Comments Add Comment

‘डिप्रेशन र काममध्ये काम नै रोजेँ’: कामेश्वर चौरासिया(भिडियोसहित)

‘अझै पनि फिल्मको अफरको प्रतिक्षामा छु’

केही समय अगाडि कलाकार कामेश्वर चौरासियाले अनलाइनखबरसँगको एक अन्र्तवार्तामा आफूसँग चिया पिउने पैसा समेत नभएको गुनासो गरे । कामेश्वरले यो गुनासो गरिरहँदा उनको मनमा अझै आशा थियो कि, चलचित्रकर्मीले उनलाई अफर गर्नेछन् । तर, भैदिएन त्यस्तो । उनको आशा निराशामा बदलियो । चलचित्रबाट अफर आउने आशामा बस्दा बस्दै कामेश्वरसँग २ वटा विकल्प रहन पुगे । उनी सुनिन्छन्–‘मसँग २ वटा मात्र विकल्प थियो । एउटा डिप्रेशन, अर्को काम ।’ कामेश्वरले काम रोजे ।

काम नै नपाएर डिप्रेशनको शिकार हुनुभन्दा दश औला चलाएर केही काम गर्ने अठोट बोकेपछि उनले आफ्नै बाबुसँग ३–४ लाख सापटी मागे । उनीसँग व्यवसाय गर्ने रकम थिएन । चलचित्रबाट कमाउनुएन, कामेश्वर भन्छन्–चलचित्रको कमाई कहाँ त्यसरी हुन्छ ? एकैचोटी रकम कहाँ आउँछ ? कती कमाइयो कती सकियो थाहा नै भएन ।’

कामेश्वरले तिनकुनेबाट शंकमुलतिर जाने बागमती कोरिडोरको छेउमा नयाँ पेशा सुरु गरेका छन्, ‘माछा तारेर वेच्ने’ । उनले रहरले होइन, वाध्यताले यो पेशा सुरु गरेका थिए । तर, अहिले उनका लागि यही पेशा विस्तारै नशा बनेको छ ।
उनी भन्छन्–‘मैले पकाएको खाना दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की सबैले मन पराएका थिए । उनीहरुले मैले पकाएको खानाको तरिफ पनि गर्थे । अझ, तारेको माछाको झनै तारिफ हुन्थ्यो । त्यसैबाट पनि उत्साहित भएर माछा तार्ने निष्कर्षमा पुगेँ ।’

कामेश्वरको छेवैमा निर्देशक गणेशदेव पाण्डेको चिया पसल ‘चियावाला’ छ । कामेश्वरलाई यो काममा प्रभावित गर्ने अर्का व्यक्ती गणेशदेव पनि हुन् । ‘गणेश दाईले चिया बेचिरहनु भएको छ त मैले पनि माछा बेच्न सकिहाल्छु नि भन्ने उर्जा आयो’, उनी थप्छन्–‘गणेश दाईलाई हेरेर पनि मैले यो काम सुरु गरेको हुँ ।’

उनले यो व्यवसाय सुरु गरेको २ महिना जस्तो भयो । महिनाको २३ हजार सटर भाडा तिर्छन् । ग्राहक दैनिक बढिरहेको र तारेको माछाको प्रशंसा पनि गरिरहेकाले उनी आशावादी देखिएका छन् । कामेश्वर भन्छन्–‘काठमाण्डौमा धेरै माछा तार्ने ठाउँहरु होलान् । तर, अन्य ठाउँमा भन्दा मैले तारेको माछा निकै मिठो छ ।’

कतिपय ग्राहक कामेश्वरलाई चिनेर त्यहाँ आउँछन् । कतिपयले त्यहाँ आएर चिन्छन् । कतिपय आएर पनि अलमलमा पर्छन् । कामेश्वरले भने–‘म कलाकार भएका कारण पनि यो व्यवसायलाई फाइदा नै भएको छ ।’ कामेश्वर आफू कामेश्वर भएकोमा नै सन्तुष्ट छन् । चलचित्रको पर्दामा अभिनय गर्दा र यसो काम गर्दा कामेश्वरको सन्तुष्टी केमा त ? उनले सुनाए–‘म केमा सन्तुष्टी मिल्छ भन्ने सोचेर काम गर्दिनँ । जे काम गर्छु त्यसैमा सन्तुष्टी खोज्छु ।’

चलचित्र क्षेत्रमा काम पाउन छोडेपछि प्रायः कलाकारहरु विदेश पुग्छन् । तर, आफूलाई विदेश जाने कुनै सोच नआएको कामेश्वर बताउँछन् । उनले भने–‘म नेपालको धेरै कुराहरुबाट प्रभावित छु । केही गर्छु त यहाँ नै गर्छु । विदेशमा गएर दुःख गर्ने मन छैनँ ।’

तर, कामेवश्वरको विदेश जाने सपना अर्कै प्रकारको छ । आफ्नै आँखा अगाडिबाट उडिरहेका जहाज देखाउँदै उनी सुनिन्छन्–‘मलाई कुनै चलचित्रको रेड कार्पेट प्रिमियरमा विदेश जाने सपना ठूलो छ । यो सपना अझै पनि छ । थाहा छैन कहिले पुरा हुन्छ ।’

माछा तार्दै गर्दा कामेश्वर कहिलेकाही फिल्मी संवाद बोल्छन् । उनको संवादमा सपना मिसिन्छ । चलचित्रको अफर आएर फेरि व्यस्त हुनुभयो भने यो व्यवसायकलाई के गर्नुहुन्छ, उनी भन्छन्–‘ यो व्यवसायलाई अझै व्यवस्थित गरेर अगाडि लैजानेछु । म नभएर पनि काम गर्ने राखेर भए पनि यो व्यवसायलाई छाड्ने छैनँ ।’

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment