Comments Add Comment

अनुगमन गर्ने भन्दै धम्कीपूर्ण फोन आउन थालेको ब्यवसायीको गुनासो

सरकार भन्छ : ब्यवसायीले हल्ला चलाए

Photo Credit : फाइल तस्वीर

२९ असार, काठमाडौं । मुख्य चाडपर्व नजिकिएसंगै सरकारले हरेक वर्ष बजार अनुगमन गर्ने गर्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले टोली खटाएर विभिन्न व्यवसायको अनुगमन गर्ने गरेको छ ।

तर अनुगमन सुरु नहुँदै धम्कीपूर्ण फोन आउन थालेको व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले अनुगमन गर्ने व्यवसायको लिस्टमा नाम परेको छ भनेर केही व्यक्तिले ‘तयारी गर्न’ भन्दै फोन गर्न थालेको एक होलसेल ब्यापारीले बताए । उनले फोन कहाँबाट कसले गरेको भन्ने खुलाएनन् । उनले भने ‘के तयारी गर्न भनेका हुन् अचम्ममा परेका छौं ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई अनुगमन धम्की आएको स्वीकार गरे । मुख्य चाडवाड नजिकिएसँगै सरकारले बजार अनुगमन गर्ने गरेको छ । तर बजार अनुगमन सुरु नहुँदै व्यवसायीलाई धम्कीपूर्ण फोन आएको भन्दै गुनासो आउन थालेको श्रेष्ठको गुनासो छ ।

श्रेष्ठका अनुसार एक होलसेल व्यवसायीलाई केही दिन पहिले आएको फोनमा तपाई यस वर्षको अनुगमन लिस्टमा पर्नुभएको छ, तयारी गर्नुहोला भनिएको थियो । सरकारले गठन गरेको अनुगमन टोलीको सदस्य हुँ भन्दै फोन गरेको श्रेष्ठको भनाइ छ ।

व्यवसायीले गलत हल्ला गरे : वाणिज्य विभाग

बजार अनुगमनको प्रमुख निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने व्यवसायीले झुटो प्रचार गरेको बताएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले यदि यो घटना सत्य हो भने फोन गर्ने व्यक्ति वा संस्थाको विवरण आफूलाई दिन व्यवसायीलाई चुनौती दिए । विभागको प्रतिनिधिले नियमित अनुगमन भइरहेको भन्दै गौचनले अनुगमनपूर्व सूचना चुहाउनेलाई कारबाही गरिने बताएका हुन् ।

महानिर्देशक गौचनका अनुसार अहिले बजार अनुगमनको काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, नाप तौल तथा जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको छ ।

सरकारले उपभोक्ता हितका लागि कडाईका साथ काम थाले पछि व्यवसायीले पहिल्यै हल्ला चलाएको हुन सक्ने पनि उनले बताए ।

नाम र नम्बर दिनुस् : मन्त्री यादव

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले धम्कीपूर्ण फोन गर्नेको नाम र नम्बर उपलब्ध गराउन आग्रह गरेका छन् ।

गलत गर्ने व्यवसायिक फर्म वा कम्पनीमाथि राज्यले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने भन्दै मन्त्री यादवले अनुगमनकै नाममा नियमकले पनि बदमासी गर्न नपाउने बताए । ‘राज्यको कानून सबैले मान्नै पर्छ उपभोक्ता अन्यायमा पर्नु हुन्न’ मन्त्री यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment