Comments Add Comment

ओली सरकार चौतर्फी घेराबन्दीमा, सत्तारुढ सांसद् नै विरोधमा

१ असार, काठमाडौं । समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयसँगै सरकारको कार्यशैलीमाथि आजका दैनिक पत्रिकाहरुले समाचार बनाएका छन् ।

नयाँ पत्रिका दैनिकले आज ‘सरकार चौतर्फी मुठभेडमा’ शीर्षक दिएर सरकार आलोचित बन्नुका कारणबारे विश्लेषण गरेको छ । मिडिया काउन्सिल विधेयक, लोकसेवा विज्ञापन, गुठी विधेयक, इन्डो–प्यासिफिक रणनीतिको विवादले सरकारलाई मुठभेठतर्फ डोहोर्‍याएको नयाँ पत्रिकाको निष्कर्ष छ । मानव अधिकार आयोगको अधिकार कटौती र सत्तारुढ समाजवादी दलको आन्दोलन गर्ने चेतावनीले पनि केपी ओली नेतृत्वको सरकारलाई सकसमा पार्दै लगेको उसको ठम्याइ छ ।

सत्तारुढ सांसद् नै पछिल्लो समय सरकारको बचाउ गर्न नलागेर विरोधमा देखिएका छन् । नेता योगेश भट्टराई, झपट रावल मात्र होइन, जनार्दन शर्मा, कृष्णभक्त पोखरेल र टेकबहादुर बस्नेत सरकारको आलोचनामा उत्रिएका छन् । कृष्णप्रसाद दाहाल, पम्फा भुसाल, रामनारायण बिडारी सरकारसँग गुनासा नै गुनासा छन् । यसले ओली नेतृत्वको सरकार थप संकटमा पर्दै गएको नयाँ पत्रिकाको निष्कर्ष छ ।

नयाँ पत्रिका लेख्छ– एकीकृत जनमत पाएको सरकार सिंगल–सिंगल भिड्न खोज्दा आफैं घेराबन्दीमा परेको छ र समृद्धिको यात्रासमेत बरालिएको छ ।’

आइतबार प्रकाशित हुने हिमाल साप्ताहिकले पनि सरकार आलोचित बन्नुका कारणबारे लेखाजोखा गरेको छ । नयाँ पत्रिकाले जस्तै हिमालले पनि नागरिकको असन्तुष्टिप्रति बेवास्ता गर्दै पछिल्लो समय ल्याइएका विधेयकले सरकारलाई आलोचित बनाउँदै लगेको निष्कर्ष निकालेको छ । ‘नागरिकको असन्तुष्टिप्रति गरिएको बेवास्ता दुईतिहाइ बहुमतप्राप्त सरकारलाई भारी पर्दैछ’, छोपिँदै सरकार शीर्षकको आवरण स्टोरीको निष्कर्षमा हिमालले लेखेको छ ।

विद्युत् प्राधिकरणले दुईवटा  वृहत जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेकोलाई अन्नपूर्णले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले १०६० मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाट क्षमताको दूधकोसी आयोजना एकैसाथ अघि बढाएको हो ।

सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिङ तीव्र पारेको कान्तिपुरले लेखेको छ ।

समाचार अनुसार गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिकसम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् ।

नागरिकले माथिल्लो तामाकोसी आयोजना लम्बिँदा लागत दोब्बरले बढेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रमा नागढुंगा सुरुङमार्गको निर्माण असोजदेखि सुरु हुने खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment