Comments Add Comment

नेपाली फिल्मको व्यापारः ‘चल्दा औषत कमाई, नचल्दा निर्माता सडकमै’

गतबर्षको अन्तिम हप्ता रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापार नेपाली चलचित्रको बजार अनुसार बम्पर नै हो । किनकी, सो समयमा चलचित्रले ९ करोड माथिको ग्रस कलेक्शन गरेको चर्चा पनि भयो । धेरैलाई लाग्यो, चलचित्रबाट निर्माता सुनिल कुमार थापाले राम्रै पैसा छापे ।

तर, बाहिर हल्ला भए जस्तै के निर्माताको हातमा मनग्गे पैसा नै आयो त ? निर्माता सुनिल कुमार थापाले अनलाइनखबरसँग भने–‘बाहिर जे जस्तो हल्ला भएपनि मेरो चलचित्रको ग्रस कलेक्शन ८ करोडको हारहारीमा छ । तर, मेरो लगानी २ करोड ८६ लाख छ । प्रचारसहित ३ करोडको हारहारीमा खर्च भएको छ । नेपालबाट मैले लगानी मात्र उठाएको छु ।’

उनले, चलचित्रको कमाइले लगानी मात्र सुरक्षित भएको बताउँदै डिजिलट राइट्स, विदेशमा प्रदर्शन आदिका कारण केही फाइदा भएको सुनाए । तर, अहिले विदेशमा पनि आफ्नो पीआरका कारणले मात्र केही देशमा चलचित्र प्रदर्शन हुन सकेको छ । होइन भने, नेपाली चलचित्र कुनै पनि देशमा बलिउड र हलिउड चलचित्र जसरी रिलिज हुँदैनन् । निर्माताको पीआरले सबै देशमा संभव छैन । यो बर्ष चलचित्र ‘जात्रै जात्रा’ले अष्ट्रेलियाबाट राम्रो कमाई गरेपनि अरु चलचित्रको अवस्था सुखद छैन ।

निर्माता थापा भन्छन्–‘एउटा चलचित्र ५–६ हप्ता राम्रोसँग हलमा चल्यो भने निर्माताको हातमा २८ देखि ३० प्रतिशत शेयर आउँछ । यसैले महंगो बजेटको चलचित्रलाई त लगानी उठाउन नै समस्या पर्छ ।’

निर्माता थापाका अनुसार, चलचित्रमा लगानी कम गर्न नसक्ने हो भने निर्माताले नेपालबाटै चलचित्रले बम्पर कमाउँदा पनि लगानी उठाउन सक्दैनन् । यसका लागि कलाकारदेखि सबैले पारिश्रमिकमा संझौता गरेर केही बर्ष काम गर्नुको विकल्प नै छैन ।

यता, वितरक सुनिल मानन्धरको तर्क पनि सुनिल कुमार थापाको जस्तै छ । उनले वितरण गरेको पछिल्लो चलचित्र ‘जाइरा’ बक्स अफिसमा ध्वस्त भयो । यसो हुँदा करिब २ करोड खर्च लागेको भनिएको यो चलचित्रका निर्माताको हातमा १० लाख पनि परेको छैन ।

चलचित्र बम्पर चल्यो भने निर्माताको हातमा लगानी मात्र उठ्ने, तर चलेन भने निर्माता सडकमै आउने अवस्था छ । यसले, नेपाली चलचित्रमा लगानी गर्नेहरु टाढिदै गएका छन् ।

नेपाली चलचित्रले फराकिलो बजार खोज्न सकेको छैन । सानो बजारमा सिमित दर्शकमा रुमल्लिएको चलचित्र क्षेत्रमा अहिले चलचित्र मेकिङ महंगो बन्दै गएको छ । यसको प्रत्यक्ष असर निर्माताको लगानीमा पर्न थालेको छ । वितरक मानन्धर भन्छन्–‘पोष्टर टाँसेको पैसा पनि नउठाउने चलचित्र त ७० प्रतिशत छन् । ५ प्रतिशतले निर्मातालाई नाफा दिएका छन् । बाँकी २५ प्रतिशत चलचित्रले ५ लाख ग्रस गर्न पनि मुश्किल छ ।’

उनले, धेरै निर्माताले हावामा गफ दिने गरेको पनि सुनाए । मानन्धर भन्छन्–‘अहिले यूनिटीको धन्दा जस्तै भयो । आफू डुबेपछि विदेशबाट आउने व्यक्तिलाई चलचित्रको कमाई बबाल नै छ भनेर लगानी गर्न लगाउने क्रम बढ्यो । जसलेगर्दा, निर्माताको पैसा पर्दामा देखिएन, विचबाटै गायब भएको छ ।’

अहिले निर्माताको लगानी विचमै हराउने गरेको र पर्दामा नदेखिने गरेको पनि ठूलो समस्या भएको सुनिलको भनाई छ । यो बर्ष रिलिजमा आएका ‘दाल भात तरकारी’ले मुश्किलले लगानी उठाएको अवस्था छ भने ‘जात्रै जात्रा’ले नेपालबाट केही लाख रकम नाफा कमाएको छ । तर, महंगो लगानी गर्ने निर्माताका चलचित्रले बम्पर व्यापार गरेपनि नाफा कमाउन भने मुश्किल हुन थालेको छ । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कृ’का निर्माता यही समस्यामा परेका थिए ।

यो अवस्था कम गर्न चलचित्रको बजार बढाएर लगानी कम गर्नुपर्ने तर्क धेरै लगानीकर्ताको छ । यसमाथि, चलचित्र रिलिजको समयमा हुने राजनीति, हलवालाको चेपुवा आदिको शिकार त निर्माता बारम्बार हुँदै आएका पनि छन् ।

नेपाली चलचित्र गतबर्षको तुलानामा यो बर्ष कम बनेका छन् । चलचित्र निरन्तर असफल हुनु, बाहिर हल्ला भएजस्तो आम्दानी नहुनु आदिले पनि लगानीकर्ता निराश छन् । यसका लागि सबै निकायले सोच्न आवश्यक छ । होइन भने, राम्रा मेकर पनि एक–दुइवटा चलचित्रमा लगानी गरेर टाढिने अवस्था सिर्जना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment