
९ असार, बिराटनगर । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि विगतमा जस्तै यो वर्ष पनि बिराटनगर नाकाबाट हुने व्यापार घाटा चुलिएको छ । अर्कोतर्फ, सरकार लिएको राजस्व संकलनको लक्षसमेत पूरा नहुने दयनीय स्थिति देखिएको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म पूर्वी नेपालको प्रमुख व्यापारिक नाका बिराटनगरबाट कुल व्यापार घाटा १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक बर्षको यही अवधिमा १ खर्ब ११ करोड रुपैयाँ व्यापार घाटा थियो ।
विराटनगर भन्सार नाकाबाट चालु आर्थिक बर्षको १० महिनामा १ खर्ब ३६ अर्ब ११ करोड रुपैयाँको सामान निर्यात भएको छ । यो अवधिमा २१ अर्ब २१ करोड १० लाख रुपैयाँको सामान आयात भएको छ ।
बिराटनगर भन्सार कार्यालयका अनुसार भारतबाट २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट १७.४ प्रतिशतले आयात बढेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले अघिल्लो आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भएको बताए । सोही अवधिमा १७ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको पौडेलले जानकारी दिए ।
भन्सार कार्यालयका अनुसार विराटनगर नाकाबाट ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलिय पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात हुने गरेको छ । बिराटनगर भन्सार प्रदेश नं १ को मुख्य व्यापारिक नाका हो ।
वस्तुगत आधारमा हेर्दा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, खानेतेल लगायतका वस्तुको आयात बढेको छ । औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राइसेल ब्याट्री, सुपारी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ हेर्दा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ ।
समग्र मुलुकको व्यापार घाटा वार्षिक ९ खर्ब ९ अर्ब २६ करोड छ । भारतसँग मात्रै ६ खर्ब र चीनसँग १ अर्ब २८ अर्बको व्यापार घाटा छ । अन्य मुलुकसँग झण्डै १ खर्ब ८२ को व्यापार घाटा नेपालले व्यहोर्दै आइरहेको छ ।
स्वदेशी उत्पादन नहुँदा बर्सेनि व्यापार घाटा
उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्वन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौंको व्यापार घाटा ब्यहोर्न मुलुक बाध्य भएको अर्थविज्ञ डा. अर्जुन बरालले बताए ।
‘निर्यातजन्य वस्तुको पहिचान प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि व्यापार घाटा बढेको देखिन्छ,’ बरालले भने, ‘सरकारले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिन सकेमात्रै पनि व्यापार घाटाको दरमा कमी आउनेछ ।’
‘आफ्नो उत्पादन नहुँदा ठूलो मात्रा आयात गर्नुपर्ने हाम्रो बाध्यता छ’, भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेल भन्छन, ‘विराटनगर नाकामा निर्यातको तुलनामा आयातको मात्रा अत्यधिक छ । प्रत्येक बर्ष यो दर बृद्धि भइरहेको छ ।’
राजस्व संकलनको अवस्था दयनीय
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षका ४२ अर्ब ५३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि १० महिनाको अवधिमा २९ अर्ब १५ करोड४८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको लक्ष्य भेटाउन दुई महिनाको अवधिमा १३ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ राजस्व उठाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया 4