Comments Add Comment

भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री

९ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री ज्ञवालीले बुधबार ट्रम्पसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकाले उच्चस्तरीय सम्बोधन गरेपछि विभिन्न देशको नेतृत्व गरेर आएकाहरूलाई रात्रिभोज दिने प्रचलन छ । यही परम्पराअनुसार, बुधबार आयोजना गरिएको रात्रिभोजमा ज्ञवालीले सहभागी हुने अवसर पाएका थिए । त्यही रात्रिभोजका क्रममा ट्रम्पसँग ज्ञवालीले संक्षिप्त भेटवार्ता गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नगएपछि ज्ञवाली नेपाली टोलीको नेतृत्व गर्दै महासभा बैठकमा सहभागी भएका छन् । बैठकको दौरानमा विभिन्न देशका राष्ट्र प्रमुख तथा समकक्षीसँग उनले भेटिरहेका छन् । उनले ती भेटघाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । भेटवार्ताको सिलसिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग आमनेसामने भएको सरकारी समाचार संस्था राससले जनाए पनि ज्ञवाली आफैंले यसबारे सार्वजनिक गरेका छैनन् ।

समाचारहरुमा बताइएअनुसार, भेटवार्ताका क्रममा ट्रम्पले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ज्ञवालीसँग जिज्ञासा राखेका थिए । जवाफमा ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । दुईबीच अन्य द्विपक्षीय हितबारे पनि कुराकानी भएको बताइएको छ ।

‘भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक’

मन्त्री ज्ञवालीले बुधबार नै भूपरिवेष्टित देशको अठारौं मन्त्रिस्तरीय बैठकलाई न्यूयोर्कमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मन्त्री ज्ञवालीले अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको औंल्याएका छन् ।

विकटता, भूमिबद्धता, भौगोलिक एकाकीपनबाट भूपरिवेष्टित देशहरूले धेरै चुनौती झेल्नुपरेको यथार्थ सुनाउँदै मन्त्री ज्ञवालीले विश्व व्यापार सञ्जालमा समाहित हुन पनि कठिन भएको बताए । उनले भने, ‘भौगोलिक व्यवधानले विकासको लागत बढाएको, गरीबीले जरा गाडेको र आर्थिक व्यथा थपेको छ । जलवायु परिवर्तनको प्रभावले उनीहरूको जोखिमलाई अझ धेरै बढाएको छ ।’

अन्य देशको तुलनमा भूपरिवेष्टित राष्ट्रमा भौतिक पूर्वाधारको अधिक अभाव रहेको तथा जल, स्थल र नभमार्गबाट सम्पर्क सञ्जाल बढाउन उत्तिकै कठिन भएको वास्तविकता प्रस्तुत गर्दै उनले भौगोलिक विकटताले उनीहरूका उत्पादनको प्रतिस्पर्धात्मक क्षमता नै क्षय भएको बताए ।

घानासँग जोडियो कूटनीतिक सम्बन्ध

यसैबीच, मन्त्री ज्ञवालीले घानासँग कूटनीतिक सम्बन्ध गाँसेका छन् । संयुक्त राष्ट्र संघको ७४ औं महासभा बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका मन्त्री ज्ञवालीले अपि|mकी मुलुक घानासँग कूटनीतिक सम्बन्ध कायम गरेका हुन् ।

दुई देशबीच कूटनीतिक सम्बन्ध कायम गर्ने सम्झौतामा ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले हस्ताक्षर गरेको राससले जनाएको छ । दस्तावेजमा हस्ताक्षर गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले आपसी हितका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment