Comments Add Comment

के हो एनआरएनए युकेको विवादको चुरो ?

मतदान अधिकृतको बयान– के भएको थियो बेजिङ्गस्टोकमा ?

Photo Credit : अध्यक्षका उम्मेदवार शेरबहादुर सुनार र पुनम गुरूङ/ अनलाइनखबर फाइल

लण्डन । गत १४ सेप्टेम्बरमा बेलायतमा गैरआवावासीय नेपालीहरुको संगठन एनआरएनएको निर्वाचनमा मतदान सम्पन्न भयो । बिगतका वर्ष जस्तै यसवर्ष पनि मतदान विवारहित भने हुने सकेन । करिब १४ हजार मतदाता रहेको बेलायतको एनआरएनएको निर्वाचनमा कुल ७४ पदका लागि ११७ जनाको उम्मेदवारी दर्ता भएको थियो । एनआरएनए केन्द्रको भावनाबिपरीत उपाध्याक्षद्धय पुनम गुरुङ र शेरबहादुर सुनारले आ-आफनो घोषित प्यानल बनाएर चुनावमा होमिएका थिए ।

गत शनिबार भएको मतदानमा बेलायतभरी बिभिन्न १३ शहरहरुमा मतदान केन्द्र तोकिएको भए पनि इंगल्याण्डका दुई मतदान केन्द्रमा उजुरी परेको कारण मतगणना अवरुद्ध भयो ।

विवादको शुरुआत

सरसर्ती हेर्दा विवादको उत्कर्ष चुनावको दिनमा देखिए पनि त्यो चुनाव घोषणाकै बखत देखिको थियो । पुनम गुरुङले मिडल्याण्डसँग डिल गरेको समाचार नेपाली पत्रमा छापेपछि अन्य पक्ष पनि आफ्नो सुरक्षाको लागि समूह बनाउन तम्सिएको देखिन्छ । मिडल्याण्डसँगको डिलपछि अध्यक्षका प्रत्यासी अरु तीनै जना ( प्रेम गाहा मगर, सुशीला राई र ललित न्यौपाने )ले पनि साझा उम्मदेवारको रुपमा शेरबहादुर सुनारलाई अगाडि सारे ।

अल्डरसटको एम्पाएर हलमा भव्य समारोहका बीच आ-आफना आफन्तजन र समर्थकका बीच लाखौं रुपैयाँ खर्चेर उम्मदेवारीको घोषणा गरिएको थियो । यो तामझाम र तमासा अनुत्पादक र भड्किलो भएको भन्दै सर्वत्र बिरोध भएको थियो । यसप्रकारले जुन मर्म अनुसार केन्द्रीय बिधानले नै निषेध गरेको समूह बनाएर निर्वाचनमा जान गरेको प्रावधान र आग्रहलाई उल्लङ्घन गर्दै युकेका एनआरएनएका अभियन्ताहरुले आफूलाई विवादास्पद बनाएका थिए ।

बेजिङ्गस्टोक काण्ड

हामी दुवै पंक्तिकार ह्यारो केन्द्रका मतदान अधिकृति थियौं । डा.सुमाया राईको अनुरोधमा स्वंयसेवी भूमिकाको यो कार्य दिनभर बिबिध प्रकृयामा निभायौं । यसको इतिश्री केही बेरमा गर्नेनै र्छौं । यसअघि बेजिङ्गस्टोक केन्द्रमा भएको घटनाको उल्लेख गर्नु सान्दर्भिक होला । किनभने बेजिङ्गस्टोकबाट नै विवादको चुरो चुलिएको थियो । ह्यारो त त्यसको असर मात्र । शनिवार ह्यारोमा पुनम समूहले हस्ताक्षर गर्न नमानेपछि अरु सबै अधिकृत र शेर समूहको हस्ताक्षर र मुचुल्का लिएर स्वयं पुनम समूहका एक प्रतिनिधि सम्मिलित समूह मतपेटिका लिएर मतदान आयुक्त डा.सुमाया राई र प्रमुख मतदान अधिकृत नरहांग राई सहितको टोली अल्डरसटतिर लाग्यौं । अल्डरशटमा पुगेपछि बेजिङ्गस्टोकको कारणले तनावग्रस्त बनेको क्षेत्रमा हामीलाई असहज भयो ।

यद्यपि कडा सुरक्षाकाबीच हलभित्र ह्यारोको मतपेटिका बुझाइसकेपछि एक्कैछिन बेजिङ्गस्टोकका आयुक्त मित्र नरेश खपांगीमगरसँग  विवादबारे सोध्याैं। उहाँको पहिलो अभिव्यक्ति नै पुनम समूहप्रति शंकास्पद हुने खालको थियो । कि उहाँका अनुसार पुनम समूहले जुन भवन(च्युट हाउसमा) मतदान गर्ने हो सोही भवनको दोश्रो तल्लामा भाडामा कोठा लिएको थियो र त्यहीबाट उनीहरुको प्रनितिधिहरु र स्वयंसेवकहरु परिचालित थिए ।

केन्ट निवासी निर्वाचन आयुक्तलाई निर्वाचन हुन तस्न दिन अघिमात्र यसक्षेत्रको जिम्मेवारी हेरफेर गरेर पठाउनु र मतदानस्थलमै कुनै एक समूहले मात्र आफ्नो आधिपत्य जनाउनु निर्वाचनलाई आफनो पक्षमा ल्याउन कतै यी सुनियोजित चाल त थिएन । प्रश्न स्वाभाबिक छ ।

यसैगरी वर्तमान अध्यक्षका प्रत्यासी पुनम गुरुङ् र निवर्तमान अध्यक्ष योग फगामीको गृह शहर त्यसमा पनि योग फगामी पुनम प्यानबाटै आईसीसी सदस्यका उम्मेदवार भएको कारण पनि यो योजना गरिएको त थिएन ? त्यसपछिका परिघटनाहरु त सामाजिक संजालमा छरपष्ट छन् कि बुथमा स्वयंसेवीले पनि टिक लगाएका दृष्यदेखि समूहमा सल्लाह गरी चिट लगेर मतदान गरिएको दृष्यहरु छरपष्ट छन् । तत्पश्चात स्वयं अध्यक्षका उम्मेदवार शेर सुनारले दिउँसै धाँधली भएको उजुरी गरेका थिए । शेर समूहको पक्षले हस्ताक्षर नगरे पनि मतपेटिका अल्डरशट ल्याउदै गर्दा प्रतिरोध भयो र अन्त्यमा प्रहरीले सुरक्षा प्रदान गर्नुपर्ने स्थिति आयो ।

यसमा निर्वाचन समितिले उजुरीलाई समान्य रुपमा लिएको, कमजोर आँकलन गरको महसुस हुन्छ किनभने उजुरीवालालाई स्पष्टीकरण नदिइकन जबरजस्ती मतपेटिका उठाउनु भनेको निर्वाचन प्रकृयालाई प्रभाव पार्ने दाउ भएको प्रष्ट हुन्छ ।

निर्वाचन आयुक्त खपांगीका अनससार शेर समूहप्रतिनिधि साँझ सात बजेसम्म रहनु र उजुरी पछि पनि निर्वाचन सुरु हुन दिनु पनि गम्भीर त्रुटिका रुपमा औल्याउन सकिन्छ ।

के भएको थियो ह्यारोमा

ह्योरोमा जव निर्वाचनका लागि तयार भयो एनआरएन आईसीसीका वर्तमान उपाध्यक्ष कुल आर्चायले यो चुनावलाई उत्सवको रुपमा लिन आग्रह गर्दै पहिलो मत खसाले । यस्तैमा पुनम समूहका प्रतिनिधि आएर यो त ह्यारो हो यहाँ त हाम्रो नियम हुन्छ केन्द्रको नियम कहाँ मानिन्छ भन्दै प्रस्तुत भए । यसलाई समान्य थ्रेटका रुपमा लिए पनि पछि उनको हर्कतका कारण शेर समूहको र अन्य स्वतन्त्र व्यक्तिहरुको आग्रहमा हल बाहिर निस्कासन गर्न प्रुमुख निर्वाचन अधिकृत नरहांग राई बाध्य भए । यस अबधिमा यत्ति धेरै भिजिटिंग कार्ड टाइपका चिटहरु लिएर आए कि त्यो थेग्नै गाह्रो भइसकेको थियो । चिटिंग गर्ने सवालमा निश्चय नै दुवै पक्षका थिए यद्यपि प्राप्त सामग्रीका आधारमा पुनम समूह अघि थियो । मतदान केन्द्रमा कडाइका कारण उम्मेदवारका प्रतिनिधिहरु चिढिइन थालिसकेका थिए । यसको साक्षीका रुपमा केन्द्रीय पर्यवेक्षक रामशरण सिम्खडा प्राय दिनभरनै केन्द्रको गतिबिधि निरीक्षणमा रहेका थिए ।

बिबिध अस्तव्यस्तताका बाबजुद पनि मतदानको कार्य सम्पन्न भएपनि बेजिङ्गस्टोकको घटनापछि पुनम समूहका प्रनितिधिहरुले मुचुल्कामा हस्ताक्षर गर्न मानेनन् । दिनभर शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा सरिक भएर अन्तिम समयमा मतपेटीकामा लाहाछाप लगाएर मुचुल्का उठाउने बेलामा पुनम समूहका एकजनालाई अकस्मात फोन आउँछ अनि उनी केहीक्षण कुरा गरेर भित्र आएपछि मुचुल्कामा सही नगर्ने बताउँछन । उनीहरुसँग कारण सोध्दा केही उत्तर थिएन । यसैले त ती प्रनिनिधि मतपेटिका लिएर मतपेटिका सँगै दुवै पक्षका प्रतिनिधि सँगै अल्डरशट पुगेका थिए । यसले ह्यारो केन्द्र बेजिंगस्टोकको घटनाको प्रतिशोध साँध्ने परिघटनाका लागि मात्र थियो भन्ने पुस्टि गर्दछ ।

ह्यारो केन्द्रमा खटिएका नेप्लिज ब्रिटिस कम्युनिटीका अध्यक्ष मिलन घिमिरे पनि संस्थाका साथीहरु निस्पक्ष रुपमा गैरआवासीय नेपाली संघलाई सहयोग गर्दा १३ घण्टा सम्म खटिएबापत कसैले २ शब्द धन्यवाद भन्नुको सट्टा उल्टै आरोप लगाउनुले सबै निर्वाचन अधिकृतहरुलाई निरास बनाएको यसमा केन्द्रीय प्रतिनिधिहरुको पनि कुनै प्रतिक्रिया र रिपोर्ट नआउनुले संस्था प्रति नै अझ नकारात्मकता बढेको बताउँछन् ।

निर्वाचन आयोगको रवैया

आसन्न परिस्थितिका कारण अन्योलमा रहेको मे.रि. डमर घले नेतृत्वको निर्वाचन आयोग अन्यौलमा परेको भान भयो । केही दिनअघि निर्वाचन आयोगले निकालेको सूचना निर्देशिका हो कि सूचना हो अन्योल देखिन्थ्यो । सूचनामा प्रस्ट भनिएको थियो फोटो र प्रुफ अफ आइडी सहित मतदान गर्न पाइने तर यो निर्णय मतदान सुरु भएको १ घण्टा पनि टिकेन र फोटो आइडी मात्र हुँदा निर्वाचन गर्न पाइने भनियो यति बेलासम्म केही मतदाताहरुलाई केही बुथ बाट प्रुफ अफ एड्रेस लिन घर फर्किन वा मतदान नगर्न बाध्य पारिसकिएको थियो ।

मतगणनाको तयारी ।

यसरी आफैले गरेको निर्णयबाट एक घण्टा पनि टिक्न नसक्नु पछाडि कार्यसमितिले सबै सदस्यहरुलाई मतदाता कार्ड उपलब्ध गराउन असक्षम हुनुलाई मुख्य कारण भनिएको थियो । हुन पनि कार्यसमितिले मेम्बरसिप कार्ड अन्तिम समयमा मात्र निकालेको थियो । कयौं पैसा तिरेका मतदाताको नाम लिस्टमा नाम नपरेको , एकै नामका मतदाताको नाम धेरै ठाउँमा दोहोरिएको पाइएको थियो । ह्यारो बुथमा तोकिएको समयभन्दा १ घण्टा पछि मतदान सुरु भएको थियो भने स्कटलेन्डको इडनबरा बुथमा दिनको १ बजे मात्र मतपेटिका पुगेको थियो । त्यहाँको मतदानमा एडिनबराका १२,१५ मतदाता समय पावन्दीले भोट हाल्न आएर फर्किएका थिए जसको फलस्वरुप एक समूह ४ मतले पराजित भएको कुरा त्यहाँका स्थानीय बासिहरुको राय छ ।

शेर समूह आफ्नो उजुरीको सही जवाफ नभएसम्म मतगणनामा सामेल नहुने भन्ने अडानले निर्वाचन अयोगलाई चिढायो । आवेगमा आएका फौजी पृष्ठभूमिका प्रमुख आयुक्त घलेले उर्दी गरिहाले कि भोलि बिहान १० बजेसम्म मिल्ने भए मिल नत्र राजीनामा आउँछ । त्यस पश्चात फेरि भोलिपल्ट एकपक्षीय रुपमा इन्डिपिन्डेन्ट गणक राखेर मत गणना गर्ने भनेपछि शेर समूहको पत्रका सम्मेलन भयो ।

पत्रकारसम्मेलन भेटघाट रेस्टुरेन्टमा भएको थियो । जहाँ सबैले निर्वाचन आयोग र आयुक्त डमर घलेप्रति आक्रोस पोखेका थिए । यसरी एक पक्षीय रुपमा मतगणना गरिए आफूले अर्को समानान्तर संस्था चलाउने सम्मका धम्की शेर समूहबाट आएको थियो । त्यस पश्चात स्कटलेन्ड , वेल्सको र नर्दन आयरलेन्डको मत गणना गरिसकेपछि मतगणना रोकिएको थियो । यसरी हेर्दा निर्वाचन आयोग पहिला केही कडा निर्णयहरु गर्दै दुबै पक्षलाई गलाउने र जसरी पनि मत गणना गर्ने रणनीतिमा देखिन्थ्यो जसले गर्दा दिउँसो २ बजे बेइजिङ्गस्टकको उजुरी हालेको शेर समूहको उजुरु सुनुवाई नै नगरी हठात जबर्जस्ती गरिँदै पुनः उक्त समूहलाई नै दवाब दिन गरिए जस्तो देखिन्थ्यो ।

निर्वाचन आयोगको अप्ठेरो

निर्वाचन आयोगले मतदाता नामावली र अन्य ब्यबस्थापनलगायत थुप्रैकामहरु त्रुटिपूर्ण रहेको , कार्यसमितिले गर्नु पर्ने कामहरु राम्रोसँग नगरिदिएकोले थुप्रै बाधाहरु खप्नु परेको भन्दै भाबुक भएर प्रवक्ता शिवजी श्रेष्ठले आइतबार राति भनेका थिए । सिमित स्रोत र साधनमा यति धेरै मतपत्र, निर्णयहरु, प्राविधिक कामहरु छोटोसमयमा नै तयार गर्न सफल भएको निर्वाचन आयोग बेइजिङ्गस्टकको उजुरी सुनुवाइमा चुकेको भन्ने एकपक्ष भन्ने गर्छन भने अर्को पक्ष शेर समूहका पदाधिकारीहरु ७ बजे सम्म बसेर मुचुल्का उठाउने बेलामात्र उठेर गएको बताउने गर्छन ।

यसै बीच निर्वाचन आयोगलाई एकातिर पुनम समूहका युवा तथा विभिन्न स्वार्थ समूहले बारम्बार मत गन्न दवाव दिने र अर्को समूहले धम्क्याउने काम निरन्तर भएको देखियो तर धम्की र प्रेसर भने थेगेर विवाद समाधान गर्न पचिल्लो समयमा अत्यन्त सकारात्मक कदम चालेको देखिन्छ । कमीकमजोरी सबैको हुन्छ यसबाट पाठ सिक्ने र बुझ्ने कुरा भने महत्वपूर्ण हो ।

समाजिक संस्थामा हुने राजनीतिक समस्याको हल हठात फौजी निर्णय भन्दा पनि धैर्य, वार्ता र बिबेकको प्रयोग सान्दर्भिक हुन्छ भन्ने कुरा पछिल्लो पटक निर्वाचन आयोगले बुझे जस्तो छ कि केन्द्रको प्रतिनिधिहरुको अगुवाईमा भएको छलफलबाट दुवै पक्ष बेजिंगस्टोक र ह्यारोको मतलाई यथास्थितिमा राखि छानबिन गर्न तयार भएको छ र बाँकी भोट गन्नेतर्फ प्रगतिउन्मुख छ । आशा छ यसैगरी बिकेक, वार्ता र छलफलबाटै निकास निकाली बाँकी मतगणना सम्पन्न हुनेछ । यसलाई लोकतान्त्रिक पद्धतिका रुपमा ग्रहण गरी दुवै पक्षले आ-आफनो नतिजालाई आत्मसाथ गर्नेछन । यसैबाटै आगामी दिनमा आफना मागहरु बुलन्द गर्न गैह्र आवसीय नेपालीहरुको साझा संस्था एनआएनएलाई थप बल पुग्नेछ ।

केन्द्रको धाकधम्की

गैरआवासीय नेपाली संघ बेलायत सबैभन्दा धेरै सदस्य संख्या भएको एनसीसी बनेसँगै केन्द्रमा उठ्ने पदाधिकारीहरुको आँखा गाडेको बिशेष गरेर केन्द्रीय अध्यक्षका उमेद्वार कुमार पन्त र कुल आचार्य आफ्नो पोल्टामा बढी डेलिगेट्स पार्न लालायित रहेको कारणले पनि विवादमा खेल्ने कोसिस भएको कुमार पन्त समूहले खुलेर पुनम गुरुङलाई समर्थन गरेको भन्ने मिडियाबाजी गरेर कुल आचार्यलाई दबाब दिन खोजिएको भन्ने हल्ला सुनिए पनि कुल आचार्यको भूमिका तुलनात्मक रुपमा सन्तुलित र दुवै पक्षलाई मिलाएर लान खोजेको देखिएको छ ।

बिकृतिका पक्ष

उमेद्वारी घोसणादेखि नै १० औं हजार खर्च गरेर हरेक उमेद्वारले बिषेश कार्यक्रम गर्दै बेलायत जस्तो ठाउँमा शक्ति प्रदर्शन गर्ने धेरै मानिसहरु भेला गर्दै तिनको समय र स्रोतको दुरुपयो गरेको पाइयो । महिनौंसम्म व्यापार चौपट पारेर, घर ब्यबहार छोडेर चुनाव भन्दै हरेक सहर पुग्नु , चुनाव जित्नको लागि अनेक चाहिने नचाइने गाठ बन्धन गर्नु, नेपाली राजनीतिक दलका भगिनी संस्थाका नेताहरुको चलखेल हुनु , उमेद्वारहरुलाई नै इसारामा नचाउने ग्रुपहरुले खर्च गर्न तम्स्याउनु विकृतिका बिकरालरुपको रुपमा संस्थाप्रति सद्भाव भएका तर संस्थाको मेम्बर बन्न पनि हिनताबोध गर्ने एक समूहको राय छ ।

बेलायत जस्तो लोकतान्त्रिक देशमा बसेर एक कल्याणकारी सामाजिक संस्थाको सामान्य चुनावमा यतिसारो तामझाम गर्नु कुनै पनि हालतमा राम्रो देखिन्न न चुनाव जितेर नै ठूलो भाग हात पर्ने हो । चुनाव जितेसँगै चन्दा र कार्यक्रममा जाने समयको योगदानको भाग त छदैछ ।
यी यावत समस्याहरुलाई मलजल गर्दै विशुद्ध नेपालको राजनीतिक दलकै चरित्र बोकेको यो संस्थाको भबिस्य यसका अग्रजहरुले बेलैमा सोचेर केही दुरदर्शी रणनीतिक कदम नचाले त्यति उज्वल  देखिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment