Comments Add Comment

के हामी बैठक बस्न जान्दैनौं ?

सानो कामबाट पनि ठूलो नतिजा निकाल्न सकिन्छ

विदेशस्थित एक कर्पोरेट अफिसमा काम गर्ने एकजना मित्रले नेपाल आएको समयमा कुनै उच्च तहका व्यक्तिहरु बैठक बसेको दृश्य पत्रपत्रिका र टेलिभिजनमा देखेपछि ‘आश्चर्य लागेको’ बताउनुभयो । मैले किन ? भनेर प्रतिप्रश्न गर्दा उहाँले बैठक बस्दाको दृश्यलाई इंगित गर्दै भन्नुभयो, ‘बैठक बस्दा सोफासेटमा शरीर ढलाएर बसिँदैन । कागजात हातमा लिइन्छ वा अगाडि टेबलमा राखिन्छ । शरीर सकि्रय बनाइन्छ न कि निष्कृय ।’

हुन त उहाँले उक्त बैठकको दृश्यलाई आफ्नो मुलुकको अवस्थासँग तुलना गरेर नै धारणा बनाउनुभएको हुनसक्छ । तर, बैठकमा सम्बन्धमा व्यवस्थापनकै किताबमा धेरै टिप्सहरु अध्ययन गर्न पाइने भएकाले उहाँले त्यससँग उक्त दृश्यलाई जोडन सकिने पनि देखियो । आखिर बैठक जहाँ बसे पनि मानिसले अन्तरक्रिया गर्ने त हो नि । ‘शायद परिवेश र सांस्कृतिक भिन्नताले यस्तो भएको हो कि’ मेरो जिज्ञासा थियो । उहाँले ठाडै नकार्दै अगाडि थप्नुभयो, ‘यस्तो दृश्य मेरो मुलुकमा देखिएको भए त सार्बजनिक रुपमा ठूलो बहस हुन सक्थ्यो ।’

मैले मनमनै विचार गरेँ शायद सार्बजनिक जवाफदेहिता भनेको यही होला । उहाँसँगको कुराकानी त सकियो । तर, मेरो मनमा कुरा खेल्न शुरु गरे । उहाँको भनाइले मेरो मन पोलिरह्यो । के हामी बैठक बस्न पनि जान्दैनौं त ? यसका बारेमा नजानेको हो वा जानेर पनि पालना नगरिएको हो ? बैठक बस्ने विषय सामान्य हो भन्न सकिएला, तर यसले अन्य धेरै कुरालाई संकेत गर्न सक्छ ।

यही विषयसँग सम्बन्धित रहेर केही साना कामको बारेमा यस लेखमा चर्चा गर्न खोजिएको छ, जसबाट ठूलो प्रभाव वा असर सिर्जना गर्न सकिन्छ ।

बहसको शुरु गरौं बैठक र समय व्यवस्थापनबाट । किनकि बैठक र यसको व्यवस्थापनका सम्बन्धमा चर्चा गर्ने क्रममा समय व्यवस्थापनका बारेमा बोल्नै पर्छ । यस धर्तीका हरेक व्यक्तिका लागि प्रकृतिले एकदिनमा १४४० मिनेट दिएको छ । यहाँ दिनमात्र नभएर हप्ता, महिना र वर्ष पनि उही मात्रामा सबैले पाएकै छन् । यहि १४४० मिनेटमध्ये केही समय हरेक व्यक्तिका लागि न्यूनतम रुपमा आवश्यक हुन्छ जसमा खाना खाने, आराम गर्ने र सुत्नेजस्ता कार्यहरु गरिन्छन् ।

यस्ता कार्यका लागि न्यूनतम समय त सबैलाई चाहिन्छ तर कति न्यूनतम भन्ने बारेमा एकमत नहुन पनि सक्छ । यस्तो समयका बारेमा अध्ययन अनुसन्धानले आफ्नो निचोड दिएका छन् । सबैको सार भनेको यदि कुनै व्यक्तिले आफ्नो उमेर र शरीरको अवस्थाअनुसार न्यूनतम समय उपयोग गरेन भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भन्ने नै हो । तर, अहिले चर्चा गर्न खोजेको विषय यो न्यूनतम समय कति हुनु पर्छ भन्ने होइन । अहिलेको मूल मुद्दा त यो न्यूनतम समय कटाएर बाँकी रहेको समयलाई व्यक्तिले के कसरी प्रयोग गरिरहेको छ, गर्न सक्छ भन्ने हो । कति समय सदुपयोग गरेको छ र जानेर नजानेर कति समय खेर फालेको छ भन्ने हो ?

हुन त खेर गएको समय केलाई मान्ने वा खेर गएको कसरी मापन गर्ने भन्नेमा पनि एकमत नहुन सक्छ । यसैगरी सदुपयोग गरेको भनिएको समय पनि पूरा मात्रामा सदुपयोग वा प्रयोग भए नभएको मापन गर्ने साधनमा विविध दृष्टिकोण हुन सक्छन् ।

सामान्य रुपमा हेर्दा अनावश्यक कुरा गरेर बस्नु, सभा सम्मेलन भनेको समयमा शुरु नहुनु, अनावश्यक बहसमा समय बिताउनु, भाषणमा कुराहरु दोहोर्‍याउनु धेरै समय सुत्नु, बैठक अनावश्यक रुपमा लामो समयसम्म लम्ब्याउनु, बिना तयारी बैठक बस्नु जस्ता कार्यलाई अनावश्यक कार्यमा खेर गएको समय मान्न सकिन्छ । यस्ता कार्यमा हाम्रो कति समय खेर गएको होला त ? शायद हिसाब गरेका छैनौं ? कतिले सोचेका त हौंला । तर, व्यवहारमा अवलम्बन गरेका नहुन सक्छौं ? अथवा यसका बारेमा नसोचिएको पनि हुन सक्छ ।

कार्यालय कोठा भनेको काम गर्ने स्थान हो, न कि आराम गर्ने । तसर्थ अब गर्नैपर्ने अर्को सानो सुधार भनेको कार्यालय कोठाबाट सोफा सेट हटाउने हो । बैठक सोफामा बसेर होइन कि कुर्सीमा बसेर गर्नुपर्छ

एकजनाले यस्तो कार्यमा समय बचत गर्दा समयमात्र जोगिने नभई सार्बजनिक स्रोतको पनि उत्तिकै मात्रामा बचत भइरहेको हुनसक्छ, सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्छ, अझ सोभन्दा बढी त उच्च तहका व्यक्तिको समय नीति तर्जुमा, विश्लेषण र सुधार गर्नमा सहयोग पुग्छ ।

बिना तयारी, बिना समय किटान, बिना विशिष्ट एजेन्डा बैठक बस्नु भनेको उक्त कार्यका लागि चाहिनेभन्दा बढी समय उपभोग गर्नु हो । यस्ता बैठकमध्ये कतिपय बैठक त पुन: अर्को पटक बस्ने गरी टुङ्िगन्छन् । यस्तो हुनु भनेको एउटै कामका लागि समय खेर जानु हो । बैठक लामो हुँदा वा बनाउँदा बैठक बस्नेको मात्र समय खेर गएको हुदैन । सेवाग्राहीको समय पनि खेर गइरहेको हुन्छ । कुराउनेको भन्दा कुर्नेको समय अझ बढी हुन पनि सक्छ, किनकि एकजनालाई कुर्ने सेवाग्राही धेरै हुन सक्छन् । केही दिन अघिमात्र एकजना सेवाग्राहीले आफूले ३ घण्टा कुर्दापनि प्रमुख भेट्न नपाएको गुनासो सुन्नुपर्दा मलाई पनि खिन्न लाग्यो ।

यसो भनेर भेट्न आएका जति सबैलाई भेट्नै पर्छ भन्ने पनि होइन । सेवाग्राहीले ल्याएका सबै काम हुन्छन् भन्ने पनि छैन । तर सेवाग्राहीलाई भेटेर यहाँको काम यो यो कारणले हुन सक्दैन भन्न सक्नुपर्छ र आफ्नो खेर जाने समय बचाउन सकिन्छ भन्ने मात्र हो । तर हाम्रो सन्दर्भमा उक्त व्यक्ति अझ माथिल्लो तहमा भनसुन गर्न जाने पनि हुनसक्छ ।

तर, जो जहाँ गए पनि नहुने काम हुन्न भन्ने विषयको जानकारी पनि समयमा नै दिन सक्नुपर्छ । यस्तो कार्यलाई सबैले संस्कारको रुपमा विकास गर्न सके अवस्थामा सुधार गर्न सकिन्छ । समय व्यवस्थापनमा सुधार गर्न कुनै न कुनै बिन्दुबाट शुरुवात त गर्नैपर्छ । तसर्थ माथिको सन्दर्भले दिन खोजेको सन्देश समय व्यवस्थापन नै हो, जुन हरेक व्यक्तिको हकमा लागू हुन्छ ।

हरेक उच्च तहको पदाधिकारीले गर्ने व्यक्तिगत भेटघाटको व्यवस्थापन गर्नमात्र सके पनि ठूलै समयको बचत गर्न सकिन्छ । यसका लागि स्पष्ट दृष्टिकोण चाहिन्छ । नीति निर्माण तहमा रहने वा काम गर्ने व्यक्तिले नागरिकलाई भेट्दा नराम्रो त हुदैन तर गर्नै पर्ने काम के छन सो पनि हेर्नुपर्छ । भेटघाटमा खर्च हुने समय र प्राप्त हुने लाभका बारेमा विश्लेषण गर्नैपर्छ । आफ्नो जिम्मेवारीमा रहेका कामका लागि दिने समय र नागरिकलाई भेट गर्न दिने समयको बीचमा सन्तुलन कायम गर्न सक्नुपर्छ । समय अभावकै कारण कतिपय काम समयमा सम्पन्न हुन नसकेका पनि हुन्छन जसको असर मुलुकले तिर्नुपर्ने हुनसक्छ ।

भेटघाटमा समय बढी दिएकै कारण कुनै कामलाई छिटो सम्पन्न गर्न खोज्दा त्यससँग सम्बन्धित विषयमा जे जति विश्लेषण हुनुपर्ने हो सो हुन नसकि कार्य सम्पादन कमजोर हुनसक्छ र यसबाट सिर्जित असर पनि मुलुकले तिर्नुपर्छ । पदाधिकारीको समय व्यवस्थापनका कारण मुलुकले मूल्य चुकाउनु परिरहेको हुनसक्छ । अवस्था विश्लेषण नभएर मात्र हो अन्यथा अवस्था भयावह हुन सक्छ ।

सार्बजनिक पदाधिकारीको धेरै समय लिने कार्यमध्ये एउटा अर्को कार्य बैठक पनि हो । यसका लागि दिनको यति समयभन्दा बढी समय बैठकलाई नदिने, एकभन्दा बढी बैठक बस्नु पर्ने भएमा लगातार बैठक नगर्ने, बैठकको समय पहिले नै किटान गर्ने, बैठकमा सदस्यहरुलाई बोल्नका लागि समय तोकिदिने, बैठकको पूर्वतयारी राम्रोसँग गर्न लगाउने जस्ता कार्य गरेर समय व्यवस्थापन गर्न सकिन्छ । समग्ररुपमा समय व्यवस्थापनलाई प्रभावकारी बनाउन कुन तहसम्मको पदाधिकारी के कस्ता बैठक (वा अन्य कार्यक्रम उदघाटन, शिलान्यास, सेमिनार, सभा)मा जानेजस्ता विषयमा स्पष्ट नीति र आचारसंहिता चाहिन्छ ।

सार्वजनिक पदाधिकारीले आफ्नो समय खर्च गर्दा त्यसबाट अरुमा पर्ने प्रभाव समेत ख्याल गर्नुपर्छ । कुनै कार्यक्रम शिलान्यास वा उदघाटन गर्न जाँदा उक्त तहभन्दा तलका संरचना र पदाधिकारी त्यसमा संलग्न हुन्छन्, यी सबैमा सार्वजनिक स्रोतको प्रयोग हुन्छ । अहिले कसैलाई बोलाउनै पर्दैन, ठूला व्यक्तिसँग नजिक हुन पाइन्छ भनेर यस्ता घटनामा संलग्न हुने सार्वजनिक पदाधिकारीको संख्या ठूलै छ ।

यसैगरी अपवादमा बाहेक प्रमुख अतिथि वा अतिथिलाई कुर्नु नपर्ने व्यवस्था गर्न सकिन्छ । आसन ग्रहण गराउँदा लामो भाषण नगर्ने कार्यमात्र गर्न सके पनि धेरै समय बचत गर्न सकिन्छ । बैठक वा कार्यक्रम शुरु गर्नुअघि पर्याप्त तयारी गरी संचालन गर्ने व्यवस्था अवलम्बन गर्न सके ढिलो पुग्ने अनि नेपाली समय भन्ने प्रचलनको अन्त्य हुन्थ्यो । कसैले शुरु गरे अरु सबैलाई समय पालनामा मितव्ययी बनाउन सकिनथ्यो । यस्ता साना आचरण हामी आफैंले सुधार गर्ने हो । यसका लागि विदेशी आएर प्रोजेक्ट बनाउन त सक्लान्, तर त्यसले काम गर्दैन ।

धेरैले मोबाइल र सामाजिक सञ्जालमा धेरै समय खर्च गर्ने गरेको सुनिन्छ, देखिन्छ । यसलाई बचाउन आवश्यक छ । हरेकको मोबाएल फोन र सामाजिक सन्जालमा बितेको समय एकिन गर्नुपर्छ । यीनीहरुको प्रयोगै नगर्ने भन्ने त होइन, कति समय खर्च भएको छ भन्ने विषयले अर्थ राख्छ । किनकि यसमा समय बढी जानु भनेको अन्य कार्यका लागि समय नपुग्नु हो । कार्यालय समयमा मोबाएलको प्रयोग छोटो संबादका प्रयोग गरेर समय बचत गरेको राम्रो । अहिलेको अवस्थामा मोबाएल फोन नउठाउने वा प्रयोग नै नगर्ने भन्न त नसकिएला, तर सार्बजनिक पदमा रहनेले सकेसम्म छोटो कुरा गर्ने संस्कार अहिले चाहिएको छ । कुराकानीभन्दा मेसेज गरेर काम गर्ने पद्दति बसाल्नुपर्छ ।

यसैगरी अर्को सानो काम जुन समय र स्रोत दुवैसँग सम्बन्धित छ । कार्यालय कोठामा सोफा सेट राख्नु पर्ने चलन कहिलेदेखि चल्यो होला ? कुनै कोठालाई पालो पर्खने स्थान र आराम गर्ने स्थान भनेर सोफा सेट राख्नु त ठीकै होला, तर कार्यालयका हरेक कोठामा सोफा सेट किन चाहिएको होला ? कार्यालय प्रमुखको कक्ष किन बैठक हल जत्रै कोठामा राख्नु परेको होला ? बैठक बस्नुपर्ने भएमा बैठक हल छुट्टै राख्दा के फरक पर्ला ? यो चलन पञ्चायतका पनि थियो, बहुदलदेखि लोकतन्त्र हुदै गणतन्त्र सम्म पनि कायमै छ । काम गर्ने तौरतरिका विगतको निरन्तरता, अनि अपेक्षा गर्छौ सुधारको । आफू नबदलिने, कार्यशैली नदबल्ने अनि सुधार अरुबाट हुन्छ भनेर सोच्नु नै परिवर्तनको बाधक हो । परिवर्तन गर्न वा सुधार गर्न त आफैबाट शुरु गर्नुपर्छ । हरेक कार्यालयका कोठामा रहेका सोफा सेटमा अब मुलुकले थप खर्च नगर्ने हो भने पनि यसबाट ठूलो रकम बचत गर्न सकिन्छ । कार्यालय कोठा भनेको काम गर्ने स्थान हो, न कि आराम गर्ने । तसर्थ अब गर्नैपर्ने अर्को सानो सुधार भनेको कार्यालय कोठाबाट सोफा सेट हटाउने हो । बैठक सोफामा बसेर होइन कि कुर्सीमा बसेर गर्नुपर्छ ।

जबसम्म समयको मामिलामा हामी संवेदनशील बनी सोहीअनुसार आफूलाई बदल्दैनौ, परिवर्तनको गुन्जाइस छैन । यसमा सुधार्नका लागि हरेक माथिल्लो तहको पदाधिकारी संवेदनशील बन्नु सक्नुपर्छ

यसो भनिरहँदा हरेक व्यक्तिलाई लाग्न सक्छ, सुधारका काम त माथिबाट शुरु गर्नुपर्छ । यस्तो होइन । प्रत्येक व्यक्तिले दिनमा उपलब्ध १४४० मिनेटमा न्यूनतम समय कटाएर बाँकी रहेको समयलाई उत्पादनमूलक काममा कसरी लगाउन सकिन्छ भनेर सोच्नु आवश्यक हुन्छ । सार्बजनिक पदमा बस्नेले अझ बढि मात्रामा सोच्नु र समय व्यवस्थापन गर्नेमा लाग्नुपर्छ । कुनै काम कम उत्पादनमूलक लाग्यो भने त्यसलाई आफ्नो कार्यसूचबिाट हटाउन सक्नुपर्छ । बोलाएको सबै स्थानमा जान सकिदैन, सबै बैठकमा जान सकिदैन्, बोलाएका जति सबै विद्यालय उद्घाट्न गर्न सकिदैन् भन्न सक्नुपर्छ र जानु पनि हुदैन् ।

समय बचत हुने भनेको यस्तै कार्यबाट हो । हरेक बैठक कम समयमा अझ बढी उत्पादनमूलक कसरी बनाउने भनेर सोच्नैपर्छ । यसरी बचत हुने समयलाई अर्को महत्वपूर्ण र उत्पादनमूलक कसरी लगाउने भनेर सोच्नुपर्छ । सार्बजनिक पदाधिकारीले समय व्यवस्थापन गर्न नसक्दा सो को असर आफूलाई मात्र पर्ने होइन समग्र मुलुक र सेवाग्राहीलाई परिरहेको हुन्छ, मुलुकले मूल्य चुकाइरहेको छ भनेर बुझ्नु र बुझाउनु पर्छ । कसरी समय व्यवस्थापन हुन सक्छ भन्ने बारेमा निजी क्षेत्रबाट अनुसरण गर्दा पनि बिग्रदैन । सरकारी र सार्वजनिक दुवै निकायले निजी क्षेत्रबाट सिक्दा राम्रै हुन्छ ।

विद्यालय शिक्षामा अध्ययन गरेका धेरै कथा कविता अहिले सम्झनामा छैनन्, बिर्सिइए । तर कतिपयको सार भने अहिलेसम्म दिमागमा रहेको छ । एउटा प्रसंग जुन मेरो दिमागमा छ र अहिले गरेको बहससँग पनि मिल्न खोज्छ । त्यहि भएर त्यसलाई यहाँ प्रस्तुत गरिएको छ । माध्यमिक तहको नेपाली विषयमा कालु र काल वा यस्तै अन्य कुनै शीर्षकमा एउटा कथा थियो । घटनाक्रममा दाउरे (कालु)ले काललाई आफ्नो घर नजिकको गोठमा बन्दी बनाउँछ । धेरै समयसम्म काल सम्पर्कमा नआएपछि भगवान स्यवम् कालको खोजीमा निस्कन्छन् । एउटा व्यक्तिको घरमा बन्दी अवस्थामा रहेको काललाई छोडाउन भगवान आफैं आउँछन् र अब राम्रोसँग बुझेर काम गर्न आदेश दिन्छन् । तर कालले भगवानसँग बिन्ती बिसाउँछ ‘प्रभु, म अब यो काम गर्न सक्दिनँ’ । प्रत्युत्तरमा भगवानले भन्छन् ‘यदि यो सृष्टिलाई चलाइराख्ने हो भने सबैले आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।’

यस कथाको वास्तविक मर्म मैले अहिले आएर बुझेको जस्तो महसुस हुन्छ । सृष्टि चल्नका लागि सबैले आफूलाई तोकिएकै काम गर्नुपर्ने रहेछ । प्राकृतिक कार्यहरु सोही रुपमा चल्न दिनुपर्ने रहेछ । अरुको भन्दा बढी आफ्नो काममा ध्यान दिनुपर्ने रहेछ ।

प्राकृतिक इकोसिस्टममा बाघले घाँस खादैन भन्ने गरिन्छ (अपवादको रुपमा औषधीको प्रयोजनका लागि बाघले घाँस खान्छ भन्ने पनि गरिन्छ) । घाँस खाँदा इकोसिस्टम खलबलिन्छ भन्ने बाघलाई थाहा छ छैन भन्न सकिएन, तर उसले प्राकृतिक नियम पालना गरेकै हो । यसैगरी अहिले सार्वजनिक पद धारण गरी बाघकै अवस्थामा रहेकाले सोहीबमोजिम आफूलाई तोकिएका कार्य गर्नैपर्छ । यो वा त्यो बहानामा छुट पाउने अवस्था रहनु हुँदैन । यही नै प्राकृतिक नियम हो । घाँस खानेले घासमा ध्यान लगाएजस्तै आफ्नै काममा ध्यान लगाउने हो । प्रकृतिको यस्तो नियम हामीले पालन गरेनौ, जानेर नजानेर भत्काएका छौँ किनकि हामी अहिले आफ्नो काम छोडि अन्यत्र बहकिएका छौं । बाघले घाँस खाँदा प्राकृतिक रुपमा रहेको इकोसिस्टम खल्बलिएजस्तै हामीले आफ्नो मूल जिम्मेवारीभन्दा परको काम गर्दा शिक्षा वा अन्य प्रणालीभित्र रहेको इकोसिस्टम खलबलिन्छ । जब इकोसिस्टम खलबलिन्छ, अनि जवाफदेहीताको संयन्त्रले काम गर्न छोड्छ, स्रोतको अनावश्यक दोहन बढ्न जान्छ, बेथिती बढ्छ । यी र यस्तै कार्यबाट मुलुकले ठूलो मूल्य चुकाइरहनुपर्छ ।

हरेक सार्वजनिक निकाय र पदाधिकारीले माथिका र यस्तै अन्य थुप्रै विषयमा सोचेर सुधारको कार्य शुरु गर्ने हो भने आम नागरिकले पाउने सेवामा सुधार हुन्छ, समयमा काम हुन्छ । सार्वजनिक स्रोतको बचत हुन सक्छ, जसलाई अन्यत्र लगाउन सकिन्छ । यस्ता साना काममा सुधार गर्न ठूलो कानुन आवश्यक नपर्न पनि सक्छ । किनकी कानूनबाट यस्को समाधान खोज्दा धेरै समय लाग्न सक्छ । सामान्य कार्यविधीबाट पनि यस्ता कार्य हुन सक्छन् । हरेक सार्वजनिक पदाधिकारीले समय डायरी तयार गरी प्रत्येक महिना सोको सार्वजनिक गर्ने र आफैंले पुनरावलोकन गर्ने संस्कार बसाल्न सके पनि धेरै हुन्छ ।

यी माथी भनिएका कार्यहरु अरुलाई देखाउने सुधारका विषय होइनन् । यो त आफूलाई सुधार्नका लागि हुनुपर्छ । सुधारका लागि आफू प्रतिबद्ध नहुने हो भने यसमा हात नहाल्दा हुन्छ । सुधार तल, माथि वा दुवै तिरबाट शुरु गर्न सकिन्छ भन्ने गरिन्छ । तर, हाम्रो जस्तो पदसोपान श्रृङ्खलामा रहेको रहेको समाज र साँस्कृतिक रुपमा प्रिअक्कुपाइड माइन्ड सेटमा रहेको व्यक्ति रहेको अवस्थामा माथीबाट शुरु गरिने सुधारको प्रयासले तल्लो तहमा छिटो प्रभाव सिर्जना गर्न सक्छ । समय पालना र बचतको संस्कार पनि माथिबाट शुरु गर्न सके उत्तम हुन्छ ।

सार्वजनिक पद धारण गेरका व्यक्तिले सेवाग्राहीको समयमा ध्यान दिइ आफ्ना कार्यलाई सोही बमोजिम समायोजन गरे मात्र पनि अवस्थामा धेरै सुधार हुन्छ । हरेकले आफ्ना कार्य वा व्यवहारका कारण अरुमा यस्तो असर परेको छ भनेर आत्म समीक्षा गर्नु आवश्यक हुन्छ । म कुनै कार्यक्रममा एक घण्टामात्र ढिला पुग्दा अरुको कति समय ढिला हुन्छ भनेर गरिने विश्लेषणले सचेत बनाउन सहयोग गर्छ ।

यसबारेमा मनन गर्ने हामीमध्ये कति छौं ? ३० जनामात्र सहभागी हुने कुनै कार्यक्रममा एक घण्टा ढिलो पुग्दा प्रमुख अतिथिको एक घण्टा मात्र जाने होइन मुलुकको ३० घण्टा र ती ३० जनाले कुराएको अन्य कैयौंको समय खेर गइरहेको हुन्छ । जबसम्म समयको मामिलामा हामी संवेदनशील बनी सोहीअनुसार आफूलाई बदल्दैनौ, परिवर्तनको गुन्जाइस छैन । यसमा सुधार्नका लागि हरेक माथिल्लो तहको पदाधिकारी संवेदनशील बन्नु सक्नुपर्छ ।

मानिसले मेसिनले जस्तै समय व्यवस्थापन गर्न त नसक्ला, तर व्यवस्थापन गर्न सकिने जति समय व्यवस्थापन गर्दै जाने हो । हरेक माथिल्लो तहले कुनै कार्यक्रममा समय दिनुभन्दा अगाडि सो काम आफ्नो कति प्राथमिकतामा राख्नु पर्ने हो, अर्को काम कस्तो छ ? त्यहाँ नजाँदा के असर पर्छ र जाँदा के लाभ हासिल हुन्छ भनेर आँकलन गर्नुपर्छ । यसो गर्न सकेमा अन्य तहमा समय व्यवस्थापन गर्न थप दबाव सृजना हुन्छ । अनि परिवर्तन देखिन्छ, परिवर्तन महसुस हुन्छ । हेर्दा सानो काम तर त्यसबाट महसुस हुने खालका ठूला परिवर्तन यसबाट आउन सक्छन् ।

(डा. लम्साल शिक्षा मन्त्रालयका सहसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment