Comments Add Comment

डिभोर्स : सामाजिक कलंक वा एक नयाँ सुरुवात ?

बिहे गरेको वर्षदिन नपुग्दै समीक्षाले श्रीमानसँगको सम्बन्ध सधैंका लागि टुंग्याइन् । अर्थात उनीहरुको सम्बन्ध विच्छेद भयो । समीक्षा खुसी छिन्, आफ्नो निर्णयमा । सन्तुष्ट पनि । उनको बुझाइमा जुन सम्बन्धले आफूलाई सुख र शान्ति दिँदैन, त्यो सम्बन्ध बोझिलो हुन्छ । जीवनभर बोझ बोकेर कसरी बाँच्न सकिन्छ र ?

त्यसो त उनी आत्मनिर्भर छिन् । रोजगारी गर्छिन् । हालै एक विवाह समारोहमा उनीसँग भेट हुँदा मैले जिज्ञासा राखें- वर्ष दिन नबित्दै उनले सम्बन्धविच्छेद गरेकोमा मान्छेहरुले के कस्ता टिप्पणी गर्छन् ? कत्तिपति विचलित नभई उनले पूर्ण आत्मविश्वासका साथ भनिन्, ‘जिन्दगी मेरो हो र सम्बन्ध विच्छेद नै यसको अन्त्य होइन ।’ उनको जवाफ घत लाग्यो । अरुजस्तै उनी स्वयंलाई घरभित्र बन्धक बनाएर बाँच्न चाहन्नन् ।

‘डिभोर्स’ अर्थात् सम्बन्धविच्छेद शव्द दाम्पत्य जीवनमाथि लाग्ने एक यस्तो दाग हो, जसलाई सम्बन्धित व्यक्तिले भुल्न चाहे पनि समाजले भुल्न दिँदैन । मान्छेका अनेक प्रश्नले उनीहरुको घाउ पुरानो हुन दिँदैन । मान्छेहरु उनीहरुको जीवनमाथि निकै चियोचर्चा गर्न थाल्छन् । उनीहरु सोध्छन्, ‘अब के गर्ने ?’, ‘विवाह गरिसकेपछि सम्बन्ध तोड्न हुँदैनथ्यो’, ‘महिला हौ, अब एक्लो जीवन कसरी बिताउँछौं ?’ यी तमाम प्रश्नहरुले सम्बन्ध विच्छेद गरेकाहरुलाई चैनसँग बाँच्न दिँदैनन् ।

हाम्रो समाजले विवाहलाई एक अनिवार्य आवश्यक्ता मान्छ । खासगरी जब युवतीको कुरा आउँछ, तब विवाह अपेक्षाकृत जरुरी मानिन्छ । विवाहलाई यसकारण अनिवार्य आवश्यक्ता मानिन्छ कि हरेक मान्छेलाई एक साथीको जरुरी हुन्छ, ताकि मानसिक रुपले, भावनात्मक रुपले आर्थिक रुपले र कठिन परिस्थितिमा साथ साथ खडा रहन सकोस् । समाजले विवाहलाई यसकारण पनि धेरै महत्व दिन्छ, ताकि छोरीले एक सम्मानजनक र ठोस जीवन बाँच्न सकुन् । तर, त्यही विवाह उनको जीवनको बोझ बनिदिन्छ भने उनी त्यो बोझ बोकिरहन सक्दिनन् । उक्त बोझलाई मिल्काउनु नै उचित ठान्छिन् ।

हुन त दाम्पत्य सम्बन्ध खल्लो बन्नु वा टुट्नमा महिला दोषी हुन् वा निर्दोष, समाजले उनलाई साधारण नजरले हेर्न बन्द गर्छ । सम्बन्ध विच्छेदपछि पुरुषको तुलनामा महिलाहरुलाई फरक दृष्टिले हेरिन्छ । महिलाहरुले एकतर्फ टुटेको दाम्पत्यको चोट झेलिरहेका हुन्छन्, अर्कोतर्फ मान्छेहरु उनीमाथि अनेक प्रश्न राख्दै मनोबल कमजोर बनाइरहेका हुन्छन् ।

म र समीक्षा सहभागी भएको विवाहमा आएकाहरुले पनि उनलाई अनेक अनेक प्रश्नहरु तेर्स्याइरहेका थिए । पहिले त उनी प्रश्नबाट बच्न प्रयास गरिरहेकी थिइन् । अन्त्यमा यही कुरा गरेर चुप लगाइदिइन् कि सम्बन्ध विच्छेदले उनी खुसी छिन् र, अब उनी नयाँ सुरुवात गर्दैछिन् ।

जवाफ त उनले घतलाग्दो दिइन् । तर, ती प्रश्नहरुले उनलाई भित्रभित्रै सताइरहेको थियो । यद्यपि उनी खुसी थिइन् । उनको मनस्थिति यस्तो थियो कि एकातर्फ मान्छेहरुले उनलाई सताइरहेका थिए, अर्कोतर्फ उनलाई हिम्मत र हौसला पनि दिइरहेका थिए ।

यस्तो मनस्थितिमा धेरै युवतीहरु छन् । कोही आफ्नो निर्णयले खुसी छन्, त कोही सम्बन्ध विच्छेदका कारण जीवनभर पीडा झेलिरहेका छन् । आर्थिक रुपले कमजोर वा अर्कामाथि निर्भर महिलाका लागि निश्चय पनि एक्लो जीवन सहज हुँदैन । यद्यपि आर्थिक रुपले सक्षम र कामकाजी महिला जो आफ्नो करिअरलाई बढी महत्व दिन्छन्, बन्धनमा अल्भिmरहन, विनाकारण नियन्त्रणमा रहन चाहँदैनन् । उनीहरु त्यस्तो सम्बन्धबाट बाहिर आउन नै उचित ठान्छन् ।

आफूमाथि भएको अत्याचारलाई चुपचाप सहनका साटो त्यससँग जुध्न र अत्याचारीलाई जवाफ दिने साहस गर्छन् । यस्ता महिलालाई समाजले हतोत्साही गर्नुको साटो उनलाई हौसला दिएर आफ्नो करिअरमा नयाँ ऊर्जा प्राप्त गर्नका लागि साथ दिनुपर्छ ।

सम्बन्ध विच्छेद गर्नु कुनै पाप होइन । हिंसा, अन्याय, क्रुरताको विरोध गरेर त्यसबाट मुक्त हुने बाटो हो । यसपछि पनि जिन्दगी अन्त्य हुँदैन । बरु नयाँ बाटो खोजेर अनन्त सम्भावनाहरुको खोजी गर्न सकिन्छ ।

बाँकी छ जिन्दगी, चाहिँदैन सहानुभूति

सम्बन्ध विच्छेदको निर्णय लिन एक कठिन काम हो, चाहे महिला होस् वा पुरुष । यद्यपि दाम्पत्य जीवन जब बोझिलो बन्छ तब त्यसबाट उम्कनु नै सही हुन्छ । एक महिला जब सम्बन्ध विच्छेदको निर्णय लिन्छन्, तब उनको लागि यो निकै चुनौतीपूर्ण हुन जान्छ । आमाबुवा, नातेदार, समाज सबैलाई पन्छाएर आफैंको लागि सोच्नु हिम्मतको कुरा हो । त्यसैले जब उनी यो निर्णय लिन्छन् तब उनलाई थाहा हुन्छ कि यो एकदमै महत्वपूर्ण निर्णय हो, जो उनको भविष्यको लागि राम्रो सावित हुनसक्छ ।

श्रीमानसँग छुटिनु सबैभन्दा दुःखद क्षण हो यसपछि महिलाको जिन्दगी फेरि पुरानै लयमा फर्किँदैन भन्ने सोचाइ गलत हो । विवाह टुटेपछि जीवनको कुनै अर्थ रहने छैन ? यस्तो पटक्कै होइन । सम्बन्धविच्छेदपछि पनि समीक्षा खुसी छिन् । आफ्नो भविष्यलाई देखेकी छिन् । आफ्नो सपना र महत्वकांक्षालाई पूरा गर्न जुटेकी छिन् । उनी एक नयाँ सिराबाट स्वयंलाई अगाडि बढाउन चाहन्छिन् । उनलाई के लाग्छ भने जसको जागिर वा पेशा व्यवसाय छैन, ती महिलाले पनि श्रीमान्सँग सम्बन्ध विच्छेद गरिसकेपछि जिन्दगीलाई बोझ मान्नु भएन । प्रयास गर्नुपर्छ, नयाँ सुरुवातका लागि ।

एक्लो महिलालाई मान्छेहरुले खराब दृष्टिले हेर्छन् वा सहानुभूतिको नजरले । यद्यपि अर्काको यस्तो सहानुभूति आवश्यक छैन । बरु उनको निर्णयलाई सम्मान गर्न जरुरी छ । सम्बन्ध विच्छेद गरेका वा श्रीमानबाट अलग भएका महिलालाई मान्छेको झूठो सहानुभूती होइन, उनको निर्णयप्रति सम्मानको भावना चाहिन्छ, जसले उनलाई अगाडिको जीवन बाँच्न सहज भइदियोस् ।

सरिताबाट भावानुवाद गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment