Comments Add Comment

कर तिर्न महानगरले फिल्म हललाई दियो १५ दिने अल्टिमेटम

२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन शुल्कवापतको कर तिर्न फिल्म हलहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । काठमाडौंमा सञ्चालित अधिकांश फिल्म हलहरुले यस्तो कर नतिरेको महानगरले जनाएको छ ।

महानगरको राजस्व विभागले भदौ १७ गतेसम्मको समय दिएर सम्पर्कमा आउन हलहरुलाई सूचना जारी गरेको हो । काठमाडौं महानगरभित्र ४२ वटा सिनेमाघर छन् । जसमध्ये गएको बर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरे ।

राजस्व jlभागका प्रमुख नुरनिधि न्यौपाने भने, ‘टिकट बिक्रीसँगै संकलन हुने मनोरञ्जन शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं ।’

उनका अनुसार गएको बर्ष ४ वटा हलबाट मनोरञ्जन वापतको शुल्क १९ लाख रुपैयाँ संकलन भएको थियो । प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम हलहरुले टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

‘यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नुपर्ने कर तिर्नसमेत चासो देखिएन,’ विभागीय प्रमुख न्यौपानेले थपे, ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment