Comments Add Comment

दशैंमा चालक, सहचालक र यात्रुलाई १० सुझाव

हामी सबै चाडको मुडमा छौं । नेपालीहरुको महान चाड दशैंले हामी सबैलाई छोइसकेको छ । सडक र चौकमा देखिएको सवारीको चाप र यात्रु र सर्वसाधारणको बढ्दो राप र तापले दशैं आइसकेको संकेत गरिरहेको छ ।

सार्वजनिक सवारीमा यात्रुहरु खचाखच देखिन्छन् । छोटो दुरीमा एकपटक आउजाउ गर्ने सवारी साधनहरु यतिबेला पटक-पटक यात्रु ओसार-पसार गरिरहेका छन् । लामो दुरीमा चल्ने सवारीमा सिट मात्रै होइन, टुल्स तथा सवारीका बर्नेट, प्यासेजमा समेत यात्रु भरिएका हुन्छन् । यातायात मजदुरहरुलाई भ्याई-नभ्याई छ ।

यात्रा सबैको बाध्यता हो । विदेशिएकाहरु घर फर्किने, सहरियाहरु गाउँ फर्किने, परिवार, आफन्त भेट्न आफ्नो ठाऊँ पुग्नैपर्ने यस्तो चटारोले योबेला यात्रा सरल र सहज हुँदैन । सेवाग्राही नागरिकको आवश्यकताका आधारमा सवारी साधनको व्यवस्था नहुँदा यात्रा कष्टपूर्ण हुनु स्वाभाविक छ जसका कारण विवाद, झैझगडा, कुटाकुट जस्ता दुखद घटनाहरु हुने गरेका छन् ।

यात्रुलाई गन्तव्यमा नपुर्‍याएसम्म यातायात मजदुरहरु सेवक हुन् । जिम्मेवार अधिकारी पनि हुन् । प्रारम्भिक बसपार्कबाट सवारी छुटिसकेपछि गन्तव्यको बसपार्क नपुगेसम्म सवारी धनी, सेवक, अभिभावक, न्यायदाता सबै यातायात मजदुरहरु (चालक, सहचालक र परिचालक) नै हुन् । बोली, व्यवहार, खानपान, आराम चिया खाजा, शौचालयसम्मका विषयमा मजदुरहरु यात्रुमैत्री हुनु पर्छ । विभिन्न स्वाभाव, आचरण र प्रवृतिका यात्रुहरुलाई सेवा दिनुपर्ने हुँदा सबैलाई व्यवहारले सन्तुलित बनाउनुपर्छ ।

यसका लागि यातायात मजदुरहरुले निम्न बुँदाहरुलाई पालना गर्नुपर्छ ।

यातायात मजदुरलाई दश सुझाव

१. मादक पदार्थ सेवन नगरौं । मादक पदार्थ सेवन गरेर सवारी नचलाऔं । सवारीमा अन्य काम नगरौं ।

२. तीव्र गतिमा सवारी नचलाऔं । अस्वस्थ प्रतिस्पर्धा र उछिन-पाछिन नगरौं ।

३. राज्यले निर्धारण गरेभन्दा बढी भाडा नलिऔं । भाडाका विषयमा वादविवाद र झैझगडा नगरौं ।

४. सवारीमा यात्रा गर्ने महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त फरक क्षमताका नागरिकहरुलाई सम्मान गरौं, प्राथमिकता दिऔं ।

५. यात्रु तानातान नगरौं । सवारीमा यात्रु कोचाकोच नगरौं । त्यसरी सवारी नचलाऔं ।

६. सवारी चलाइरहँदा मोवाईल फोनमा कुराकानी नगरौं, अरुलाई अप्ठ्यारो पर्ने गरी ठूलो स्वरमा नबोलौं ।

७. सबैसँग सभ्य भाषामा कुराकानी गरौं । विस्तारै बोलौं । हाँसेर बोलौं ।

८. यात्रुका सामानको विशेष ख्याल गरौं । छुटेका सामान सुरक्षित राखौं र समयमै प्रहरीलाई खबर गरौं ।

९. सबैसँग सहज बोलौं । रमाइलो, हँसिलो र खशी मुडमा काम गरौं । कसैसँग नरिसाऔं ।

१०. यात्रुमैत्री बनौं । यात्रुका समस्या सुनौं । आवश्यकता बुझौं र सुरक्षित यात्राप्रति प्रतिवद्ध बनाऔं ।

यात्रुहरुलाई केही सुझाव

यातायात मजदुरहरुलाई आलोचनाका पात्र बनाइएको छ । दण्डित गरिनुपर्ने वर्गका रुपमा हेरिएको छ । सहानुभूति होइन, बढी तिरस्कार गर्न खोजिएको छ । यस्ता पूर्वाग्रही र विभेदपूर्ण विगतलाई परिवर्तन गर्न आवश्यक छ । यसका लागि यात्रुहरु पनि यातायात मजदुर मैत्री बन्न जरुरी छ । यसका लागि निम्न बुँदाहरुलाई पालना गर्नुपर्छ-

१. यातायात मजदुरहरु सधैं दबावमा, तनावमा र बाध्यात्मक काममा हुन्छन् भन्ने कुरा बुझौं ।

२. चाडका बेला अरु मानिसहरु परिवारसँग हुन्छन्, तर यातायात मजदुरहरु परिवार छाडेर, आफन्तसँगको रमाइलो भुलेर हामी सबैको सेवामा जुटिरहेका हुन्छन् । ती मजदुरहरुलाई हामीले माया गर्नुपर्छ भन्ने सधै सम्झौं ।

३. टङाफिकको तनाव, सडकको व्यथा, सबैको हेपाई र जीवनको त्रासमा बाँचेका यातायात मजदुरहरुलाई हामीले दुव्र्यवहार होइन, सम्मान गरौं ।

४. मजदुरहरुलाई सम्मान गरौं । मजदुरमैत्री व्यवहार प्रस्तुत गरौं ।

५. यातायात मजदुरहरु हाम्रै समाजका सदस्य हुन् । उनीहरुसँग रिसाएर, अपमान गरेर, गालीगलौज गरेर होइन, सम्झाएर, फकाएर, रिझाएर रुपान्तरण गरौं ।

६. शिक्षित र सभ्य नागरिकले अरुको ईज्जत गर्छन, अरुको कमजोरीलाई सच्याइदिन्छन् र कमजोरीलाई अनुभूत गराउँछन् भन्ने उदाहरण बनौं ।
(राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment