Comments Add Comment

बुहारी बोझ होइन भन्ने सिकाउन विश्वविद्यालय खोलौं

विवाहको मौसम छ । विवाह, भोज र भतेरका लागि मान्छे जति उत्साही छ, बुहारी शब्द छोरी दिएको घरप्रति त्यति नै निरुत्साहित मात्र होइन नकरात्मक नै छ । परम्परादेखि नै सासू र बुहारीको सम्बन्धलाई लिएर समाजले एउटा भय सिर्जना गरिदिएको छ ।

खुब मातेकी छस, सासू कस्ती पर्ने हो ? छोरो त सद्दे थियो, बुहारी कस्ती पर्ने हो ? यसरी चिन्दै नचिनेका सम्बन्धहरुमाथि शंका र भय समाजले नै पैदा गरिदिन्छ । अनि शुरु हुन्छ कसले कसलाई आफ्नो बसमा पार्ने भन्ने अघोषित प्रतिशपर्धा ।

यता लाडप्यारले हुर्काएकी कमलको फूलजस्ती छोरीलाई चोट पुर्‍याउने हुन् कि भनेर छोरीका बाबुआमाको निन्द्रा गायव हुन्छ, उता विवाह गरेपछि छोरो खोसिने हो कि भन्ने चिन्ता ।

बुहारीलाई टाउकामा टेकाउने होइन नि भन्दै समाज घरपट्टकिालाई खबरदारी गरिरहन्छ । सासू संस्था गोलकिपर जसरी प्रतिरक्षाका लागि सधैं तयार भएर बस्छ । भरखर लाडिएर मात्तिएर पाली पोसिएकी छोरी जब बुहारी बन्छे, एकैदिनमा उसको जीवनमा आएका तमाम परिर्वतनलाई आत्मसाथ गर्न नै हम्मेहम्मे पर्छ । त्यसमाथि परिवारले बुहारीबाट खोजेको निपुर्णताको परीक्षा उसले एकै पटक पास गर्नु पर्छ । नयाँ घर, नयाँ परिवेश र नयाँ सम्बन्धहरुलाई आत्मसाथ गर्ने अवसरै नदिई उसको मूल्यांकन शुरु हुन्छ । घर परिवार मात्र होइन, उसको परीक्षक बनेर बसेका हुन्छन् नन्द, आमाजू, ठूलीआमा सानीआमा, तिनका स्वामीनाथहरु, छरछिमेक र परिवारसँग जोडिएका ईस्टमित्रहरु ।

यस्ता यावत सकसबाट मुक्त हुन बुहारीले हरदम अवसरको खोजी गरिरहन्छे । हातमा सीप र ज्ञान बुद्धिले परिपूर्ण भएकी छोरी झिनामसिना कुराले सिर्जना गर्ने ठूलाठूला मानसिक तनाव सहेर कसरी बस्छे होला ? आमाहरुले कहर काटेझैं यी टिक्दैनन् । न त अब आमाबाबुले नै सिकाउँछन् छोरी तैंले सहनुपर्छ भनेर ।

राम्रो पढ्नू, आफ्ना खुट्टामा आफैं उभिनुपर्छ । अरुसित आश्रति भयो भने त हेप्छन् । यसैले पढ छोरी पढ भन्दै बाबुआमा छोरीका लुला गोडामा त्रासैत्रासको पुलिन्दा बिच्छ्याएर दह्रोसँग टेक्न सक्ने बनाउँछन् । नयाँ जीवनको कल्पना उसले आफ्नै तरिकाले गरेकी हुन्छे । सपनाको राजकुमारसँग वायुपंखी घोडामा चढेर ऊ संसार चाहार्छे । तर, आफ्नो केही पनि लगानी नभएको चिजमाथि घरपरिवार हैकम जमाउन खोज्छ । तराईतिर दाइजोको रुपमा र पहाडतिर मान सम्मानको रुपमा छोरालाई लगानी गरेको सम्पूर्ण सावा मात्र होइन ब्याजसहित बुहारीबाट असुल उपर गर्न खोज्छन् ।

एउटै कक्षामा पढ्दै गरेका र एउटै कार्यक्षेत्र भएका केटाकेटीका प्रेम र विवाह धेरै हुन थालेका छन् । समान हैसियत भएका केटाकेटी जब वैवाहिक जीवनमा प्रवेश गर्छन्, तब उनीहरुको हैसियत कसरी आकाशजस्तो अग्लो र पातालजस्तो गहिरो हुन्छ ? विवाह एउटा संस्था हो जसले परिवार र समाजको निर्माण गर्छ । जब हामी समान वर्गमा विभेद गर्छाैं अनि कसरी मिल्यो सिकाइ र खोजाइ ?

हामी छोरीहरुलाई आफ्नो खुट्टामा उभिन मात्रै प्रेरित गरिरहेका छैनाैं, कसैसँग पनि झुक्न हुँदैन भनेर सिकाइरहेका छौं । एकथरि बाबुआमा झुक्नै नहुने शिक्षा दिइरहेका छाैं भने अर्काथरि बाबुआमा बुहारी लम्पसार परोस् भन्ने चाहन्छौं । अनि छोरालाई चैं केही सिकाउनुपर्दैन र भन्या ?

हामीले बिर्सिरहेका छाैं कि तपाईंको घरमा भित्रिन आउने बुहारी छुट्टै ग्रहबाट आउने त होइन, ऊ पनि यही समाजकी छोरी हो । समाज कता र कसरी गइरहेछ भन्ने हेर्दै नहेरी बुहारीमाथि अनेक नियमहरु थोपार्छाैं । अनि कसरी मिल्छ तपाईं र उसको सोच ?

श्रद्धाले आदर गरिनुपर्ने तपाईं मान खोजेर आफै आफ्नो उचाइ घटाइरहेको कसरी नदेख्नु भएको होला ? अफिसबाट घर आएको छोरोलाई थकित देख्ने परिवार बुहारी आएर खाजापानी गर्छे भनेर कुरिरहन्छ । हैन, बुहारीलाई पनि थकाइ लाग्छ भनेर हामी किन सोच्दैनौं होला ?

मनमा प्रश्न उब्जिरहन्छ । जवाफ दिने कसले ? किंकर्तव्यविमूढ समाजलाई कसले झक्झक्याउने ? यस्ता प्रश्नहरुको उत्तर खोज्न नसक्दा एकथरी छोरीहरु समाजबाट धेरै बाहिर पुगिसके जो छन्, तिनका विषयमा सोच्न अझै ढिलाइ गर्नु कदापी हुँदैन ।

बुहारीलाई पनि आफ्नै छोरीजस्तो माया गर्यो भने पो बुहारीले पनि माया गर्छे भन्ने चेतना कसले भर्ने ? जन्मदातालाई जस्तै माया गरे त उनीहरुले पनि माया गरिहाल्छन् भनेर छोरीलाई सिकाउने जिम्मा कसले लिने ?

हाम्रो देशमा ६/७ वटा विश्वविद्यालयहरु छन् । विभिन्न संकायमा पढाइ हुन्छ । आर्टस, कमर्श, शिक्षा, जनस्वास्थ्य, नर्सिङ कृषि र इञ्जिनियरिङझैं कि त परिवार विश्वविद्यालय खोलिन पर्‍यो । कि त सासू-बुहारी संकाय खोलिनपर्‍यो ।

आफ्नो छोराले गरेका कुनै पनि गल्ती र कमी कमजोरीलाई नजरअञ्दाज गर्दै आफ्नो सबैथोक छोडेर तपाईको घर सजाउन आएकी बुहारीलाई दोषमात्रै थोपरेर कसरी घर हराबरा बन्छ ? तपाईंले लगाएका तमाम दोषको भारी बोकेर थिचिएकी उसले भोलि तपाई अशक्त हुँदा कसरी रेखदेख गर्न सक्ली त ? तमाम प्रश्नहरुको उत्तर कसले दिन्छ ?

समय यसै पनि परिवर्तनशील छ । पहिला-पहिला २० वर्ष लाग्ने जेनेरेशन ग्याप प्रविधिको विकाशसँगै ५ वर्षमा झरेको छ । समाजले जबसम्म यस्ता गलत प्रवृत्तिलाई स्थान दिँदै जान्छ, परिवार त झन एकल बन्दै जानेमा दुई मत छैन ।

हाम्रा हजुरआमा जसरी अहिलेका बुहारीको दायित्व घरपरिवारमा मात्र नभइ कार्यालयमा पनि हुन्छ । हाकिम हुन्छ, प्रतिस्पर्धी, समकक्षी साथीहरु हुन्छन् । कामको चाप कार्यालयबाट घरसम्म आउन सक्छ । अफिसमा बुझाउनुपर्ने कागज पत्र हुन्छन् । ठूला-ठूला सम्झौताहरु गर्न प्रेजेन्टेसन तयार गर्नुपर्ने हुन्छ । ऊ हतारमा हुन सक्छे । हतास हुन सक्छे । तर, तपाई उसले निधारमा टीका लगाई कि लगाइन, हातमा चुरा लगाई कि लगाइन । मलाई ढोगी कि ढोगिन ! चिया सोध्छेकी सोध्दिनँ जस्ता झिना मसिना कुराहरु सोचिरहनुहुन्छ ।

छोरीहरु तिमीले धेरै पढेका छौ। आफ्नो खुट्टामा उभिएका छौ । यसको मतलव यो पनि त पक्कै होइन तिमीहरु सबैभन्दा माथि छौ । धेरैमाथि, आफ्नै अग्रजभन्दा पनि । तिमीहरुसँग साधन स्रोत छ । अवसर छ । चुनौती छ । तिमीहरु तिम्रा आमा, हजुरआमा जसरी भात भान्सामा अटाउँदैनाैं यसको मतलव तिमीहरुलाई खानै नपर्ने हो र ? फलेको हाँगा सधैं झुक्छ । तिमीहरु झुक्दा तिम्रै मान बढ्छ । तिमीहरुले नै परिवारको माया पाउँछौ । तिमीहरुसँग मनोरञ्जनका अनगिन्ती साधन छन् । क्लब, आउटिङ, फिल्म आदि आदि । अभिताभ बच्चन र हेमा मालिनी अभिनित वागवान फिल्म हेर त तिम्रा बाबुआमा तिमीबाट के चाहन्छन् ? आजको पुस्ता कस्तो छ ?

हाम्रो देशमा ६/७ वटा विश्वविद्यालयहरु छन् । विभिन्न संकायमा पढाइ हुन्छ । आर्टस, कमर्श, शिक्षा, जनस्वास्थ्य, नर्सिङ कृषि र इञ्जिनियरिङझैं कि त परिवार विश्वविद्यालय खोलिन पर्‍यो । कि त सासू-बुहारी संकाय खोलिनपर्‍यो । वा खोलिनुपर्‍यो तालिमकेन्द्रहरु, कसरी परिवारमा समन्वय गर्ने ? नयाँ आउने मान्छेसँग घरपरिवार नातागोताले गर्ने व्यवहार, कर्तब्य र दायित्वका विषयमा अध्ययन र छलफल होस् । जसरी आवश्यकतासँगै थपिए पत्रकारिता, समाजशास्त्र र फार्मेसीका कोर्षहरु, त्यसैगरी थपिउन् परिवारका मूल्य र मान्यतालाई जोगाइराख्ने विषयवस्तु । यो विवाह वा बुहारी पुस्ता हस्तान्तरण हो, बोझ होइन भनेर सिकाइयोस् ।

होइन भने बुहारी तपाईंको छोराभन्दा कैयाैं गुण सवल पनि हुन सक्छे । तपाईंलाई झेल्नुभन्दा ऊ एक्लै बस्न रुचाउली । विदेशमा दुःख छ । असाध्यै दुःख छ, तर पनि स्वतन्त्रताका लागि ऊ हुरुरु भएर विदेशिन्छे कहिल्यै नर्फकने अठोटसहित ।

हजुरबा हजुरआमाका काखमा नाति नातिना खेल्न र खेलाउने हाम्रो सुन्दर पारिवारिक संरचनालाई जोगाई राख्ने हो भने छोराछोरीलाई जसरी एउटै शिक्षा दिइरहेका छौं, उसैगरी पारिवारिक दायित्व पनि तिमीहरुको बराबर छ भनेर सिकाउन अब ढिलो भैसकेको छ ।

ज्वाइँले घरमा काम सघाउँदा खुशी हुने तपाईं छोराले सघाउँदा जोइठिंग्रेे कसरी देख्नुहुन्छ ? एउटै कोखबाट जन्मेका छोराछोरीमा छोरा ससुराली जाँदा मानमाथि मान र छोरी ससुराली जाँदा झुक्तमान । अब हाम्रा आँखाको पावर परिवर्तन गर्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment