Comments Add Comment

पाकिस्तानमा फर्किएको उत्साह

१५ असार, काठमाडौं । अफगानिस्तानलाई तीन विकेटले हराएसँगै विश्वकपमा पाकिस्तानले १९९२ को सम्झनालाई अझ ताजा बनाएको छ । समर्थकहरुमा पाकिस्तानले विश्वकप उपाधि नै जित्ने विश्वास फेरि जगाएको छ ।

खेल सुरु हुनु झण्डै एक घण्टाअघि मैदानमा पुगेका उनीहरु पहिलो फिल्डिङको समय जसरी समर्थन गरिरहेका थिए, ब्याटिङमा त्यो भिन्न थियो । २२८ रनको लक्ष्य पछ्याउँदा पनि कमजोर बनेको ब्याटिङ अन्तिम रनसम्म ढुकढुकमै थियो । अन्त्यमा इमाद वासिम र वाहब रियाजले पाकिस्तानी टिमको लाज ढाकिदिए । त्यसपछि मैदानमा झनै चर्कोसँग सुनियो, पाकिस्तान…. पाकिस्तान ।

मैदानमा मात्रै होइन मैदानसम्म आइपुग्ने बाटोदेखि नै भुभुजेलाको टुँउउउ आवाजले पाकिस्तानी समर्थकको ध्वनी फैलिएको थियो । मैदानमा पनि उनीहरुको समर्थन र उत्साह टिमका लागि नै ठूलो प्रेरणाका रुपमा देखिएको थियो ।

त्यस्तै भीडको बीचमा नै पाँच अफगानिस्तानी समर्थक आफ्नो राष्ट्रिय झण्डा हल्लाइरहेका देखिन्थे । यतिबेला बल्ल विश्वकपको ताप अझ चर्किएको भान हुन्थ्यो । ‘यो असाध्यै गजब देखिएको छ’ पाकिस्तानका पूर्वक्रिकेटर रमिज राजाले आईसीसीसँग भनेका छन्, ‘भारतसँगको हारपछि निराश बनेका समर्थक अहिले टिमसँग राम्ररी नै जोडिएका छन् । उनीहरुलाई अबका खेल कति महत्वपूर्ण छ भन्ने राम्ररी थाहा छ ।’

‘जब समर्थकहरु यसरी लागि पर्छन् तब पाकिस्तानी टिमको खेल पनि उत्कृष्ट बन्दछ । आशा छ यो उर्जा निरन्तर भइरहोस् । घरेलु मैदानमा खेलेजस्तो वातावरण पाउनु सानो साथ होइन’ उनले भने ।

टस जितेर अफगानिस्तानले बलिङ गर्ने निर्णय लिएसँगै एकीकृत बनेका पाकिस्तानी समर्थक निरन्तर आवाज दिइरहेका थिए । अफगानिस्तानले तेस्रो र चौथो ओभरमा लगाएका एक बाउन्ड्रीपछि सुनिएको आवाज पाकिस्तानी समर्थकले आमिर…आमिर भन्दै सानो पारिदिएका थिए ।

पाँचौ ओभरमा शाहिन शाह अफ्रिदीले दुई विकेट लिएपछि त पाकिस्तानी समर्थकको चर्को हुटिङबाहेक मैदान वरपर केही आवाज नै थिएन । गुलबदिन नाइबलाई निक लगाएर क्याच आउट पार्दा पहिले त अम्पायरले नटआउटकै इशारा गरेका थिए । त्यसले केही फेरिएको माहोलमा सर्फराजले रिभ्यूका लागि इशारा गर्नु र आउट देखिनुले हौसला झनै बलियो बन्यो ।

यसअगाडिका खेलमा पाकिस्तानी टिममा देखिएको आत्तिएको माहोल अफगानिस्तानविरुद्ध बलिङका बेला भने देखिएन । कप्तान सर्फराजले पनि निकै शान्त ढंगमा निर्णय लिइरहेका देखिन्थे ।

नाइबविरुद्धको रिभ्यू त्यही सोचको परिणाम थियो । नाइबलगत्तै अफ्रिदीले हसमतुल्लाह शाहिदीलाई पनि क्याच आउट बनाए । त्यसपछि ह्याट्रिकका लागि फालिएको बलमा त अफ्रिदी विकेटको नजिकै पुगेर पनि चुके । हरेक क्षणले पाकिस्तानी समर्थकको उत्साह अझ बढाइरहेको थियो ।

बलिङको बेला देखिएको जस्तो उत्साह ब्याटिङमा भने निरन्तर भएको थिएन । रन नै नबनाइ दोस्रो बलमा नै फकर जमान आउट भएपछि त माहोल एकाएक भिन्न बन्यो ।
१६ औ‌ं ओभरमा ७२ रनको स्थितिमा इमाम उल हक आउट हुँदासम्म पाकिस्तानी समर्थकलाई हार्ने डर भने थिएन । तर ३५ औं ओभरमा १४२ रन हुँदा हरिस सोहिल र ३९ औँ ओभरमा छैठौँ विकेटका रुपमा सर्फराज आउट हुँदा त हारको डरसमेत बढिसकेको थियो ।

रनआउट हुन पुगेका सर्फराज जसरी नै शादब खानसमेत आउट हुँदा त अफगानिस्तान पहिलो जितको नजिक देखिन्थ्यो । तर इमाद वासिम र वाहब रियाजले पाकिस्तानलाई हारबाट जोगाउँदै विश्वकप सपना सार्थक बनाइराखे । त्यससँगै मैदानमा खटिइरहेका समर्थकको मुहारमा नौलो खुशी देखियो ।

पाकिस्तानीले विश्वकप जितेको १९९२ दोहोरिएला त ? त्यसबेला टिमको सदस्य रहेका राजा भन्छन्, ‘दुई वर्षअघि च्याम्पियन्स ट्रफी जित्दाको क्षण हेर्ने हो भने पनि यस्तै देखिन्छ । यदि उनीहरु एउटा बलियो मनोबलमा पुगे पनि उनीहरुलाई हराउन गाह्रै पर्छ । म त्यस्तै नाटकीय क्षणहरु देखिरहेको छु ।’

‘यो यस अर्थमा पनि १९९२ जस्तो छ कि हामी नयाँ हिरोहरु पनि भेटिरहेका छौं । त्यो बेला वासिम अक्रमजस्तै अहिले बाबर आजम र शाहीन अफ्रिदी देखिएको छ । उनीहरु राम्रो लयमा देखिन्छन् । उनीहरुसँग क्षमता पनि छ र समर्थकको चाहनाअनुसारको उत्साह पनि । त्यसमा मात्रै उनीहरुले आफू अनुकुल खेल देखाउन आवश्यक छ ।’

अब समर्थकहरु सेमिफाइनल पुग्ने आशमा बंगलादेशसँगको अन्तिम खेलमा यसरी नै लागिपर्ने छन् । त्यसमा खेलाडीहरुको विश्वास पनि त्यही अनुरुप बढ्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment