Comments Add Comment

संस्मरण : नेपालीको घरमा अमेरिकन पाहुना

Photo Credit : प्रतीकात्मक तस्वीर

अघिल्लो दिन श्रीमती भगवतीले कुसुम दिदीलाई फोन गरेकी थिइन् । पूर्व जानकारी गराएर नै हामीहरु त्यहाँ जादैँ थियौँ । कुसुम दिदी एउटी सामाजिक अगुवा अनि आदर्श नारी । साउथ क्यारोलाइनामा मात्र होइन, पूरै अमेरिकामा उनलाई नचिन्ने नेपालीभाषी र भारतीयहरु कमै थिए । एउटी सहनशील, सुशील,भद्र अनि अर्को व्यक्तिलाई सहयोग गर्न मरिहत्ते गर्ने महिला । नयाँ आएका विद्यार्थीहरुको लागि त उनी विधाता नै हुन् । उ

उनी अमेरिका पसेको धेरै नै भयो । उनका श्रीमान् डा.रामचन्द्र बराल । जति कुसुम दिदीको त्याग,तपस्या र सहयोग नेपाली समाजले पाएको छ । त्यति नै रामचन्द्र बरालको पनि । त्यहीँ गुण, सीप र मेहनतबाट नै उहाँ नेपाली संगठनको अध्यक्षसमेत हुनुभयो । आजको रात हामीहरु उहाँकै घरमा वास हुने तय थियो ।

हाम्रो यात्रा साउथ क्यारोलाइनाको चर्चबाट सोझै कोलम्बियातिर हानियो । फित्ताले नापेको जस्तो सोझो सडक, दाँया–बाँया घना जंगल अनि बेतोडले गुडिरहेका गाडी । हामी त्यहीँ बेतोडमा मिसिदैँ गयौँ । तर, बीच बाटोमा पुग्दा नपुग्दै भगवतीको फोनको घण्टी बज्यो । फोन थियो कुसुम दिदीको ।

‘भगवती ! तिमीहरु कहाँ आइपुग्यौं ? यहाँ आइपुग्न कति समय लाग्छ ?’

‘नक्साले अझै एक घण्टा देखाएको छ । त्यहाँ आइपुग्दा ६ नै बज्छ होला ।’

‘त्यसोभए तिमीहरु सोझै डा.लामिछानेको घरमा आउनु । हामीहरु त्यतै जादैँ छौँ । आज उनको घरमा नेपालीको जमघट छ । मैले तिमीहरुबारे पनि बताएको छु । उहाँले, ‘हुन्छ ! भन्नुभएको छ । म तिमीलाई ठेगाना पठाउँछु । त्यहीँ ठेगाना अनुसार आउनु ।’ उनले फेरि थपिन्, तिम्रो साथी फ्रेडि पनि आएका छन् । होइन ?”

‘हो ! हो ! फ्रेडि पनि हामी सँगै छन् । हामीहरु तीनजना छौँ ।’

अब हाम्रो यात्रा कुसुम दिदीले दिएको निर्देशनअनुसार सोझै डा.लामिछानेको निवासतिर तानियो । उनको घरमा पुग्दा झमक्क साँझ परेको थियो ।

सडक छेउमा लहरै पार्किङ्ग गरिएका गाडीहरु । घरको ढोकैनेर जुत्ता र चप्पलको उरुङ्गो, अनि घरभित्रको चर्को हल्ला–खल्ला । लाग्थ्यो डा.लामीछानेको घरमा भीड बाक्लै छ । धेरै मान्छेहरु जम्मा भएका छन् ।

नगेन्द्र न्यौपाने

हामीले ढोकाको घण्टी बजायौँ । घण्टीको आवाज सुन्ने बित्तिकै एकजना महिला फुत्त बाहिर निस्किइन् । मैले मनमनै कुसुम दिदीले भनेको कुरा सम्झिएँ, ‘श्रीमान् –श्रीमती दुबै किड्नीका विशेषज्ञ हुन् । भर्खर किनेको घरको गृह प्रवेश हो ।’ पक्कै यी महिला डा.लामिछानेको श्रीमती हुनपर्छ । मैले हाम्रो परिचय दिएँ, ‘हामी नर्थ क्यारोलाइनाबाट आएको । कुसुम दिदीले सायद…….।” भन्दै थिएँ । उनले मेरो कुरा उछिन्दै बोलिनँ, ‘मलाई सबै थाहा छ । उहाँले भनिसक्नु भयो । उहाँभित्रै हुनुहुन्छ । तपाईहरु सबैलाई हाम्रो घरमा स्वागत छ । हिड्नुहोस् ! भित्र । खाने बेला भइसक्यो ।”

हामीभित्र पस्यौँ ।

भित्रको तमक–झमक अद्भुत थियो । विशाल–विशाल कोठाहरु । झिलीमिली रङ्गीचङ्गी बत्ति । संगितको मधुर धुन । अझ दुईवटा ठूला–ठूला गाडीको ग्यारेजमा समेत पाहुनाको भीड । घरको पछाडिपट्टि नीलो रङ्गको स्वीमिङ्ग पुल (पौडी खेल्ने पोखरी) अनि सेतो रङ्गको काठको कम्पाउण्ड । मैले मनमनै सोचें –डा.दम्पतिको आम्दानी निकै राम्रो छ ।

एउटा कोठामा नेपाली दोहोरी गीत । अर्को कोठामा बियरको तालमा झ्याउरे नाच । भान्सामा विभिन्न प्रकारका खानेकुरा र पेय पदार्थ, अनि पाहुनाहरुको ओहोर–दोहोर भीड । लाग्थ्यो सानोतिनो माघे संक्रान्तिको जात्रा ।

फ्रेडिको घर पनि म कहाँ नगएको हो र ? शहरभन्दा केही टाढा, तीन कोठाको कुचुक्क परेको एकतले घर । साँघुरो सडक अनि वरिपरि झाडी नै झाडी । फ्रेडिले अहिले डा.लामिछानेको घरलाई देखेपछि के सोच्यो होला ? ईष्र्या कि गौरव ?

मैले पुलुक्क ऊतिर हेरेर प्रश्न गरेँ –“फ्रेडि ! कस्तो लाग्यो ? अप्ठ्यारो महसुस भएको छ भने हिँड ! जाऔँ । अब खाना खाइहालियो । हामी जान सक्छौँ ।”

तर, उसले मेरो प्रश्नको उत्तर दिएन, बरु प्रश्न माथि प्रश्न थप्दै बोल्यो

‘सबै नेपालीको हैसियत यस्तै हो ? सबै यस्तै रमाइलो र मोजमस्तीमा नै दिन बिताइरहेका छन् ? सबैको कमाई यस्तै हो ?’

मसँग फ्रेडिको उत्तर सहज थियो ।

सबै नेपाली त्यो हैसियतमा थिएनन् । मैले उसलाई उत्तर दिए । ‘सबैको कमाई यस्तो छैन । सबैले यस्तो क्षमता राख्न सकेका छैनन् । कोही–कोही मात्रै हो ।’

त्यहीबेला एउटा झ्यापुल्ले कपाल भएको युवक हाम्रो नजिकै आयो । उसका राता–राता आँखा, तम्ताउँदो अनुहार अनि लर्बरिएको बोलीले आभास दिइरहेको थियो, उसलाई बियरको मात्रा आवयकता भन्दा बढी भएको छ । मलाई भित्र–भित्र डर पनि लागिरहेको थियो । केही अपशब्द त प्रयोग गर्दैन ? तर, उसले आफूलाई निकै नियन्त्रणमा राख्दै फ्रेडिलाई संकेत गरेर बोल्यो ।

‘उहाँलाई नेपाली गीतले बोर बनाएको छ भने अंग्रेजी गीत पनि बजाउन सकिन्छ । हामीहरु सँग अंग्रेजी गीत पनि छन् । अंग्रेजी गीतमा नाच्ने त ?’

मैले यही कुरा दोहोर्‍याउँदै फ्रेडितिर फर्केर सोधेँ –

‘फ्रेडि ! अंग्रेजी गीत बजाउने त ?तिमीले नेपाली गीत बुझेनौ कि ?’

फ्रेडिले निकै भावुक भएर उत्तर दिए, ‘गीत–संगीत कानले सुन्ने होइन । हृदयले सुन्ने गर्नुपर्छ । यहाँ बजेका सबै नेपाली गीत मैले बुझेको छु । मलाई नेपाली भाका मनपर्यो । त्यसकारण अंग्रेजी गीत बजाएर वातावरण नखल्बल्याउनुहोस् । मलाई अंग्रेजी गीत सुन्ने चाहाना छैन ।’

हामी दुबैजना दंग पर्याै‌ँ।

त्यो युवक मतिर हेरेर बोल्यो, ‘कहाँ परिचय भएको हो यस्तो व्यक्तिसँग अंकलको ? यो त निकै भावुक पो रहेछ । काले व्यक्ति यस्तो भावुक भएको कहीँ पनि देखेको थिइनँ । अलिकति पिएको वियरको नसा पनि उतारी दियो । कस्तो ज्ञानी रहेछ । योसँग कुरा गर्न सकिएला जस्तो छैन ।’ त्यत्ति भनेर ऊ हिड्यो ।

हुन त त्यो युवक नसामा बोलेको थियो वा सामान्य अवस्थामा तर म उसको शब्दले धेरैबेर भावहृील भएँ । नेपाली समाजले मात्र होइन अमेरिकी समाजले पनि कालो वर्ण भएको व्यक्तिलाई भावुक देख्दैन । उनीहरु कालो व्यक्तिलाई भद्रपंतिमा राख्दैनन् ।

निम्नस्तरमा नै देख्दछन् । यो अमेरिकाको रोग नै हो । त्यो झ्यापुल्ले केटाले के देखेर फ्रेडि प्रति त्यस्तो शब्द बोल्यो । तर, मैले केही दिन अगाडि मात्र एकजना कालो व्यक्तिले भोगेको मार्मिक दृश्य सम्झिन पुगेँ । घटना यस्तो थियो –

एउटा कालो वर्ण भएको व्यक्तिले आफ्नो अपार्टमेन्टको ढोका खोल्नै लाग्दा एउटी गोरी केटीले उसलाई रोकी ।

‘किन यो ढोका खोल्न लागेको ? यो खोल्न पाउँदैनस् । यो अपार्टमेन्ट तेरो होइन ।’

कालो व्यक्तिले उत्तर दियो, ‘यो अपार्टमेन्ट मेरो हो । मेरो अपार्टमेन्टको ढोका मैले किन खोल्न नपाउनु ! मसँग साँचो छ ।’

त्यो गोरीे केटी चर्केर बोली, ‘मैले देखि रहेको छु । तँ सोझै सडकबाट आइरहेको छस् । यो तेरो अपार्टमेन्ट होइन । तैँले नक्कली साँचोले ढोका खोल्न लाग्दै छस् । म पुलिस बोलाउँछु ।’

त्यति भन्दाभन्दै उसले पुलिस बोलाई हाली । पुलिस आइहाल्यो र पुलिसले सोधपुछ गर्यो । त्यो अपार्टमेन्ट उसैको थियो । ऊ सक्कली घरधनी थियो । भोलिपल्ट त्यो कालो वर्णको व्यक्तिले स्थानीय पुलिसमा मुद्दा दायर गर्यो । वर्णका आधारमा आफुलाई नचाहिँदो दुख दिएकाले क्षतिपुर्तिको माग समेत राख्यो । उसले न्याय पायो ।

तीे गोरी महिला आफूले खाइपाईको जागिरबाट निकालिन् तर के त्यो कालो व्यक्तिले त्यो तितो अनुभव कहिल्यै भुल्न सक्यो होला ? उसले आफ्नो मानसिकताबाट हटाउन सक्यो होला ? उसको मुटुमा लागेको चोट कहिले बिसेक हुने ? कुनै व्यक्ति कालो वर्णको छ साथै पहिला चिनजान छैन भने त्यसलाई देख्ने आँखाहरु सकभर कर्के नै हुन्छन् ।

(कुनै व्यक्ति कालो वर्णको छ साथै पहिला चिनजान छैन भने त्यसलाई सकभर भद्र देख्ने आँखा अमेरिकामा कमै पाइन्छन् ।)

केहीबेरपछि हामी डा.लामिछानेको आतिथ्यबाट बाहिरियौँ र कुसुम दिदीकोमा गयौँ – राति बासका लागि ।

हुनत, भोलिपल्ट बिहानै सामान्य चिया र बिस्कुट खाएर हिडिहाल्ने सल्लाह भएको थियो, हामीहरु धेरैबेर अलमल गर्ने पक्षमा थिएनौँ । तर, त्यो संभव भएन । कुसुम दिदीकै आग्रहमा बिहानको खाना समेत खाने भयौँ ।

कुसुम दिदी शिष्ट र भद्र मात्र नभई नेपाली समाजमा परिआएको हरेक समस्याको समाधान । उहाँ बेला–बेलामा भन्ने गर्नुहुन्थ्यो –“नगेन्द्र भाई ! त्यति टाढाबाट आइएको छ । एउटै भाषा, एउटै संस्कार र भेष लिएर आएका हामीहरु सकेसम्म मिलेर बस्नुपर्छ । झगडा गर्नुहुदैँन ।”

उहाँको अर्को राम्रो पक्ष थियो – विवाह गर्न लायक केटा र केटीको लागि सहज वातावरण बनाइदिनु । साथै केटा र केटीको अभिभावकको विचमा मध्यस्थकर्ता भर्ईदिनु र समन्वय गरिदिनु । उहाँ मार्फत धेरै जना केटा र केटीको नयाँ संसार सुरु भएको थियो । त्यतिबेला अब हाम्रो छलफल सुरु भयो –हामी विवाहकै विषयलाई लिएर गएका थियौँ ।

एक त भिन्न संस्कार र चालचलनको व्यक्ति त्यसमा पनि भाषाको समस्या । के फ्रेडिलाई हाम्रो गफले तान्न सकेको होला ? उसले नियास्रो मानिरहेको त छैन ? हुन त मैले उसलाई सुरुमै अवगत गराएको थिएँ । ‘फ्रेडि तिमीलाई दिक्क लाग्यो भने भन है । हामीहरु धेरैवेर बस्दैनौँ ।’ तर उसले चम्किलो अनुहार, फुर्तिलो मुस्कान अनि कौतुहलपुर्ण आँखाले देखाइरहेको थियो– उसले नियास्रो मानेको छैन ।

अलिअलि अंग्रेजी पनि मिसाइदिने साथै गहिरिएर अर्थ लगाउनाले पनि उसले टाउको हल्लाएको थियो । वास्तवमा बेलाबेलामा उसले हामीहरुलाई गरेको प्रश्नबाट हामीले अन्दाज लगाएको थियौँ । उसले हाम्रो गफ बुझेको छ । त्यतिबेला फ्रेडिले मलाई एउटा अनौठो प्रश्न सोधेँ ।

‘तिम्रो विवाह पनि यसरी नै कसैले मध्यस्तता गरेर मिलाइदिएको हो ?’

मैले तत्काल उत्तर दिएँ, ‘हो ! यसरी नै सुरुमा हाम्रो अभिभावकबीच छलफल भयो अनि हामी जन्ती लिएर गयौँ ।” मैले केही अनौठो आभास दिदैँ यसैमा थपे– “मैले त भगवतीलाई विवाह गर्नुभन्दा एक हप्ता अगाडि मात्र देखेको हुँ । तर बोलचाल भएन । एकैचोटि विवाह गरेर ल्याए पछि मात्र ।’

‘यस्तो विवाहले तिम्रो वैवाहिक सम्बन्ध चलेको छ त ?’

‘खै ! तिमीले देखिरहेका छौ । पोहोर साल २५ औँ वार्षिकीमा तिमी पनि सामेल थियौ ।’

अमेरिकी रहन–सहन र वैवाहिक पद्धतिबारे मलाई कहाँ थाहा नभएको हो र ? त्यो मैले कहाँ नदेखेको हो र ? हरेक साँझको समाचारमा देखिने हत्या, काटमार, छोडपत्र जस्ता घटनाबाट टाढा थिइनँ तर सोधीहालेँ ।

‘तिमीहरुको कसरी हुन्छ र ?’

मेरो प्रश्न सुनेपछि फ्रेडिले लामो सास फेर्‍यो र भित्ता हेर्‍यो अनि उदास आँखा बनाउँदै बोल्न थाल्यो ।

‘हामीहरु साह्रै कठिन अवस्थाबाट गुज्रिएका छौँ । मेरो विवाह कसरी भयो, कहाँ भयो, कहिले भयो मलाई नै थाहा छैन । हामीलाई कसैले सहयोग गर्दैन । सबै आफैले गर्नुपर्छ । हाम्रो विवाह भनेको अदालतले दिएको खामबन्दी भित्रको अक्षर मात्र हो । त्यो पनि मैले चार पल्ट बदलिसकेँ ।’

हामीहरुले उसका कुरा सुनिरह्यौ । उसले भन्दै गयो, ‘एक वर्ष एउटासँग, त्यो सँग कुरा मिलेन भने अर्को । हाम्रो जिन्दगीको धेरैजसो समय श्रीमान्–श्रीमती चाँजोपाँजो मिलाउनमै बित्छ । हाइस्कुलसम्म हामीहरु खोजी रहन्छौ । कलेज नसकुन्जेल रोजी सक्नुपर्छ । नत्र जिन्दगीभर कुमार नै बस्नुपर्छ ।’

प्रसंग बदल्दै बोल्न थाल्यो, ‘ब्रिट्नी चौथी हो । त्योसँग पनि कुरा मिलेन र एक्लै बस्दै छु ।’

‘ब्रिट्नीसँग किन कुरा मिलेन त ?’ मैले सोधेँ ।

‘खै के भएर कुरा मिलेन तर अब म ऊ सँग नै बस्ने विचार गरेको छु । फोनमा हाम्रो कुरा भइरहन्छ । उसलाई पनि एक्लोपन भयो जस्तो छ, अब यो उमेरमा अर्को कहाँ खोज्नु ?’

फ्रेडिको कुराले हामीहरु धेरैबेर रनभुल्ल भयौँ । छक्क पर्‍यौं  । वास्तवमा, अर्काको संस्कृति र परम्परा नौलो लाग्छ नै ।

जहाँ अभाव हुदैँन, त्यहाँ माया–ममता पनि हुदैँन । भावनाको अभाव होस् वा भौतिक अभाव तर माया प्रितिको लागि अभावको जरुरी पर्छ । अभावमा दुख–सुख आदन प्रदान हुन्छ । आफ्ना भावनाहरु साटासाट हुन्छ ।

हामी अभावबाट आएका हौँ । त्यसकारण हामीहरुलाई माया–प्रेमको महत्व थाहा छ । श्रीमान–श्रीमती, बालबच्चाप्रति उत्तरदायित्व बोध छ । सानातिना मनमुटाव स्वतः मिलेर जान्छन् । यसैमा नेपाली गृहस्थी चलेको हुन्छ तर अमेरिकाको समाज त्यस्तो छैन । अभाव नभएपछि ममता पनि स्वतः मरेर जाने रहेछ । एक्लै संसारमा जिउने बानी परिसकेको हुन्छ ।

त्यतिबेलासम्म बिहानको खाना तयार भइसकेको थियो । हामी सबैजना खानाका लागि तयार भयौँ । हामीले एउटा–एउटा कुर्ची समात्यौँ । मैले कुसुम दिदीलाई संकेत गर्दै सोधेँ, ‘दिदी ! पहिला आउँदा त भान्साकोठा अलि सानो भएको जस्तो लागेको थियो । ठूलो रहेछ हगि !’

कुसुम दिदीले उत्तर दिन नपाउँदै फ्रेडिले सोधीहालेँ, ‘तिमी पहिला पनि यो घरमा आएका थियौ ?’

‘यहाँ मात्र होइन, हामीहरु त आफन्तको घरमा आउने–जाने चलिरहन्छ । गइरहन्छौ । यसरी नै हाम्रो परम्परा धानिएको छ ।’

उसको मुखबाट तुरुन्तै अर्को प्रश्न फुत्कीहाल्यो ।

‘कुसुम दिदी के तिम्रो आफ्नो पर्नुहुन्छ ?’

तर, मसँग उत्तर थिएन । मैले उत्तर दिनै सकिनँ । किनकी हामीहरु आफन्त थिएनौँ । सायद फ्रेडिले मेरो समस्या बुझेर हुन सक्छ वा त्यसमा चासो नदिएको । उसले अझ बढी जान्न चाहेन । तर ऊ आज निकै खुशी थियो । उसले नयाँ संस्कारको अनुभव गरेको छ । साठी उमेर पार गरिसक्दा पनि न ऊ कसैको घरमा खान गएको छ न उसको घरमा कोही खान नै आएको छ । आज उसले दोस्रो व्यक्तिको घरमा खाएको छ ।

हुन त बिहानैदेखि नै आकाश धुम्म बादलले ढाकिएको थियो । वातावरण अँध्यारो थियो । फाट्टफुट्ट छिटा हान्ने र बन्द हुने क्रम जारी रहे पनि त्यसरी दर्कने पानी पर्ला जस्तो थिएन । हामी पनि घरबाट निस्केर गाडीमा बस्नु, मुसलधारे पानी पनि पर्नु एकैचोटि भयो । तर, हामी रोकिएनौँ । गाडी स्टार्ट गरिहाल्यौँ । त्यहीबेला कुसुम दिदी रुझ्दै हाम्रो गाडीमा पस्नुभयो र हस्याङ्गफस्याङ्ग गर्दै एउटा प्याकेट भगवतीको हातमा राखिदिनु भयो । हतारिदैँ फर्किहाल्नुभयो, झण्डै विर्सेको ! बाटोमा भोक लाग्न सक्छ, खाना खाने मेसो नमिल्न पनि सक्ला । बिहानै बनाएर राखेकी थिएँ । ईः राख ।’

भगवतीले त्यो प्याकेट आफ्नो साथमा राखिन् ।

यो अस्पष्ट दृष्य फ्रेडिको आँखै अगाडि थियो । तर, फ्रेडिले बुझेनन् । कुसुम दिदीले के दिनुभयो, भगवतीले के लिइन् र के भन्नुभयो उसलाई पूर्ण जानकारी भएन र सोधीहाले ।

मैले सहज रुपमा उत्तर दिएँ, ‘हामीलाई बाटोमा भोक लाग्न सक्छ, खाने समय नमिल्ला । त्यसकारण केही खानेकुरा दिनुभएको हो खानको लागि । तिमीलाई भोक लाग्यो भने भगवतीलाई खबर गर्नु । उनीसँग खानेकुरा छ ।’

फ्रेडि तत्काल केही पनि बोलेनन् । बरु आफ्ना ओझेल परेको अनुहारले मलाई धेरैबेर नै हेरिरहे अनि भावुक स्वरमा बोले, ‘म किन नेपालीको घरमा जन्म लिन पुगिनँ ?’

हामी अगाडि बढ्यौ । निकै लामो यात्रा पार गर्दा पनि फ्रेडी मौन नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment