Comments Add Comment

ब्रिटेनमा नयाँ प्रधानमन्त्रीको दौड सुरु, यस्ता छन् दावेदार

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिने घोषणा गरेपछि ब्रिटेनमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु भएको छ । आगामी प्रधानमन्त्रीका लागि सम्भावित नामहरुको चर्चा जारी छ ।

टेरिजा मेले शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन् । यद्यपि उनी नयाँ प्रधानमन्त्री नछानिएसम्म पदमै रहनेछिन् । आगामी ७ जुनमा नयाँ प्रधानमन्त्री चयन गरिने छ ।

हाल १२ भन्दा बढी सांसद नयाँ प्रधानमन्त्री बन्ने दौडमा सामेल हुने सम्भावना रहेको बताइन्छ । यद्यपि पाँच जनाको नाम भने पुष्टि भइसकेको छ । ती पाँच जनामा विदेशमन्त्री जेरेमी हन्ट, पूर्वविदेशमन्त्री बोरिस जोनसन, स्वास्थ्यमन्त्री म्याट हेनाक, रोरी स्टुअर्ट र एस्टर मेक्वे छन् ।

हेनाकले आफ्नो उम्मेदवारी घोषणा गर्दै आफू तुरुन्त आम चुनाव हुनुपर्ने पक्षमा नरहेको बताएका छन् । चुनाव गराएमा ब्रेग्जिट मुद्दाको समाधान नहुने उनको ठहर छ र यो देशका लागि भयावह हुनसक्ने उनले बताए । उनले भनेका छन्, ‘टेरिजा मेको उत्तराधिकारी ब्रेग्जिट सम्झौतामा सहमति जुटाउन धेरै नै इमान्दार हुनु जरुरी छ । म संसदमा ब्रेग्जिटमा सहमति जुटाउन कोशिस गर्नेछु ।’

यसैगरी रोरी स्टुअर्टले भने बोरिस जोनसनको नेतृत्वमा आफूले काम नगर्ने बताएका छन् । ब्रेग्जिट मुद्दामा जोनसनको रवैयासँग आफू सहमत नभएको उनले बताए । उनले बीबीसीसँग भनेका छन्, ‘मलाई यो कुरा भन्दा धेरै दुःख लागिरहेको छ म उनको (बोरिस जोनसनको) नेतृत्वमा काम गर्न सक्दिनँ ।

बोरिसमा धेरै क्षमता छ र मैले केही दिनअघि उनीसँग कुराकानी पनि गरेको थिएँ । त्यतिबेला उनले विनाकुनै डिल ईयूबाट नबाहिरिने बताएका थिए, तर अहिले त्यसको ठीक उल्टो कुरा गरिरहेका छन् । उनले जे भनेका छन्, त्यसअनुसार काम गरियो भने त्यसले हाम्रो देश र हाम्रो अर्थव्यवस्थालाई धरासायी बनाउने छ ।’

बोरिस जोनसन तिनै व्यक्ति हुन् जसले सन् २०१६ को जनमतसंग्रहको बेला युरोपेली संघबाट अलग हुने अभियानको नेतृत्व गरेका थिए । जोनसनले सरकारको नेतृत्व गरेमा ब्रिटेन अक्टुबरमा कुनै सम्झौता गरेर वा सम्झौता नगरी युरोपेली संघबाट बाहिरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment