+
+
Shares

बघिनी तबसम्म चुपै लागेर बस्छे – प्रधानमन्त्री

‘लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १:००

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र सरकारलाई ‘बघिनी’सँग तुलना गरेका छन् । आफ्ना डमरु (बच्चा) माथि खतरा नआउञ्जेलसम्म बघिनी चुप लागेर बस्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

लोकतन्त्रमाथि राजावादीहरुबाट खतरा रहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले सरकारलाई बघिनीसँग तुलना गरेका हुन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले गणतन्त्रविरोधीहरुको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरिसकेका छन् । तर, प्रधानमन्त्री ओलीले चाहिँ लोकतन्त्रमाथि खतरा नआउँदासम्म चुपै लागेर बस्ने बताएका छन् ।

सिंहदरबार परिसरमा नयाँ संसद भवनको जग शिलान्यास गर्दै बुधबार प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा नआउँदासम्म सरकार बघिनजीजस्तै शान्त रहने बताए ।

‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्‍यो भन्ने हुँदैन, तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने अनि बघिनी चुप लागेर बस्दिन’ प्रधानमन्त्री ओलीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जवसम्म खतरा आइपर्‍यो भन्ने कुरा हुँदैन, तबसम्म सरकार बघिनीजस्तै शान्त रहन्छ ।’

प्रधानमन्त्रीले अगाडि थपे, ‘लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । संविधान अनुसार जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिवद्ध छ ।’

बोलेका कुरा रेकर्डेड हुन्छन्, होसियार हुनोस्

प्रधानमन्त्री ओलीले सरकारले चाहेजस्तो गति लिन सकेको छैन भनेर आइरहेको आलोचनालाई हृदयंगम गर्नुपर्ने बताए । यस्तो आलोचनालाई सकारात्मक रुपमा लिँदै अझ गतिका साथ अघि बढ्नुपर्ने प्रधानमन्त्रीले बताए ।

‘सरकारले चाहेजस्तो गति लिन सक्या छैन भन्ने आलोचना छ । त्यस आलोचनालाई हामीले हृदयंगम गर्नुपर्छ । चाहेजस्तो गति लिन सक्या छैन भन्ने आलोचनाभित्र अझ गतिका साथ सरकार चलोस् भन्ने धारणा छ । त्यो सकारात्मक धारणा हो’ प्रधानमन्त्रीले भने, ‘सरकार अझ बढी गतिका साथ अगाडि जानुपर्छ । बोलेका कुराहरु रेकर्डेड हुन सक्दछन् । गरेका काम कारवाहीहरु रेकर्डेड हुन सक्दछन् । तिनको भिडियो लिइएको हुन सक्दछ । सबैले होसियार हुन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलतालाई ‘व्यवहारिक रुपमा चाहिने कदम’ बताउँदै स्वच्छता, सुशासन, शान्ति र स्थिरताका सन्दर्भमा सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।

‘ठेकदारलाई कबोलभन्दा बढी पैसा थपिँदैन’

प्रधानमन्त्री ओलीले ठेकदारहरुलाई कुनै पनि बाहनामा कबोल गरेको भन्दा बढी पैसा नथप्ने बताए । तोकिएको समयमा काम सक्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले आज शिलन्यास गरिएको संसद भवन तीन वर्षमा बन्ने र त्यहाँ संसद सञ्चालन हुने बताए ।

नयाँ संसद भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्माण कार्यमा विलम्ब हुने गरेको छ । यो विलम्ब मान्य हुँदैन । विलम्ब कुनै पनि हालतमा स्वीकार्य हुँदैन । जति समयमा गर्ने भनिएको छ, त्यस समयभित्र काम सम्पन्न हुनुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुँदैन । कबोलभन्दा पछि पैसा थप्ने काम हुँदैन ।’

काम ढीलो गरेर पैसा माग्ने काम नगर्न प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘ढीलो गर्ने, अनि अनेक चिजको भाऊ बढ्छ अनि पैसा थप्नुपर्‍यो, मेरो त टाट उल्टियो भन्न पाइन्न । समयमा खुरुखुरु काम गर्ने ।’

ठेक्का हाल्दाखेरि नै त्यसमा सम्भावित भाऊवृद्धि इत्यादि सबै चिज त्यसभित्र राखिएको हुने बताउँदै प्रधानमन्त्रीले भने, त्यसमा अरु थप केही पनि हुँदैन । बिग्रिएका परिपाटीहरु छन्, त्यसलाई मानिँदैन । तीन वर्षको समय राख्या छ, तीन वर्षभित्र यो पूरा हुन्छ । र, यहाँ हामीले संसद सञ्चालन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?