Comments Add Comment

दोस्रो वर्षमै कीर्तिमानी स्वर्ण जित्दा….

प्रदेश पाँचमा भर्खरै सकिएको आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी स्वर्ण जितेपछि धेरैले बधाई दिए । हौसला दिए । अझ राम्रो खेल्नुपर्छ भनेर हिम्मत दिए । त्यसले मेरो रहरमा एक इँटा थपिएको छ ।

सबैको स्याबासीले गर्दा छोटो समयमा पनि सुटिङ १० मिटर एयर राइफलमा ओलम्पियन खेलाडीको कीर्तिमान तोड्न सक्नु ठूलै कुरा हो जस्तो मलाई पनि लाग्यो । किनकी  मैले राइफल समाएको दुई वर्ष मात्र भयो ।

मेडल हेर्दा मनमा तर्कनाहरु पनि आउने रहेछन् । यो मेडल मेरा लागि एउटा पदक मात्र होइन, यसले मेरा अगाडिको बाटो देखाएको पनि छ जस्तो लाग्छ । किनकी जित्नु भनेको त्यसलाई निरन्तरता दिनु पनि हो । पहिलेभन्दा नराम्रो भयो भने त आफैंलाई पनि लाज हुन्छ जस्तो लाग्छ । त्यसैले मेहनत बढाउँदै जानुपर्छ, मन एकाग्र राख्नुपर्छ ।

****

मेडल कसरी जितेँ र कीर्तिमान बन्यो भन्ने कुरा भन्ने नै छु, पहिले मेरो रहरकै कुरा गरौं ।

आर्मी बन्ने मेरो बाल्यकालकै रहर हो । त्यही रहरले मलाई सुटिङ खेलतिर डोहोर्‍याएको हो । आर्मी बन्ने रहर कसरी बस्यो भनेर चाहिँ नसोध्नुहोला । जतिबेला मनमा रहर बस्यो, त्यतिबेला धेरै कुरा बुझ्ने उमेर नै थिएन । हुन त अहिले पनि भर्खर १७ वर्षकी भएँ । जीवनका अरु धेरै आयामहरु अझ बुझ्न बाँकी नै छन् । तर बुझेको कुरा के छ भने मलाई आर्मी बन्न मन छ र सुटिङ खेलिरहन रहर छ ।

म काभ्रेको चन्डेनीमा जन्मिएँ । बाबाआमा कामका लागि काठमाडौं आएपछि पाँच वर्षको उमेर म पनि यतै ल्याइएँ । हाम्रो परिवार सामान्य नै हो । बाबाको मात्रै कमाइले पहिले त अप्ठ्यारो नै थियो । विद्यालयमा मैले छात्रवृत्तिमा पढ्न पाएकाले थोरै भएपनि सजिलो भयो । आठ कक्षा पास गरेपछि जब ९ पढ्न कान्तिपुरी बोर्डिङ हाइस्कूल पुगेँ, मेरो रहरले अवसर पायो । त्यतिबेला विद्यालयस्तरीय सुटिङ प्रतियोगिताका लागि अभ्यास गर्न पाएको थिएँ ।

पहिलोपटक राइफल छुँदा त डर लागेको थियो । हान्न सक्छु होला र जस्तो लाग्थ्यो । आर्मी र पुलिसका दिदीहरुले सिकाउँदै जाँदा सजिलो लाग्दै गयो । त्यसपछि विद्यालयस्तरीय प्रतिस्पर्धामा सहभागी भएँ । त्यही वर्ष विद्यालयस्तरीय प्रतियोगिता जितेँ । त्यसले पनि सुटिङमै लाग्न धेरै हौसला मिल्यो । विस्तारै उपलब्धीहरु पाउँदै गएँ ।

विद्यालयस्तरीय प्रतियोगिता जितेपछि कुवेतबाट ‘युथ टे्रनिङ’को लागि अवसर आयो । पदक जित्ने खेलाडीलाई अभ्यासका लागि लैजाने भनेकाले म पनि जान पाउने भएँ । कुवेतमा गएर सिक्न पाइन्छ भन्ने कुराले धेरै उत्साहित भएँ । त्यहाँ एक हप्ता अभ्यास गरेपछि प्रतिस्पर्धा पनि भयो । त्यहाँ मैले छनोट चरण पार गर्न सकिने अंक ल्याएको थिएँ ।

कुवेतबाट फर्किएपछि ०७४ सालकै पुसमा राखेप च्याम्पियनसिप खेलेँ । त्यो नै राष्ट्रिय प्रतियोगिताको मेरो डेब्यू खेल हो । त्यतिबेला टिम इभेन्टमा कांस्य पदक जित्यौं । त्यही वर्ष उत्कृष्ट खेलाडीको उपाधि पनि पाएँ । राखेप च्याम्पियनसिपपछि ०७५ सालमा जापानमा अभ्यासका लागि जान पाएँ । त्यहाँ युथ टे्रनिङसहित खेल पनि खेल्न पाएका थियौं ।

****

जापान गएर आएपछि १८ औं एसियाली खेलकुदका लागि इन्डोनेसिया जान पाएँ । त्यतिबेला राष्ट्रिय टिमबाट एक जना केटा र दुई जना केटीको टिम मिलाएर लगिएको थियो । त्यहाँ गएर प्रतियोगिता अगाडि दुई दिन अभ्यास गर्न पायौं । प्रतियोगिताका बेला राम्रो नभए पनि अनुभव राम्रो भयो । यस्तै अवसरहरुबाट नै अझ सिकिनेरहेछ ।

बाहिर गएर खेल्दा दंग परिने त्यहाँका खेलाडीले प्रयोग गर्ने सामान र सुटिङ रेन्ज नै हो । हाम्रोमा अझैसम्म पेपर टार्गेट प्रयोग हुन्छ तर बाहिर त इलेक्ट्रोनिक टार्गेट प्रयोग हुन्छ । इलेक्ट्रोनिकमा थप डेसिमलसमेत हुनाले १०.९ को टार्गेट हुने गर्छर् भने हाम्रोमा १० को मात्रै टार्गेट हुन्छ ।

बाहिर कम्प्युटरको स्क्रिनमा आफूले कति अंक ल्यायो भन्नेदेखि हान्ने ठाउँकै तल पनि स्क्रिन हुन्छ । सबै कुरा कम्प्युटरको सहयतामा तत्कालै थाहा भइहाल्छ । हाम्रोमा भने सबै पेपरमा भर पर्नुपर्छ । त्यसैले बाहिर पहिलोपटक त कसरी गर्ने होला जस्तो लागिरहेको थियो । कम्प्युटर स्क्रिनमा कसरी खोल्ने हो भन्ने पनि थाहा थिएन । मलाई सिकाउने प्रशिक्षक प्रदिप खाति अन्तर्राष्ट्रिय जुरी भइसक्नु भएकाले उहाँले बुझाइदिनुभयो । बुझिसकेपछि त सजिलो लाग्यो ।

एसियाली खेलकुदमा विदेशी खेलाडीले प्रयोग गर्ने राइफल असाध्यै राम्रो थियो । हामीले जुनियरले खेल्ने काठको राइफल नै प्रयोग गरिरहेका थियौं । विदेशी खेलाडीले प्रयोग गरेको राइफल देख्दा म अचम्ममा परें । राइफलकै कारण पनि हामी अरु देशले जस्तो अंक ल्याउन अलि असमर्थ हुन्छौं ।

हामीले खेलको बेला प्रयोग गर्ने लुगाहरु पनि बाहिरबाट नै ल्याउनुपर्ने हुन्छ । हाम्रोमा त्यस्तो लुगाहरु नै पाइँदैन । उभिएर राइफललाई सन्तुलन मिलाएर खेल्नका लागि त्यो लुगाको महत्व पनि ठूलो छ । गर्मीको समयमा त झण्डै पाँच किलोको त्यो बाक्लो लुगा लगाएर खेल्न गाह्रो नै हुन्छ । त्यो लुगा नलगाई खेल्न पनि सकिँदैन ।

राइफल पनि साढे पाँच किलोभन्दा बढी हुन मिल्दैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने बेला सबै कुराको परिक्षण हुन्छ । एसियाली खेलकुदमा गएर आएपछि भारतमा सुटिङ विश्वकप छनोटमा पनि सहभागी हुन गएका थियौं । क्लोज क्याम्पमा अभ्यास राम्रो गरेको भएर पनि होला मेरो खेल इन्डोनेसियामा भन्दा राम्रो भारतमा भएको थियो ।

****

विदेशमा खेल्दा सिकेको ज्ञान र नेपालमा गुरुले निरन्तर सिकाएका कुराले नै यसपटक आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सकेको हुँ ।

आठौं राष्ट्रिय खेलकुदको अनुभव राम्रो रहृयो । म प्रदेश ३ बाट सहभागी थिएँ । नेपालगञ्जमा असाध्यै धेरै गर्मी भएकाले खेल्न नसकिएला जस्तो लागिरहेको थियो । हामी पुग्दासम्म सुटिङको रेन्जहरु तयार भएको थिएन । एक दुई दिन त रेन्ज बनाउन नै समय गयो । अप्ठ्याराहरु जे जे भए पनि स्वर्ण पदक जित्दा धेरै नै रमाइलो लाग्यो, किनभने फाइनलमा खेल्न पहिलेदेखि नै मलाई डर लागेको थियो ।

पहिलो राउण्डमा पाँच वटा मध्ये दुई ९ मा र बाँकी १० मा हानेको थिएँ । दोस्रोमा पाँच वटै १० मा हानें । त्यसैले अंकमा अलि अगाडि भएपछि अलि ढुक्क लाग्यो । १४ वटा सिंगलमा दुईवटा हानेपछि इलिमिनेसन सुरु हुन्छ । अन्तिममा कल्पना परियार र म बाँकी भएका थियौं ।

कल्पना दिदी र मेरो सधैं प्रतिस्पर्धा हुन्छ । यो पटक मैले केही अग्रता बनाएको भएर सजिलो भयो । अन्तिममा मैले एउटा ९ अंकमा हाने, दिदीले ८ मा हान्नुभयो, मैले १० मा हानें, दिदीले पनि १० मै हान्नुभयो । त्यसपछि मैले स्वर्ण पदक जितेको भनेर उद्घोष भयो । लगत्तै राष्ट्रिय कीर्तिमान बनेको थाहा भयो । यो सुन्दा धेरै नै खुशी लाग्यो ।

ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणाको कीर्तिमान तोड्न सक्नु मेरा लागि सानो कुरा होइन । सुरुमा नाम उद्घोष हुनासाथ प्रदीप गुरुलाई नै सम्भिmएँ । मभन्दा बढी खुशी गुरु हुनुभएको थियो । किनकी दुई वर्षसम्म् उहाँले नै सिकाएको ज्ञानलाई मैले रेन्जमा उतारेको थिएँ ।

स्वर्ण जितेको घोषणा हुनासाथ सबैले बधाई दिइरहेका थिए । हात मिलाउने फुर्सद समेत थिएन । एक्कासी सबैको केन्द्रमा परेकाले खुशीसँगै अचम्म पनि लाग्यो । एकदमै ठूलो काम गरेको जस्तो लाग्यो ।

मैले घरमा भन्नुभन्दा अगाडि नै गुरुले नै बाबालाई फोन गरेर मैले स्वर्ण जितेको, कीर्तिमान बनाएको भनिदिनुभएछ । पछि मैले पनि फोन गरेर सुनाएँ । बाबा पनि खुशी हुनुभयो । राम्रो गर्‍यौ अझ राम्रो गर्नुपर्छ भन्नुभयो । आमालाई पनि फोन गरें । साथीहरु पनि मैले जितेको थाहा पाउने वित्तिकै ‘ल अब पार्टी’ दिनुपर्छ भनिरहेका थिए ।

प्रदीप गुरुले भने तिमीले खेलेको हरेक खेलमा राम्रो गर्दै जाँदा अगाडिका प्रतियोगितामा अझ सहज हुन्छ भनेर सम्झाउनुभयो । अब नेपालमा नै हुने् १३ औं सागमा पनि राम्रो गर्ने छु भन्ने आश छ । त्यसका लागि मेहनत पनि गर्छु । किनभने मलाई अझै अगाडि बढ्नु छ ।

****

कीर्तिमानसहित स्वर्ण जितेपछि विभागीय टिमबाट पनि अफरहरु आएका थिए । तर अहिले ११ कक्षामा त पढ्दैछु, अब १२ कक्षा पास गरेपछि मात्रै आर्मीमा जाने प्रयास गर्छु, अन्त कहीँ जान्न भनेर सिभिलबाट खेलिरहेको छु । सिभिलबाट खेल्दा विभागीय टिममा भएको जस्तो प्रेसर पनि हुँदैन । तर, नेपाली खेलाडीलाई जीवन चलाउन सजिलो भने विभागीय टिममा आवद्ध हुँदा बढी हुने गर्दोरहेछ । किनभने खेलेर मात्रै जीवन चलाउन असाध्यै गाह्रो छ । विस्तारै सुधार त हुँदै गएको छ तर, अहिलेकै अवस्थामा त कठीन नै छ ।

राइफल बोकेर सुटिङ रेन्जमा भएको बेला आफूले सोचेको लक्ष्य पूरा गर्नुपर्छ भनेर ध्यान एकाग्र बनाउनु पर्छ । मनमा अरु केही कुरा खेल्यो भने सोचेको जस्तो खेल हुँदैहुँदैन । त्यसैले सबै ध्यान खेलमा लगाएर एकाग्र बनेर सुट गर्नुपर्छ । आफूले के गर्न चाहेको हो भन्ने कुरा भुल्नु हुँदैन ।

ठ्याक्कै जीवनको लक्ष्य र सुटिङ रेन्जको लक्ष्य एकै हो । त्यसैले सुटिङ रेन्जको एकाग्रताले मलाई जीवनको लक्ष्यप्रति पनि एकाग्र बनाएको छ । अवश्य भेट्ने छु …. ।

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा‘ को ३४ औं श्रृङ्खलामा यो हप्ता सुटिङ (एयर राइफल) खेलाडी सुस्मिता नेपालको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment