Comments Add Comment

बलियो भारत नेपालका निम्ति अनुकुल : परराष्ट्रमन्त्री ज्ञवाली

२९ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत सम्बन्ध बलियो आर्थिक साझेदारीको जगमा मात्र प्रगाढ बनाउन सकिने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले दुई देश एकआपसमा दरिलो विश्वासका साथ सँगसँगै अगाडि बढ्ने बताए । उनले भने, ‘बलियो भारत नेपालका निम्ति अनुकुल हो, समृद्ध भारत नेपालका निम्ति अवसर हो । बलियो र समृद्धि नेपाल भारतका निम्ति पनि अवसर हो ।’

पछिल्लो १५ महिनामा नेपाल र भारतका प्रधानमन्त्रीले चार पटक भेटेको भन्दै उनले भने, ‘यसले हाम्रो अगाडिको यात्रा कसरी तय हुन्छ भन्ने ब्लू प्रिन्ट तयार भएको छ ।’

सन् १९९६ मा भएको वाणिज्य सन्धि पुनरावलोकनका लागि दुई देशबीच कुराकानी भइरहेको र नेपालको चासोमा भारतको सकारात्मक रहेको उनले बताए । यस्तै ब्यापार तथा पारवहन सन्धी पुनरावलोकनका लागि कुराकानी भइररहेको बताए ।

उनले अरुण तेस्रोसँगै माथिल्लो कर्णाली जलविद्युत आयोजना छिट्टै सुरु हुने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘पञ्चेश्वर अलिकति अड्किएको छ । यसलाई कसरी टुंगोमा पु¥याउन सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’

नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारी भइरहेको बताए ।

दुई देशबीच विगतमा भएका सन्धि सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताए । उनले भने, ‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं ।’

विराटनगर चेकप्वाइन्ट सुचारु हुन गइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना द्रुत गतिमा बढिरहेको बताए । उनले भने, ‘गेम चेन्जर आयोजनाहरु सफल बनाउँदैछौं ।’ दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्योगधन्दा खोलिनुपर्नेमा जोड दिए ।

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको अवसर भएको बताए । यसलाई खेर फाल्न नहुनेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment