Comments Add Comment

छापामा आज : आफन्तबाटै ४ वर्षमा ६८४ मारिए

तीन नेताका कारण संक्रमणकालीन न्यायिक संयन्त्र नेतृत्वविहीन

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले संक्रमणकालीन न्यायिक संयन्त्रमा देखिएको रिक्ततादेखि अपराध, विश्वविद्यालय बेथिति, प्रदूषण, आईफा अवार्डलगायतका विषय उठाएका छन् ।

राजधानी दैनिकले ४ वर्षमा आफन्तबाटै ६८४ जना मारिएको डरलाग्दो तथ्यांक प्रस्तुत गरेको छ । यो अवधिमा श्रीमानबाट श्रीमतीदेखि आमाबाबुबाट छोराछोरीसम्मको हत्या भएको राजधानी समाचारमा उल्लेख छ ।

तथ्यांकअनुसार पछिल्ला चार वर्षमा २७५ जनाले श्रीमतीको हत्या गरेका छन् । त्यस्तै, ५८ श्रीमतीले श्रीमान्को ज्यान लिएका छन् । १५ जना बाबुआमाले आफैंले जन्माएको सन्तानको जीवनलीला समाप्त पारिदिएका छन् ।

‘आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर र डरलाग्दो प्रश्न चिह्न सिर्जना गरिदिएको छ’, राजधानीमा महेश्वर गौतमले लेखेका छन् ।

कान्तिपुरले ‘तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पुनर्गठनमा ढिलाइ भइरहेको छ ।

संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरुबीच रस्साकस्सी हुँदा दुई आयोग तीन महिनादेखि पदाधिकारीविहीन छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ३ महिनाअघि सिफारिस समिति बनेको भए पनि राजनीतिक सहमति नजुटेकाले उसले समेत सिफारिस गर्न सकेको छैन ।

कान्तिपुरमा घनश्याम खड्का लेख्छन्– बाहिरी रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै आयोगमा पदाधिकारी नियुक्तिबारे मिलेर अघि बढ्न देउवा र प्रचण्डलाई भनेका छन् । यथार्थमा भने नेकपाभित्रको सन्तुलन मिलाउन र प्रचण्डलाई साइजमा ल्याउन उनैले यो मुद्दा सल्ट्याइहाल्न नचाहेको जानकारहरुको बुझाइ छ ।’

त्रिभुवन विश्वविद्यालयभित्रको बेथिति पनि आजको कान्तिपुरमा पढ्न सकिन्छ । समाचार अनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ वटा डिग्रीको प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेको अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयमाहरुमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो ।

नयाँ पत्रिकाले कृषि विश्वविद्यालयको बेथिति उधिनेको छ आज । कृषिमा विशिष्ट जनशक्ति उत्पादनका लागि सरकारकै लगानीमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले मानविकीअन्तर्गतका कार्यक्रम चलाउँदै आएको उसको ठम्याइ छ । नयाँ पत्रिकाका अनुसार आफ्नै ऐनविपरीत विश्वविद्यालयको प्रस्तावनामा समेत नसमेटिएको संकायअन्तर्गतका विषयमा कृषिले पीएचडी (विद्यावारिधि) कार्यक्रम सञ्चालन गरेको छ । यो विषयमा मानविकीकी विषयविज्ञसमेत छैनन् ।

यार्सा नभेटिएपछि जुम्लाका स्थानीय पाटनबाटै कालापहाडतर्फ लागेको खबर कारोबारमा छ भने नागरिकले ‘मास्क बिना हिँड्नै मुस्किल’ शीर्षक दिएर काठमाडौंको प्रदूषणबारे समाचार बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा केही दिनअघि आयोजित एक कार्यक्रममा काठमाडौंमा धूलो कम हुँदा माक्स लगाउने घटेको टिप्पणी गरेका थिए । तर, नागरिकले सर्वसधारणसँग लिएको प्रतिक्रियामा अधिकांशले प्रधानमन्त्रीको भनाइ गलत रहेको बताएका छन् ।

अन्नपूर्णले पशुपतिका मूर्ति खोजखबर गरेको छ । समाचार अनुसार पशुपति क्षेत्रका कैयन मूर्ति गायब भएका छन् तर कति कहाँ पुर्याइए भन्ने कोषलाई नै थाहा छैन ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment