Comments Add Comment

मेलम्चीको पानी बाँड्ने प्रणालीको लागि चौथो पटक ठेक्का

२२ साउन, काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएपछि त्यसलाई वितरण गर्ने वैज्ञानिक प्रणाली विकास गर्ने सरकारको तेस्रो प्रयास पनि असफल भएको छ । तीन पटक टेन्डर गर्दा पनि कम्पनी छानिन नसकेपछि खानेपानी व्यवस्थापनको ‘स्काडा’ प्रणालीमा जान बुधबार चौंथोपटक टेन्डर भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना विकास निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार पहिलो र दोस्रोपटक भएको टेन्डरमा कुनै योग्य कम्पनीको आवेदन नै परेन । प्राविधिक योग्यता नै नपुगेपछि दुई पटकको टेन्डर प्रक्रिया पुरा भएन । सहभागी कम्पनीको आर्थिक मूल्यांकन नै नभई प्रक्रिया स्थगित गरेर तेस्रोपटक टेन्डर निकालिएको थियो ।

तेस्रोपटक भएको टेन्डरमा एउटा कम्पनी योग्य देखिएको थियो । तर, अनुमानित भन्दा १०५ प्रतिशत बढी मुल्यमा ठेक्का बोल कबोल भएको पाइएपछि तेस्रोपटक पनि आयोजनाले कम्पनी छान्न सकेन । बुधबार फेरि चौथोपटक यसकै लागि टेन्डर भएको छ, तर आयोजनाका अधिकारीलाई यसपटक पनि कुनै समस्या आउने हो कि भन्ने पीरोलो छ ।

यो प्रणाली जडानका लागि एसियाली विकास बैंकले ५० करोड ऋण सहयोग गरेको छ । यो टेन्डर प्रक्रिया पुरा गर्न अनुमानित ६ महिना लाग्छ । त्यसपछि कम्पनी छानिएर सम्झौता भएको २ वर्षसम्म प्रणाली जडानकै लागि समय लाग्ने प्रमुख खत्रीले बताए ।

सरकारले हाल एक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने दावी गरेको छ । तर, काम अघि नबढेकाले २ वर्षमा पनि मलेम्चीको पानी आउने÷ नआउने निश्चित छैन ।

तर, स्काडा जोड्नुअघि नै पानी ल्याउनुपर्ने भए हालकै जस्तो ‘चावी चालक’हरुले नै पानी खोल्ने र बन्द गर्ने गर्नुपर्ने छ । त्यसका लागि झण्डै ५ सय जनशक्ति आवश्यक पर्ने भएकाले चुनौतिपूर्ण हुने केयूकेएलको भनाइ छ ।

के हो ‘स्काडा’ प्रणाली ?

‘स्काडा’ खानेपानीलाई एउटै कक्षबाट नियन्त्रण गरिने प्रणाली हो । नियन्त्रण कक्षकै कम्प्युटरबाट कहाँ कति पानी बगिरहेको छ भन्ने यो प्रणालीबाट थाहा पाउन सकिन्छ । यो प्रणाली जडान गरेपछि ‘मिटर रिडिङ’ बाहेकका काम स्वचालित रुपमा गर्न सकिन्छ ।

‘अटोमेसन’ समेत भनिने यो प्रणाली हाल नेपालको रुपन्देही र नवलपरासी जिल्लामा जडान गरिएको छ । रुपन्देहीको करैया मक्राहार खानेपानी आयोजनामा १५ हजार जनसंख्या र नवलपरासीको मुकुन्दपुर खानेपानी आयोजनामा ३० हजार जनसंख्यालाई वितरण गरिएको पानीमा यो प्रणालीको व्यवस्था गरिएको छ ।

स्वचालित प्रणालीबाटै ग्राहकको धारामा कति पानी खपत भयो भन्ने थाहा पाउन सकिने प्रविधिको विकास भइसकेको छ । चीनको संघाई, जापानको योकाहामा र दक्षिण कोरियाको सियोल सहरमा यस्ता प्रणाली जडान भएको छ ।

स्वचालित प्रणालीबाट कहाँ ट्याङ्की छ ? पाइप, भल्भ कहाँ छन् र कहाँको वितरण प्रणालीमा के भइरहेको छ भन्ने कम्प्युटरमा क्लिक गरेर थाहा पाउन सकिन्छ । यसैले यो प्रणालीमा ३० लाख जनसंख्यालाई पानी व्यवस्थापन एवम् वितरणको काम गर्न १७० कर्मचारी भए पुग्छ ।

योजनाअनुसार सुरुआतमै अनामनगर, मीनभवन र महाँकालचौरका तीन पानीपोखरीमा यो प्रणाली जडान हुनेछन् । त्यसलगत्तै नयाँ निर्माण भएका महाँकालचौर (८० लाख लिटर), बाँसबारी (९५ लाख लिटर), पानीपोखरी (७५ लाख लिटर), बालाजु (७० लाख लिटर), खुमलटार (९५ लाख लिटर), आरुबारी (८५ लाख लिटर), कीर्तिपुर (६० लाख लिटर), कटुञ्जे (६० लाख लिटर) र भक्तपुरको टिग्नी (३० लाख लिटर)को पानीपोखरीमा स्वचालित ‘स्काडा’ प्रणाली जडान गरिनेछ ।

उपत्यकालाई ३१ क्षेत्र र ८३७ एकाइमा विभाजन गरी एउटै कोठाबाट पानी वितरणको अवस्था निरीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने निर्देशनालयको लक्ष्य छ । यसअनुसार क्षेत्र र एकाइको मिटर रिडिङ प्रणालीले नै गर्नेछ ।

मेलम्चीको पानी आएपछि पानी वितरण सजिलो बनाउन हाल निर्देशनालयले केयुकेएलको ग्राहक भएका घरधनीको मिटर जडानसम्मको काम निःशुल्क गरिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ साल फागुन १ गतेदेखि ३० वर्षका लागि उपत्यकाको खानेपानीको व्यवस्थापन नेपाल खानेपानी संस्थानबाट लिमिटेडलाई लिजमा दिएको छ । तर, कमजोर व्यवस्थापन र विभिन्न किसिमका विवादले केयूकेएलले पनि राम्रोसँग काम गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment