Comments Add Comment

डोटीमा बाल विवाह रोक्दै बालबालिका

१६ असोज, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-८ लडागडाको एक घरमा बिहेको तयारी हुँदै थियो । परिवारका सदस्यहरु छोरीको बिहेका लागि सरसामान जुटाउने देखि निम्ता पठाउनमा व्यस्त थिए ।

त्यसैबेला प्रहरीसहित बालबालिकाको एक हुल आयो । प्रहरीसहितको टोली आउँदा तयारीमा जुटेकाहरुलाई के घटना भएछ भन्ने लाग्यो । जब प्रहरीले बिहे हुन लागेकी किशोरीको उमेर सोधे । अनि थाह भयो प्रहरी आउनुको कारण ।

किशोरीका जति वर्षको भए पनि आफ्नो छोरीको बिहे गर्न पाउनु आफ्नो अधिकार भएको दावी गर्न थाले । प्रहरीले बाल विवाह गरे हुने सजायको कुरा गरेपछि उनी डराए ।

लडागडामा रहेका सुनादेवी बालक्लव र वडास्तरीय बालक्लवमा आवद्ध बालबालिकाहरुले बाल विहे भइरहेको थाह पाएपछि प्रहरीलाई खबर गरेका थिए । बालबालिकाहरुले सोही दिन यसैगरी अन्य दुई किशोर किशोरीहरुको बालविवाह हुनबाट रोकेका छन् ।

बाल विवाह बढी हुने क्षेत्रका रुपमा चिनिएको लडागडामा हाल बाल विवाहबिरुद्ध बालबालिकाहरुनै सक्रिया छन् । ‘हामी जसरी भए पनि बालविवाह रोक्नु पर्छ भनेर लागेका छौं,’ सुनादेवी बाल क्लबका अध्यक्ष लालबहादुर कडायतले भने, ‘हाम्रै साथीहरुको पनि विवाहको कुरा चलिरहेको कुरा थाहा पाएकाछौं, हामी रोक्छौं ।’ उनले आफूहरुको अभियानमा वडा कार्यालय र प्रहरीले सहयोग गरिरहेको बताए ।

बाल क्लबले बाल बिवाह रोक्नका लागि चालेको कदममा आफूले पूर्ण सहयोग गरिरहेको बताउँछन् वडाध्यक्ष रामबहादुर खड्का । ‘भाइबहिनीहरुले कसको घरमा बाल विवाह भइरहेको छ भन्ने पत्ता लगाउँछन् ,’ वडाध्यक्ष खड्काले भने, ‘त्यसैको आधारमा हामील प्रहरीसहित गएर कानुनी कुराको साथै बाल विवाहले पार्ने सामाजिक आर्थिक, मानसिकलगायतका असरहरुको बारेमा कुरा गर्छौं ।’

हालै भएको एक अनुसन्धानले यस वडामा तीन वर्षको अवधिमा १६३ बाल विवाह भएको देखाएको छ । बाल विवाहका बिषयमा गरेको अनुसन्धानका क्रममा बाल विवाहमा परेकामध्ये २२ किशोर र ७० किशोरीले विवाह अगावै विद्यालय छोडेको देखाएको छ ।

१३ किशोर र ५८ किशोरीले विद्यालय पढ्दा पढ्दै विवाह गरेको सो अध्ययनले देखाएको अध्ययन गर्ने संस्था सामुदायिक विकास केन्द्रले जनाएको छ ।

बाल विवाह धेरै हुन थालेपछि दिपायल सिलगढी नगरपालिकाले आगमी तीन वर्षभित्र बाल बिवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागू गरेको छ ।

रणनीतिक योजनाको आधारमा बाल विवाहबिरुद्ध बिभिन्न क्रियाकलाप गरिदै आएका छन् । ‘बाल विवाह रोक्नका लागि सवैभन्दा ठूलो कुरा जनचेतना हो,’ दिपायल सिलगढी नगरपालिकका प्रमुख मञ्जु मलासी भन्छिन्, ‘हामी पहिले सचेतना फैलाउने काममा लागेका छौं ।’

उनले कानुनी प्रावधानको बारेमा जानकारी हुँदा हुँदै पनि कुनै व्यक्तिले अटेरी गरे कारवाहीको दायरामा ल्याउने समेत बताइन् ।

बालबालिकाहरुले चलाएको अभियान प्रभावकारी हुने बिश्वास मलासीले गरिन् । उनले थपिन् ‘हामीले बिभिन्न गैरसरकारी संस्थाहरुको साझेदारीमा बाल क्लबहरुको क्षमता विकास गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment