Comments Add Comment

मनमुटाव छाडेर एकढिक्का बनौं : प्रकाशमान

Photo Credit : यूपी लामिछाने

१५ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनमुटाव छाडेर एकढिक्का हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । भेदभावपूर्ण व्यवहारले नेता-कार्यकर्तामा ऊर्जा भर्न नसकिएको स्वीकार गर्दै उनले अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

संखुवासभा क्षेत्रनम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले संगठन मजबुत बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसक्नु कांग्रेस नेतृत्वप्रतिको अविश्वास हो भन्दै उनले यसलाई सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीलाई विधिसम्मत तवरले चलाउनुपर्ने उनको जोड छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘जनता कांग्रेसको पक्षमा छन्, जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन्, तर कांग्रेस विधिविधान सम्वत तवरले चल्न सकेन । अब पार्टीभित्र आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

वर्तमान सरकार स्वेच्छाचारी तवरले चलेकाले सडकदेखि सदनसम्म कांग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने उनले बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले लोकतन्त्रको बचाउ र समृद्धिको यात्रा कांग्रेसले मात्र पूरा गर्न सक्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अब पनि कांग्रेसले आफूलाई सुधार गर्न नसके कांग्रेस अहिले भन्दा पनि झन् कमजोर हुने बताए । उनले सबै मिलेर पार्टी सुधारको अभियानमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं लगायतले धारणा राखेका थिए ।

नेता सिंह सहितको टोलीले आज संखुवासभा जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रकाशमानको टोलीमा आधा दर्जन पूर्वमन्त्री र आधा दर्जन जिल्ला सभापतिसमेत छन् । वैशाख १३ गतेदेखि पूर्वी नेपालको बिभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment