Comments Add Comment

पिताको महिमा : किन पूज्य छन् पिता ?

भोलि बुवाको मुख हेर्ने दिन

पितृदेवो भवः अर्थात्  पिता भनेका  भगवान हुन् । जसरी यो संसार देखाउनलाई आमाको भूमिका हुन्छ, त्यसैगरी पिताले पनि आफ्ना सन्तानलाई यस संसारमा ल्याउन र उनको उज्ज्वल भविष्य बनाउन सधैं प्रयास गरिरहेका हुन्छन् ।

कहिले अभिभावक बनेर, कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर  हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन् ।

आफ्ना सन्तानलाई ताते-ताते गरेर हिँड्न सिकाउन, यो संसारका हरेक नयाँ चिजहरुसँग घुलमिल गराउन, उनीहरुलाई सही मार्गमा लैजान र सन्तानका आवश्यकतालाई आफ्नोभन्दा पहिलो  प्रथमिकता दिएर पूरा गराउन सधैं आमाबुवाले प्रयास गरिरहन्छन् । सन्तान जति नै भए पनि आफ्ना  बुवाआमाको लागि सबै सधैं प्रीय रहन्छन् ।

हामी हिन्दु धर्मावलम्बीले धेरै चाडपर्व मनाउँदै आइरहेका छौं । यी सबै पर्व धार्मिक, साँस्कृतिक,  परिवारिक र सामाजिक परम्पराका छन् । कुनै पर्व आमाको लागि विशेष, कुनै गुरुका, कुनै दाजुभाइका,  कुनै दिदीबहिनीका सम्झना गर्न विशेष छन् ।

त्यस्तै बुवाको सम्झना गर्नका लागि पनि भोलिको दिन महत्वपूर्ण मानिन्छ । हुन त बुवालाई माया गर्न वा बुवाको सम्झना गर्न कुनै दिन विशेष चाहिँदैन । समयले छेकेको छैन अनि भूगोलको सीमाले रोक्दैन । यो प्रेम अटुट नै रहन्छ । तर हिन्दु सनातन धर्म मान्नेले हरेक वर्षको भाद्र कृष्णपक्षको औंसी तिथिलाई पिताको मुख हेर्ने दिनको रुपमा मनाउने परम्परा छ ।

औंसी तिथिहरुलाई विशेष गरेर पितृको सम्झना गर्न पनि महत्वपूर्ण मानिन्छ । यस दिनमा पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् ।

त्यस्तै दिवंगत भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्वीर हेरेर सम्झने र पिताको नाममा घरमै वा तिर्थस्थलमा गएर तर्पण दिने चलन पनि छ । यस दिनमा काठमाडौंको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्रलगाययका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्दा पितृको आशिर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।

बढ्दो आधुनिकतासँगै शहरी जीवन अपनाउने चाहनाले सन्तानहरु बुवाआमालाई वृद्धाश्रममा राख्ने  चलन बढ्दै गैरहेको छ । पितालाई भगवानभन्दा पनि अहिले बोझका रुपमा लिने कु-सन्तान पनि धेरै  देखिन्छ । न त जीवित हुँदा बाबाआमाको राम्रो स्याहार गर्छन्, न त दिवंगत भएपछि उनको उद्धारमा  पितृकर्म नै गर्छन् । आज आफ्नो अभिभावकलाई दुःख र पीडा दिने बाबाआमाबाट भोलि उनको  सन्तानले के सिक्छन् ? यसमा पनि ध्यान दिने हो की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment