Comments Add Comment

पहिचान खोज्दै काठमाडौंका ‘नेवार–मुसलमान’

अगष्ट २००४ मा कामको सिलसिलामा इराक पसेका १२ जना नेपालीलाई बन्दक बनाएपछि हत्या गरिएको घटनाले नेपाल शोकमग्न थियो । काठमाडाै‌ंलगायतका सहरमा विरोधको ज्वाला दन्किएको थियो । त्यसबेला नेपालमा रहेका केही मुसलमानमाथि भीडबाट आक्रमणको प्रयास भयो । केही मस्जिद पनि तोडफोड गरियो । यस्तो असहज परिस्थतिमा काठमाडौंका मुस्लिम समुदायले असहज परिस्थतिको सामना गर्नुपर्‍यो ।

काठमाडौंको असनमा विगत २३ वर्षदेखि पोते बेचेर आफ्नो पुर्ख्याै‌ली पेसालाई अँगालेका जाहागिर हुसेन पनि अछुतो रहेनन् । विराटनगरमा जन्मिएका हुसेनको पुर्ख्याै‌ली घर डिल्लीबजार हो । उनी सम्झन्छन्, ‘घरबाट बाहिर निस्किनेसमेत अवस्था थिएन । ढुंगामुडा र तोडफोड भयो । इस्लाम धर्मले कहिल्यै पनि अरुलाई काटमार गर्ने, दुःख दिने जस्ता कुरा सिकाउँदैन । इस्लाम इज साइन अफ पिस ।’

इराकमा नेपालीलाई मार्नेहरु आतंककारी थिए, जसको कुनै जात र धर्म हुँदैन । त्यहाँ नेपालीहरु मारिएको घटनाबाट दुःखी हुँदै जाहगिर भन्छन्, ‘त्यो दर्दनाक हत्याले मन नरोएको मान्छे को होला ? हामी सारै दुःखी भयाैं । देशका विभिन्न ठाउँमा आन्दोलन भएकाले कर्फ्यु पनि लगाइयो । हामीले धेरै दिनसम्म पसल बन्द राख्यौ ।

नेवार मुस्लिम समाज बनेको धेरै समय भएको छैन । नेवारभित्र फरक संस्कृति र संस्कार मात्र छैन, फरक धर्म मान्नेहरु पनि छन् । नेवार वस्तीहरुको वीचमा कुनै न कुनै मुसलमानको एउटा घर हुन्छ नै

आंतककारीहरुको त्यो निर्ममताले अहिले पनि झास्काउँछ । ती १२ जना हाम्रा नेपाल आमाका सुपुतहरुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यो कठिन परिस्थितिमा हामीलाई हाम्रा छरछिमेकका नेवार समुदायले शरण र सहयोग गरेको पनि सम्झन्छु ।’

प्रायः नेवारहरु बौद्ध र हिन्दु धर्म मान्नेमा पर्दछन् । जब भाषाको कुरा आउँछ, प्रायः जो काठमाडाै‌ंमा पहिलादेखि नै बस्दै आएका छन्, उनीहरु सहजै नेवारी बोल्न सक्छन् । यही नेवार समाजमा हुर्किएको एक समूह हो– नेवा–मुस्लिम समाज ।

नेवार–मुस्लिम समाज बनेको धेरै समय भएको छैन । नेवारभित्र फरक संस्कृति र संस्कार मात्र छैन, फरक धर्म मान्नेहरु पनि छन् । नेवार वस्तीहरुको बीचमा कुनै न कुनै मुसलमानको एउटा घर हुन्छ नै ।

जब–जब मुसलमानहरुको कुरा उठ्दछ, आखिर उनीहरु कसरी काठमाडाै‌ं उपत्यका प्रवेश गरे त ? भनिन्छ कि मुसलमानहरुको आगमन लिच्छवीकालमा कश्मिरबाट भएको हो । उनीहरु व्यापारका सिलसिलामा काठमाडाैं प्रवेश गरेका थिए । काठमाडाैंमा चुरा, पोते, मेहेन्दी भित्र्याउने नै मुसलमानहरु हुन् । लिच्छवीकालमा भित्रिएका कश्मिरी मुसलमानहरु काठमाडाै‌ं उपत्यकामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । नेवार समुदायसँग रहेर व्यापार सञ्चार गर्दै आएका उनीहरु राम्रोसँग नेवारी भाषा बोल्न र बुझ्न सक्छन् ।

जंगबहादुरका पालामा जारी भएको मुलुकी ऐनमा मुसलमानलाई पानी नचल्ने जात बनाइएको थियो । जाहागिर हुसेनजस्तै इन्द्रचोकमा पोते पसल गर्ने सविर ऐहेमत सात पुस्तादेखि यही पेसामा कार्यरत छन् । उनी पनि इराक हत्यालाई सम्झन्छन् । उनी भन्छन्, “त्यसबेला निकै मानसिक तनाव भएको थियो । नेवार समाजले सहयोग नगरेको भए काठमाडौंमा हामीमाथि जे पनि हुन सक्थ्यो ।”

“हाम्रो समाज निकै नै सोचेको जस्तो कन्जरभेटिभ छैन । हामी हाम्रा छोराछोरीमा कुनै भिन्नता गर्दैनाैं । छोरीहरुलाई पनि पढ्न दिन्छौं, यतिसम्म कि दाइजोको परम्परा पनि हामीले मान्दैनाैं” सबिर भन्छन् ।

सबिर काठमाडौंमा प्रतिदिन ५ हजार रुपैयाँदेखि माथिको पोतेको व्यापार गर्छन् । पोते चेक रिपब्लिक, जापान, चाइना, आदि विभिन्न देशहरुबाट आयात गरिन्छ । धेरैजसो व्यापार चाडपर्व जस्तै– तीज, दशै‌ं, श्रावण महिनामा हुने गर्छ । अहिले सुनको मूल्य वृद्धि भएकाले पछिल्लो वर्ष भन्दा व्यापारमा कमी आएको छ । पोतेको मूल्य ५० रुपैयाँदेखि ३००० सम्मको रहेको छ ।
अहिले अधिकांश नेवार मुसलमानको व्यापार पोते नै हो । यसको केन्द्रविन्दु रहेको छ, इन्द्रचोक । जुन राखी बजार तथा कश्मीरी बजारका नामले परिचित छ । यस बजारमा अधिकांश ग्राहक भने हिन्दू हुने गर्दछन् । काठमाडाै‌ंमा मात्र नभई उनीहरु पाटनको मंगलबजार र भक्तपुरको गोलमठी, सुकुल ढोका वरिपरि पोतेको व्यापार गरेको पाइन्छ । उनीहरु जात्राहरु, जस्तै इन्द्र जात्रा र अरु विभिन्न जात्राहरुमा पनि संलग्नता जनाउँछन् ।

हालै भएको गुठी आन्दोलनमा पनि उनीहरुले आफ्नो सहभागिता जनाएका थिए । उनीहरुले समाजलाई भलो हुने कार्यजस्तै बाटोमा नि:शुल्क खानेपानीको व्यवस्थासमेत गर्दिएका छन् । त्यति मात्र नभएर इन्द्र चोक वरिपरिका सरसफाइ कार्यमा पनि संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment