Comments Add Comment

एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध (सूचीसहित)

३० असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग र कर्णाली राजमार्गमा यातायात ठप्प हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

मकवानपुर र काठमाडौं जोड्ने सडक सोमबार बिहान ४ बजे एकतर्फी खुले पनि सोमबार बिहान करिब ७ बजेबाट पुनः बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी खोला नजिक पहिरो आएका कारण फाखेल-काठमाडौं सडक पुनः बन्द भएको हो । मकवानपुरकै सिस्नेरी फर्पिङ सडकखण्ड पनि बन्द छ ।

प्रहरीको विवरणअनुसार बेनी-जोमसोम, बेसिशहर-मनाङ सडकखण्ड असार २७ गतेदेखि नै बन्द छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ मा बाढीका कारण जाँदा सिद्धिचरण राजमार्ग पनि बन्द छ ।

२७ गतेदेखि बन्द ललितपुरको भट्टेडाँडा आग्राङ टुङ्गन जाने शान्ति लोकपथ पनि बन्द नै छ ।

सिन्धुलीको फिकल गाउँपालिका ६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो आएका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ ।

भोजपुरको भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भिरमा पहिरो जाँदा भोजपुर-धनकुटा सडक बन्द भएको छ ।

रौतहटको चपुर-गौर सडकखण्ड र महात्तरीको जलेश्वर-जनकपुर सडकखण्ड पनि अवरुद्ध छ ।

महोत्तरीको बर्दिवासमा पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । बर्दिवास नगरपालिका १ र ४ जोड्ने भप्सी खोलाको पुल बाढीले बगाएपछि अवरुद्ध भएको सडक डाइभर्सन गरेर खुलाइएको थियो । तर खोलामा पानीको बहाव बढेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पुनः बन्द भएको छ । आइतबार दिउँसो १ बजेबाट खुलेको यो सडक सोमबार बिहान २ बजेबाट पुनः अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुर्खेत-कालिकोट-जुम्ला जाने कर्णाली राजमार्ग २८ गतेदेखि नै बन्द छ । कालिकोटको शुभकालिका गाउँपालिका १ स्थित गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्गमा आवात-जावत ठप्प भएको हो ।

रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि आइतबारबाट मन्थली-काठमाडौं आवात जावत सुरु भएको छ ।

यसैगरी धनकुटाको पाखि्रबास नगरपालिका ५ स्थित हिले भोजपुर सडकखण्ड पनि आइतबारबाटै खुलेको छ ।

हेर्नुहोस् यो विवरण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment