Comments Add Comment

यू-१९ एसिया कपको फाइनल खेल्न चाहन्छौं

अहिले म उमेर समूह (यू-१९) को अन्तिम प्रतियोगिता खेल्न श्रीलंका आइपुगेको छु । मेरोमात्र होइन, कप्तान रोहितकुमार पौडेलसहित धेरैको यो उमेर समूहको अन्तिम प्रतियोगिता होला । त्यसैले पनि यसलाई विशेष बनाउन चाहन्छौं, टेष्ट नेशनलाई हराउन चाहन्छौं, अनि एसिया कपको फाइनल खेल्न चाहन्छौं ।

त्यसभन्दा पहिले सिनियर टिमका केही अनुभव सुनाउँछु ।

****

म बाराको सामान्य परिवारमा जन्मिएको हुँ । मैले क्रिकेट खेल्न घरबाट भाग्नु परेन । बरु दाइ जटाशंकर (जो फास्ट बलर थिए, तर घुँडाको चोटका कारण खेल्न सकेनन्) को हात समातेर मैदानसम्म पुग्ने अवसर पाएँ । बाबाले क्रिकेट खेलेर केही हुँदैन भनिरहँदा दाइले हौसला दिइरहनुभयो । उहाँ ममार्फत आफ्नो सपना पूरा गर्न चाहनुहुन्थ्यो । माघ, २०७५ मा हामी दुवैको सपना पूरा भयो, म पहिलोपटक राष्ट्रिय टोलीमा पर्न सफल भएँ ।

यूएईविरुद्ध हुने एकदिवसीय र टी-२० सिरिजका लागि बन्द प्रशिक्षणमा पर्दा नै म उत्साहित थिएँ । किनभने यसका लागि मैले दुई वर्षदेखि मेहनत गरेको थिएँ । सिनियर टिमको प्रशिक्षणको पहिलो दिन म केही नर्भस थिएँ । सिनियर दाइहरुसँग छु, मेरो प्रदर्शन कस्तो होला, टिममा पर्न सक्छु कि सक्दिनँ भनेर मनमा कुरा खेलिरहृयो ।

दोस्रो दिनबाट सहज भयो । एक त दीपेन्द्र (सिंह ऐरी) सन्दीप (लामिछाने), रोहित (कुमार पौडेल) मेरा समकक्षी थिए । हामीले यू-१९ टिमबाट सँगै खेलेका थियौं । खान खान जानुपर्‍यो, जिममा जानु पर्‍यो भने म उनीहरुसँगै जान्थेँ ।

दाइहरुले पनि सहयोग गर्नुभयो । पारस (खड्का), ज्ञानु (ज्ञानेन्द्र मल्ल), बसन्त (रेग्मी) र सोमपाल (कामी) सबैले सहयोग गर्नुभयो । तिमीले राम्रो गर्न सक्छौं, डराउनु हुँदैन भन्नुभयो । त्यसपछि त मैले म सिनियर टिमको नयाँ सदस्य हुँ भन्ने पनि विर्सिए । तर यू-१९ र सिनियर टिमको भिन्नता बुझेँ । त्यसअनुसार आफ्नो मेहनतलाई पनि बढाएँ । टिम घोषणाको दिन नजिकियो । पर्छु कि पर्दिन होला भन्ने दोधारमा थिएँ । राष्ट्रिय टिमबाट खेल्ने सपना थियो । तर दाबेदार एकसेएक थिए ।

६ माघमा टिम घोषणा हुन्छ भन्ने थाहा भयो । त्यसले मेरो बेचैनी झन् बढ्यो । मोबाइलमा दाइको म्यासेज आयो, ‘बधाई छ भाइ’ । मेरो खुसीको सीमा रहेन ।

टिममा परेपछि सोमपाल दाइसँग कुरा गरेँ । आफ्नो मनमा भएका कौतुहलताहरु सुनाएँ । उहाँले आफ्नो अनुभव सुनाउनुभयो । केही सुझाव दिनुभयो । मेरो मन केही हलुका बनायो । अहिले पनि म धेरै कुरा सोमपाल दाइलाई सोधिरहेको हुन्छु, सुनाइरहेको हुन्छ ।

****

७ माघमा हामी यूएई उड्यौं । विमानमा बसिरहँदा पनि मेरो मनमा भने आँधी चलिरहेको थियो । पहिलो खेलमा मौका पाउँछु कि पाउँदिनँ ? टिममा परेँ भने पनि मेरो ब्याटिङ गर्ने पालो आउँछ कि नाई ? बलिङ गर्न पाउँछु कि नाई जस्ता प्रश्नैप्रश्न थिए । तर मनको एउटा कुनामा लागेको थियो, पहिलो खेलमा मौका पाउँछु । अनि योजना बनाएँ, पहिलो खेलमै राम्रो गर्नुपर्छ नत्र अरु खेलमा अवसर पाउन गाह्रो छ ।

११ माघमा घरेलु टोली यूएईविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा मैले राष्ट्रिय टिममा डेब्यू गर्ने भएँ । चाहेको जस्तै भयो, वर्षौंको सपना पूरा भयो । तर त्यो दिन हाम्रो ब्याटिङ चलेन । सातौंं नम्बरमा ब्याटिङ गर्न जाँदा सिनियर दाइहरु आउट भइसक्नुभएको थियो । दबावका बीच मैदान प्रवेश गरेको मैले पहिलो बलमा चौका हानेँ । तर तेस्रो बलमा अमिर हायतले एलबीडब्लु धरापमा पारे ।

हामीले ३३.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यौं, तीन विकेटले हार्‍यौं ।

डेब्यू खेलमा राम्रो प्रदर्शन गर्न नपाएपछि रातभर निन्द्रा लागेन । रुम पार्टनर ज्ञानु दाइ हुनुहुन्थ्यो । दाइलाई सोधेँ, म कसरी आउट भएँ ? उहाँले भन्नुभयो, तिमीले ब्याट घुमाउन ढिलो गर्‍यौ । भिडियो पनि हेरेँ, हो रहेछ । आफ्नो गल्ती थाहा भयो ।

तर पहिलो खेलमा अपेक्षाअनुसार ब्याटिङ गर्न नसक्दा बाँकी खेल खेल्न पाउँछु कि पाउन्नँ भन्ने दोधारमा परेँ । १२ माघमा दोस्रो खेलमा अवसर पाएँ, पाँचौ नम्बरमा ब्याटिङ गरेँ । यो पटक पनि चल्न सकिनँ, व्यक्तिगत ८ रनमा आउट भएँ ।

तर हाम्रो टिमले २४२ रन बनायो । यूएईलाई १९.३ ओभरमा ९७ रनमै समेट्यौं र खेल जित्यौं । जितको श्रेय सोमपाल र सन्दीप लामिछानेलाई जान्छ । किनभने ६.३ ओभर बलिङ गर्नु भएका सोमपाल दाइले एक ओभर मेडनसहित ३३ रन खर्चिएर पाँच विकेट लिनुभएको थियो । सन्दीपको पनि राम्रो प्रदर्शन रहृयो । ४ ओभर बलिङ गरेका उनले एक मेडनसहित २४ रन खर्चिएर चार विकेट लिएका थिए । योसँगै सिरिज जोगियो । अन्तिम खेल जित्यो भने पहिलो एकदिवसीय सिरिज जित्ने भयौं ।

तर म आफ्नो व्यक्तिगत प्रदर्शनप्रति सन्तुष्ट थिइनँ । आफूले पाएको अवसर सदुपयोग गर्न नसकेर खिन्न थिएँ । लगातार दुई खेलमा राम्रो गर्न नसकेकाले तेस्रो खेलमा बेन्चमा बस्नु पर्‍यो ।

यद्यपि पारस (खड्का) दाइको शतकसँगै हामीले जित्यौं । २५५ रनको चुनौती हाम्रो लागि ठूलो नै हो । त्यसमाथि हामीले पहिलो विकेट सस्तैमा गुमाएका थियौं । तर तेस्रो नम्बरमा पारस दाइले ११५ रन बनाउनुभयो । नेपाल चार विकेटको विजयी भयो । यससँगै नेपालले पहिलो पटक एकदिवसीय सिरिज २-१ ले जित्यो ।

****

त्यसपछि टी-२० सिरिज थियो । मैले पहिलो खेलमा अवसर पाइनँ । बेच्नमा बसेर खेल हेरेँ । एकदिवसीयमा जस्तै टी-२० मा पनि हामीले २१ रनले व्यहोर्न पुग्यौं । टी-२० सिरिज जित्न बाँकी दुवै खेल नेपालले जित्नैपर्ने अवस्था बन्यो ।

यसले अब मैले खेल्न पाउँदिनँ भन्ने लागेको थियो । तर १८ माघको दोस्रो टी-२० मा अवसर पाएँ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई १०७ रनमै अलआउट गर्न सफल भयौं । मैले एक ओभर बलिङ गर्न पाएँ, जसमा ८ रन खर्चिएँ । विकेट भने लिन सकिनँ । जवाफी ब्याटिङमा उत्रिएको हाम्रो पनि सुरुवात राम्रो रहेन । कप्तान पारस दाइलाई शून्य रनमा गुमाएपछि अलिक डर पनि बढेको थियो ।

मैले भने सातौं नम्बरमा ब्याटिङ गर्ने अवसर पाएँ । २५ बलमा १८ रन बनाए । दुई चौका पनि हानेँ, तर अझै प्रदर्शन चित्त बुझेन । किनभने ६ बलमा सात रन चाहिएको थियो । क्रिजमा म र दीपेन्द्र थियौं । दीपेन्द्र दाइले भन्नुभएको थियो, पवन तिमीले मौका लिन चाहन्छौ भने लिए हुन्छ । अनि मैले जाहुर खानको बलमा छक्का हान्ने कोसिस गरेँ । तर लङ अफतिर क्याच आउट हुन पुगेँ ।

आफैंसँग रिस उठ्यो । त्यो बलमा छक्का हान्न सकेको भए मैले खेल जिताउँथें । यद्यपि हामीले चार विकेटले खेल जित्यौं । खेलपछि दाइलाई सोधेँ, के गल्ती गरे ? उहाँले भन्नुभयो, सीधा हान्नु पर्ने बल थियो, क्रस हान्यौ । त्यसैले आउट भयौ ।

टी-२० क्रिकेट सिरिज जित्न हामीले अन्तिम खेल जित्नुपर्ने थियो । तर त्यो दिन पानी बाधक बन्यो । लगातार पानी परेपछि खेल हुन्छ कि हुँदैन भन्ने अन्यौल रहृयो ।

हाम्रो भाग्य भनौं, पानी रोकियो । १० ओभरको खेल हुने भयो । मैले ओपनिङमा मौका पाएँ पनि, तर रन बनाउन सकिनँ । शून्यमै आउट भएँ । यूएईलाई १०५ रनको लक्ष्य दियौं । मैले बलिङ गर्न पाइनँ, तर, करण केसी, ललितनारायण राजवंशी र अविनाश बोहराले राम्रो बलिङ गर्नुभयो । १४ रनको जित निकाल्दै सिरिज हामीले जित्यौं ।

डेब्यू प्रतियोगितामा नै एकदिवसीय र टी-२० क्रिकेट सिरिज जित्न पाउँदा खुसी थिएँ, तर व्यक्तिगत प्रदर्शन अपेक्षा गरेजस्तो भएन । अझै धेरै मेहनत गर्न बाँकी रहेछ भन्ने बुझेँ ।

****

गत असारमा फेरि यू-१९ टिमबाट मलेसियामा यू-१९ एसिया कपको लागि छनोट खेल्यौं । नेपाल च्याम्पियन बन्यो । मेरो व्यक्तिगत प्रदर्शन पनि सोचे जस्तो भयो ।

लगत्तै म टी-२० विश्वकप क्रिकेटको एसिया फाइनल खेल्ने सिनियर टिममा परेँ । रोहित र म मलेसियामा बस्यौं, सिनियर टोली अभ्यासका लागि त्यहीँ आइपुग्यो । असार २८ र २९ मा मलेसियासँगै दुई म्याचको टी-२० सिरिज खेल्यौं र जित्यौं ।

मैले पहिलो खेलमा मैले मौका पाइनँ, दोस्रोमा भने खेलेँ । त्यो पनि ओपनिङ ब्याट्सम्यानको रुपमा । तर फेरि उही ताल । ११ बलमा १० रन बनाएर आउट भएँ । हरेक खेलमा राम्रो गरौं भन्छु, तर सिनियर टिमबाट खेलेको दिन कहीँ न कहीँ चुकिहाल्छु ।

कुनै बेला गलत सर्ट हान्नपुग्छु त कुनै बेला एलबीडब्लुको शिकार हुन्छु । अनि कुनै बेला रनआउट हुन्छु ।

****

मलेसियामा १० दिनको अभ्यासपछि हामी सिंगापुर गयौं । राष्ट्रिय टिममा परेको दोस्रो टुर्नामेन्ट थियो, टी-२० विश्वकप छनोटको एसिया फाइनल । तर नमिठा र तीता याद बोकेर आएँ । मेरो मात्रै होइन, सिंगो टिमकै लागि सुखद रहेन त्यो टुर ।

साउन ६ देखि १२ गतेसम्म भएको त्यो प्रतियोगितामा हामी प्रमुख दाबेदार थियौं । सिंगापुर, मलेसिया, कुबेत र कतार हामीभन्दा तल्लो स्तरकै टिम थिए । त्यसैले अरुलाई जित्दै हामीलाई लागेको थियो, च्याम्पियन बनेर विश्व छनोटमा पुग्छौं । तर त्यसो भएन । ७ साउनमा अप्रत्यासित नतिजा आयो, कतारले हामीलाई ४ विकेटले हरायो ।

म बेन्चमा बसेर खेल हेरिरहेको थिएँ । ओपनिङ पनि राम्रै थियो । पारस र ज्ञानु दाइले ४९ रनको साझेदारी गर्नु भएको थियो । तर पहिलो विकेट झरेपछि मिडिल अर्डर कोल्याप्स भयो । जबकी मिडिल अर्डरमा रोहितकुमार पौडेल, शरद भेषावकर, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी जस्ता भरपर्दा सिनियर दाइहरु हुनुहुन्थ्यो ।

हामीले १२२ रनमात्र बनाउन सक्यौं । त्यति हुँदा पनि लागेको थियो, बलरहरुले जिताउँछन् । तर कतारले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो, हामी सबै स्तब्ध बन्यौं । आफैंलाई सोधिरहेका थियौं, के भयो यस्तो ? पारस दाइ र उमेश पटवाल सरले खेलमा हारजित स्वाभाविक हुन्छ, अब बाँकी खेल जित्दै जानुपर्छ भनेर सम्झाउनुभयो ।

बाँकी दुई खेलमा हामीले जित्यौं पनि । मलेसियालाई र कुवेत दुवैलाई समान ७ विकेटले हरायौं । तर दुवै खेलमा म बेञ्चमा रहेँ ।

अन्तिम खेल सिंगापुरसँग थियो । यो खेलमा पनि म बेञ्चमा रहेँ । नेपालले जितोस् र विश्वकपको ग्लोबल छनोटमा पुगोस् भन्ने कामना गरिरहेँ । सिंगापुरले विस्फोटक ब्याटिङ गर्‍यो र १९१ रन बनायो । यो स्कोर आफैंमा निकै ठूलो थियो । हामीले २०-२५ रन बढी दियौं भन्ने लाग्यो । तर खेल जित्ने आश मरेको थिएन । पारस र ज्ञानु दाइ ओपनिङमा आउनुभयो । पारस दाइ १२ रनमा आउट हुनुभयो । ज्ञानु दाइले राम्रै खेल्दै हुनुहुन्थ्यो । उहाँ पनि ३९ रनमा आउट भइहाल्नु भयो । अब भने दबाव बढ्यो । किनभने चुनौती निकै ठूलो थियौं । नेट रनरेट पनि प्रत्येक बलमा बढिरहेको थियो ।

जतिबेलासम्म सोमपाल र दीपेन्द्र दाइ क्रिजमा हुनुहुन्थ्यो, त्यसबेलासम्म मैले आश मारेको थिइनँ । तर सोमपाल दाइ ११ रनमा आउट भएपछि त्यो आश टुट्यो । हामी ८२ रनले हार्न पुग्यौं । यो सामान्य हार थिएन, हामी सबैको विश्वकप खेल्ने सपना टुटेको थियो ।

यो प्रतियोगिताभर म बेन्चमा रहेँ । बेन्चमा बसेर हेर्नु मैदानमा खेल्नुभन्दा कम गाह्रो रहेनछ । त्यसबाट पनि मैले केही कुरा सिकेँ भन्ने लाग्छ । बेन्चमा बस्नु र विश्वकप सपना टुट्नु दुवै पीडा एकसाथ भोगेँ । यो प्रतियोगिताबाट यस्तै अनुभव रहृयो ।

****

कति निराशाको मात्र कुरा गर्नु । अब यू-१९ एसिया कपको कुरा गरौं, जसलाई लिएर म निकै उत्साहित छु ।

वर्षायाम भएपछि हामीले १५-१६ दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जसोतसो अभ्यास गर्‍यौं । प्रशिक्षक विनोद दासले त प्रशिक्षणका लागि भारत लैजान प्रयास पनि गर्नु भएको हो, तर त्यस्तै भयो । त्यसैले केही दिन अगाडि श्रीलंका आइपुगेका छौं ।

यहाँ पहिलो अभ्यास खेल एसएससी यू-२३ सँग खेल्यौं । त्यो खेलमा मैले ३० रन बनाएँ । आशिफ शेखले ८८ रन बनाएपछि हामीले २४० रनको स्कोर पनि बनाएका थियौं । तर अन्तिम बलमा क्याच छुट्दा ३ विकेटले हार्न पुग्यौं । अब एक खेल खेल्छौं ।

त्यसपछि प्रतियोगिता सुरु हुन्छ । हाम्रो समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश यूएई छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

टेष्ट नेशनहरु हामीभन्दा बलिया टोली हुन् । ब्याटिङ, बलिङ, फिल्डिङ, फिट्नेस सबैमा उनीहरु अगाडि नै छन् । यसको अर्थ हामी साह्रो कमजार भने होइनौं । हाम्रो टिम राम्रो छ यो पटक । आशिफ शेख र सन्दीप जोराले पुनरागमन गरेका छन् । र, अधिकांश खेलाडीले झण्डै २ वर्षदेखि एकसाथ खेल्दै आएका छौं ।

त्यसैले हामी यो पटक टेष्ट नेशनलाई हराउन चाहन्छौं । त्यतिमात्र होइन, फाइनलमा पुग्न चाहन्छौं ।

यो कप्तान रोहित र मेरोलागि यू-१९ टिमबाट अन्तिम प्रतियोगिता पनि हो । उमेर समूहमा पनि विश्वकप खेल्ने सपना थियो, तर पानीका कारण त्यो पूरा भएन । त्यसैले एसिया कपमा राम्रो गर्दै नेपाललाई फाइनलसम्म पुर्‍याउने लक्ष्य लिएका छौं । हामीलाई थाहा छ, यो सजिलो लक्ष्य होइन । तर असम्भव पनि छैन ।

म टिममा अलराउण्डरको भूमिकामा छु । त्यसैले टिमका लागि मेरो भूमिका महत्वपूर्ण रहन्छ । त्यसैले व्यक्तिगत प्रदर्शन सुधार्ने मात्र होइन, सिंगो टिमलाई जिताउन चाहन्छु ।

त्यसपछिको सपना त छँदैछ, नेपाललाई एकदिवसीय विश्वकपमा पुर्‍याउने र टेष्ट नेशन बनाउने यात्रामा साथ दिने । सिनियर दाइहरु र टिममेटको होस्टेमा हैंसे गर्ने ।

प्रस्तुती: सरोज तामाङ
फोटो: चन्द्र आले

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा‘ को ५१ औं अंकमा यो हप्ता क्रिकेट खेलाडी पवन शर्राफको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment