Comments Add Comment

सामसुङले किन बन्द गर्यो चीनमा रहेको मोबाइल कारखाना ?

दक्षिण कोरियाली कम्पनी सामसुङले चीनमा रहेको मोबाइल फोन उत्पादन कारखाना बन्द गरेको छ ।

चिनियाँ स्मार्टफोनहरुसँगको तिव्र प्रतिस्पर्धाका कारण सामसुङले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारको रुपमा रहेको चीनमै स्मार्टफोन उत्पादन गर्न बन्द गरेको हो ।

सामसुङले दक्षिण चिनियाँ सहरको होइझोउ सहरमा रहेको आफ्नो अन्तिम स्मार्टफोन उत्पादन कारखाना बन्द गरेसँगै चीनबाट सामसुङका स्मार्टफोनको उत्पादन बन्द भएको हो । गत वर्षको अन्त्यतिर पनि सामसुङले चीनमा रहेको आफ्नो अर्को एउटा स्मार्टफोन कारखाना बन्द गरेको थियो ।

चीनमा बढ्दो श्रमिकको ज्याला तथा आर्थिक सुस्ततासँगै अन्य उत्पादकहरुले समेत चीनमा रहेका आफ्ना कारखानाहरु बाहिर सार्ने क्रम बढेको छ ।

यसअघि सोनी कम्पनीले समेत अब चीनमा रहेको आफ्नो स्मार्टफोन कारखाना बन्द गरेर थाइल्याण्डमा मात्रै स्मार्टफोन उत्पादन गर्ने घोषणा गरेको थियो ।

तथापि अमेरिकी कम्पनी एप्पलले चाहिँ अझै पनि आफ्ना डिभाइसहरुको अधिकांस हिस्सा चीनमै उत्पादन गर्ने गरेको छ ।

स्मरण रहोस् चिनियाँ बजारमा सामसुङका स्मार्टफोनको हिस्सा १ प्रतिशत रहेको छ । जुन सन् २०१३ मा १५ प्रतिशत रहेको थियो । चिनियाँ बजारमा हुवावे तथा शाओमी जस्ता स्थानीय स्मार्टफोन ब्राण्डहरुको तिव्र विस्तारसँगै सामसुङको बजार हिस्सा खुम्चिएको हो ।

चिनियाँहरुले सस्तो मूल्यका स्मार्टफोनका लागि विभिन्न घरेलु ब्राण्ड रोज्ने र महंगो मूल्यका लागि आइफोन र हुवावे रोज्ने गरेका कारण सामसुङलाई असर परेको हो ।

आफ्नो दक्षता अभिवृद्धिका लागि चीनमा स्मार्टफोन बन्द गर्ने अप्रिय निर्णय गर्नुपरेको सामसुङले जनाएको छ । तर चिनियाँ बजारमा आफ्ना स्मार्टफोनको बिक्रीलाई भने सामसुङले निरन्तरता दिनेछ ।

चीनमा रहेको स्मार्टफोन उत्पादन कारखाना बन्द गरेसँगै त्यहाँका निर्माण उपकरणलाई विश्वका अन्य ठाउँमा रहेका उत्पादन कारखानामा आवश्यकता अनुसार लगिने सामसुङले जनाएको छ ।

हुइझोउमा रहेको सामसुङको कारखाना सन् १९९२ मा स्थापना भएको थियो । गत जुनमा सामसुङले उक्त कारखानाको क्षमता तथा कर्मचारीको संख्यामा कटौती गरेको थियो ।

सो कारखानाबाट सामसुङले सन् २०१७ मा मात्रै ६ करोड ३० लाख गोटा स्मार्टफोन निर्माण गरेको थियो भने ६ हजार जनालाइ रोजगारी दिएको थियो । उक्त वर्ष विश्वभरमा गरी सामसुङले झण्डै साढे ३९ करोड गोटा स्मार्टफोन उत्पादन गरेको थियो ।

स्मरण रहोस् पछिल्लो समय सामसुङले कम ज्यालादर भएका भारत तथा भियतनाम लगायतका देशमा आफ्ना उत्पादन केन्द्रहरु विस्तार गरिरहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment