तकै कारण धेरैले आफ्नो गलामा पासो समेत लगाएका छन् ।

सामाजिक सञ्जाल र विवाहेत्तर सम्बन्ध

विवाह गरिसकेपछि पनि अरु महिला वा अरु पुरुषसँग सम्बन्ध बनाउने प्रवृत्तिले धेरैको दाम्पत्य बिथोलिदिएको छ ।

केही समयअघि मात्र विदेशमा बस्ने एक विवाहित महिलाले नेपालकै अर्का पुरुषसँग सम्बन्ध बनाएको र त्यसले निम्त्याएको दुखान्त कथा सतहमा आएको थियो । विदेशमा बसेर राम्रै आयआर्जन गरिरहेकी ति महिलाले आफ्नो श्रीमान् र छोरीहरु समेत हुँदाहुँदै अर्को पुरुषसँग सम्बन्ध बनाएका थिए । हालै नेपाल फर्किएकी उनले ति पुरुषसँग काठमाडौंमा नयाँ बर्षको उत्सव मनाइन् । सोही साँझ ति पुरुष उनै महिलाको घर नजिक मृत्त अवस्थामा भेटिए ।

सामाजिक सञ्जाल, वैदेशिक रोजगार जस्ता थुप्रै कारणले अहिले विवाहेत्तर सम्बन्ध झांगिदैछ । यसले दाम्पत्य सुख पनि हत्याउँदै गएको छ ।

युवतीहरुको चाहाना

केही समयअघि एक रिपोर्ट आएको थियो, जहाँ अहिलेका युवतीहरु अविवाहित बस्नमै खुसी देखिने तथ्य उजागर गरेको थियो ।

विवाह गरेपछि अनावश्यक बन्धनमा बाँधिनुपर्ने वा पारिवारिक झन्झटमा फस्नुपर्ने भएकाले स्वतन्त्र जीवन-भोग गर्नका लागि विवाह नगर्ने मनस्थितीमा रहेका युवतीहरुको कथा पेश गरिएको थियो ।

अनलाइनखबरसँगको कुराकानीमा भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष सेर्पाले पनि युवतीहरुको यस्तै आकंक्षाप्रति संकेत गर्दै भनेकी थिइन्, ‘अहिलेका युवती अलिकति पनि सम्झौता गर्न चाहन्न् ।’

श्रीमतीलाई पारिवरिक बन्धनमा बाँध्न खोज्ने सामाजिक संरचना र त्यसबाट उन्मुक्त जीवन बाँच्न खोज्ने चाहनाबीचको द्वन्द्वले पनि धेरैको दाम्पत्यमा आगो सल्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment