Comments Add Comment

कीर्तिमानमा निर्मल पुर्जा : ४ हप्तामा ६ हिमालको आरोहण

काठमाडौं । सात महिनामा विश्वका अग्ला १४ हिमाल आरोहणको कीर्तिमान बनाउन लागिपरेका आरोही निर्मल पुर्जाले चार हप्तामा आठ हजार मिटर अग्ला ६ हिमाल चढेर कीर्तिमान बनाएका छन् ।

पूर्वबेलायति सैनिक रहेका पुर्जाले अप्रिल २३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण, मे १२ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी, मे १५ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, मे २२ मा ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै मे २४ मा ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरेका हुन् ।

मकालुपछि पहिलो चरणको विश्राममा रहने पुर्जाले यसपछि पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु, तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र ८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा साथै नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गर्ने छन् । जसलाई उनले दुई चरणमा पूरा गर्ने छन् ।

पहिलो चरण पूरा गरेका उनले दोस्रो चरणमा जुन १ देखि अगस्ट १ सम्म के टु, नागा पर्वत, ब्रोड पिक, जी वान र जी टु चढ्ने छन् । तेस्रो चरणमा सेप्टेम्बर १ देखि नोभेम्बर १ सम्ममा मनासलु, शिशापाङ्गमा र चो यु चढ्ने छन् । सकारात्मक सोच र मेहनतले हरेक कुरा सफल हुन्छ भन्ने ठान्ने पुर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर कीर्तिमानी यात्रा गरिरहेका हुन् ।

मौसम र अन्य कठिनाइका कारण अन्य आरोहीलाई समेत सहयोग गर्दै अघि बढेका पुर्जाले मकालुबाट फर्किएपछि अबको केही समय परिवारलाई दिने छन् ।

यसपटक अन्नपूर्णमा बाटो पहिल्याउन नै चार पटकसम्म लागेको उनलाई धवलागिरीमा भने केही कठिनाइ पनि आइपरेको थियो । सगरमाथामा परेको आरोहीको जामका बारेमा त खबरहरु आइरहेकै छन् । यस्तोमा पनि पुर्जाको उत्साह भने उचो रहेको उनका प्रवक्ता रहेका वेन्डी फोउक्सले बताएका छन् ।

हुन पनि पहिले उनकै नाममा रहेको सगरमाथा, लोत्से र मकालुको पाँच दिनमा गरेको आरोहण कीर्तिमान अहिले ४८ घण्टा ३० मिनेटमा बनेको छ ।

उनको प्राजेक्ट पोसिबलका लागि आवश्यक आर्थिक सहयोग विभिन्न व्यक्ति र संस्थाहरुबाट भइरहे पनि त्यो पर्याप्त नरहेको उनका सहयोगी वेन्डी फोउक्सले बताएका छन् । दोस्रो र तेस्रो चरणको आरोहणका लागि अझै रकम जोहो गर्न बाँकी रहेको उनको भनाइ छ । त्यसका लागि सहयोग आउनेमा उनी आशावादी छन् ।

१४ अग्ला हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान बनाउन लागेका पुर्जाले भन्दा अघि १४ हिमाल आरोहणको कीर्तिमान ७ वर्ष, ११ महिना १४ दिनको रहेको छ । जसलाई पोल्याण्डका जर्जी कुकज्काले पूरा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment