Comments Add Comment

सेयर खरिद अनलाइन सेटलमेन्टमा थपिए ४५ बैंक तथा वित्तिय संस्था

१२ जेठ, काठमाडौं । सेयर खरिदपछि ब्रोकर कम्पनीलाई रकम भूक्तानी गर्ने अनलाईन प्रणाली थप फराकिलो बनेको छ । नेप्सेको चारमध्ये तीन क्लियरिङ बैंकमा मात्र सिमित यो सुबिधामा आइतबारबाट ४५ बैंक तथा वित्तिय संस्था थपिएका छन् ।

तीन क्लियरिङ बैंकमा खाता रहेका ग्राहक यसअघि नै सो सुविधामा जोडिएका थिए । नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस, सबै ब्रोकर कार्यालय र नेप्सेको अनलाइन प्रणाली गत बिहीबार एक-अर्कामा जोडिएपछि पहिलो लाइभ प्रयोग आइतबारबाट लागू भएको हो ।

यो प्रणालीअनुसार सेयर खरिदपछि लगानीकर्ताले कनेक्ट आईपीएसमार्फत ब्रोकर कार्यालयलाई रकम बुझाउन सक्नेछन् । तर प्रणाली विकासकै क्रममा रहेका कारण तत्कालका लागि ब्रोकरबाट सेयर बिक्रिको रकम भने लगानीकर्ताले चेकबाट नै लिनुपर्ने छ ।

कसरी जोडिने कनेक्ट आईपीएसमा ?

नेपाल क्लीयरिङ हाउसको कनेक्ट आईपीएसमा ४८ बैंक तथा वित्तिय संस्था आबद्ध छन् । यी संस्थासँग नेप्सेको अनलाईन र ब्रोकर कार्यालय एक अर्कामा जोडिइसकेका छन् ।

अब सेयर लगानीकर्ताले नेपाल क्लियरिङ हाउसमा आफ्नो कनेक्ट आईपीएस खाता खोल्नु पर्नेछ । उक्त खाता पछि पैसा तिर्ने लगानीकर्ता र बुझ्ने ब्रोकर एक अर्कामा जोडिन पुग्छन् । उक्त सुबिधापछि लगानीकर्ताले बैंकको ई-बैंकिङ सेवा लिएर यसअघि अन्य खातामा रकमान्तर गरेकै शैलीमा सेयर खरिदको बिल अनलाइनबाट ब्रोकर कार्यालयलाई तिर्न सक्नेछन् । क्लीयरिङ हाउसको कनेक्ट आईपीएसमा आबद्ध हुन शुल्क भने लाग्दैन ।

रकम भुक्तानी सीमा

पहिलो चरणमा लगानीकर्ताले ब्रोकरलाई सेयर कारोबारको रकम भुक्तानी एक पटकमा प्रतिकारोबार एक लाख रुपैयाँ भुक्तानी गर्न सक्नेछन् । यदि सो भन्दा धेरै रकम भुक्तानी गर्नुपर्नेमा पटक पटक गरेर भूक्तानी गर्नुपर्ने हुन्छ । कुनै एक बैंकको एक खाताबाट प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ ।

हाल कनेक्ट आईपिएसमा आबद्ध रहिरहेका ४८ बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाइनबाट कारोबार गर्न सक्नेछन् । कनेक्ट आईपीएसमा ७ संस्था आबद्ध हुने क्रममा छन् ।

सुबिधासंगै लगात बढ्यो

लगानीकर्ताले यसअघि अकाण्टपेयी चेकमार्फत कारोबार गर्दा कुनै शुल्क लाग्दैन थियो तर अब सुबिधासंगै थोरै खर्च भने थपिएको छ ।

लगानीकर्ताले ५० हजार रुपैयाँभन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपैयाँ, ५ हजार देखि ५० हजारसम्म १० रुपैयाँ, पाँच सयदेखि ५ हजारसम्म ५ रुपैयाँ र पाँच सय रुपैयाँसम्मको लागि दुई रुपैयाँ शुल्क क्लियरिङ हाउसलाई बुझाउनु पर्नेछ । तर समयको बचत र बाटो खर्चका हिसाबले पुरानो प्रणालीमा भन्दा यो शुल्क ज्यादै न्युन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment