Comments Add Comment

संस्मरण : दशैंमा बालापन खोज्दै माइतीघरमा

पोहोर साल टीका लगाउने निधार खाली नै रह्यो ! साथीहरूले बाल्यकालको दशैंका नयाँ लुगा हेर्दै टेलरमा गएर घण्टाैं उभिँदाका संस्मरणले फेसबुकका भित्ता रंगाउन थाले ! नयाँ लुगा सिलाउने कुनै योजना नभएकी म बालापन फर्कने आशामा नयाँ लुगा किनेर सिलाउन ढिलो दिएकाले टेलर माष्टरकहाँ जम्मा पाँचपटक जानुपर्‍यो, जसका कारण एउटा बालापनको अनुभुति पूरा गर्ने रहर पूरा भयो !

घरमा टीका नभएकाले यसपटक चितवन (माइत ) जाने रहर लाग्यो । साथीहरूका बाल अनुभूति जो आइरहेका थिए, यो रहर पूरा गर्न चितवन जानू भनेको छलाङ मार्नु नै हुन्थ्यो हाम्रो घरको परम्परा र संस्कारमा । नवमिको दिन त्यसले मूर्तरुप लिने भयो !

छोरी केही समयअगावै मामाघर गइसकेकी थिई । पोहोर दीपकजी र म नवमीका दिन काठमाडौँबाट घर जान हिँड्यौं । हामी दुई आ–आफ्ना बाबुआमा भएको ठाउँमा जाँदै थियौं ।

हामीवीच मौन वार्ता मात्र चलिरहेको थियो । गाडी गुडिरहेको थियो, तर मेरो मन चितवन जान पाउने खुशीले उडिरहेको थियो । मुग्लिन पुग्ने बेलामा बस घच्याक्क रोकियो र थकाई मार्न थाल्यो । हामी अलमल पर्‍याैं । आएका गाडीले हामीलाई लिफ्ट दिइरहेका थिएनन् । चितवन जाने रहर तुईने सम्भावनाले मेरो मन अल्मलिन थाल्यो । एउटा मुग्लिनसम्म जाने टेम्पु आयो । दीपकजीले रोकेर मलाई विदा गर्नुभयो म खुशीले बुकुर्शी मार्दै टेम्पो चढेर मुग्लिन गएँ । त्यहाँबाट बस चढेर चितवन गएँ ।

तर , घर पुग्दा न घर, त्यो थियो न त जमीन । न त साथीसंगी । न त दिदीबहिनी र बुबा नै !

भरतपुर मेरालागि नयाँ नभए पनि भरतपुरमा बनेको मेरो घर नयाँ थियोे । छरछिमेकी नयाँ थिए । आगो लिन आएझैं आउने र फर्कने म जस्ताका लागि छिमेकी र घर सधैं नौला नै हुने भए ! त्यो ठाँऊ र घरले मेरो बालापन कसरी फर्काउन सक्थ्यो र ?

परिवारका अग्रज हजुरआमाले अनन्त यात्रतय गरेको वर्षाैं भैसकेको थियो भने बुबा केही समयदेखि अष्ट्रेलिया हुनुहुन्छ । दिदी रीता, बहिनी सरिता र कान्छी अष्ट्रेलियन नागरिक बनेको पनि वर्षाैं भैसक्यो उनीहरुविनाको दशैंले मेरो बालापन कसरी ल्याउँथ्यो र ?

घर नयाँ भएजस्तै घरका सदस्य परिवर्तन भए र नयाँ बनेका छन । बुहारी मुना र भदाहरु जयस र अनिमेस छन । मायालु, तर तिनले मलाई घरको सदस्य भन्दा एकदुई दिनको पाहुनाका रुपमा ग्रहण गरेका छन् । कहिले ‘किन आफ्नो घर नआएर अन्तै बसिरहनुभएको भन्छन् त कहिले कतिखेर जाने हो भन्छन ।’ बेलुन फुक्न र फुटाउन ब्यस्त तिनका नोक झाेंकले रोमाञ्चक बनाउँछ । बच्चा त ती पो हुन्, तिनलाई जस्तो दशै मलाई के लाग्दो हो र बरै !

आठजनाको परिवार टुटफुट जोडजाड भएर सातजनाको त बनेको थियो । तर नानी र म अर्कै परिवारका बनेकाले टीका लगाउने जम्मा पाँचजना । कति समय लाग्थ्यो र ?

छोरी गृष्मा मामा घरै थिई । भाइ सञ्जिव र उसैका पछि लागेर आमा र म रामपुर गयौं । नब्बे वर्षका ठूलोबुबा त उस्तै हुनुहुन्थ्यो, तर ६ भाइ र दुई छोरीका परिवारलाई मुठ्ठीभित्र अटाउन सक्ने ठूलीआमा हुनुहुन्थ्यो । भदाभदै र बुहारीहरुले घरमात्र होइन, माहोल पनि अर्कै बनेको थियो । असन्तुष्ट मन, पुरानो घर चम्पानगर जान तम्सियो । बालापन खोज्न भरतपुरबाट रामपुर हुँदै चम्पानगरतिर मोडियो ।

बाटोमा ठाँउ–ठाँउमा लिङ्गे पिङ राखेका थिए । हामी ठाउँ ठाउँमा पिङ खेल्दै गयौं । चम्पानगर घर एक्लै हाम्रै बाटो हेरिरहेझै बसेको रहेछ ! पहेंलै भएर झुल्न थालेको धान पनि शायद मेरै बाटो हेरिरहेको हुँदो हो कि ? कति रहरले बनाएको घर, त्यो घर बनाउँदाको सन्तुष्टि र कष्ट एकैपटक मनमा उकुस–मुकुस भएर आयो ! आज यो घरसँग फोटो खिच्न रहराउनुपर्ने उफ ! यो कस्तो समय !

जीवनका २३/२४ वर्ष बालापन र युवा अवस्था बिताएको ठाउँ भनेर बसिरहन पनि कहाँ मिल्दोरहेछ र ? छुट्नु त थियो नै । त्यहाँबाट परिवारका सदस्य कोही नभएको ठाउँमा बस्नु पनि त केका लागि । मन अझै अघाएन र लाग्यौं पश्चिम देवनगरतर्फ, जहाँ मेरा बालसखाका घर थिए । मैले खेल्ने र हिँड्ने बाटाहरु थिए ।

खरले छाएका घर ढलान भएछन् । तर, बालसखा थिएनन् ! उनीहरु पनि आफ्नै घर गृहस्थ सम्हाल्दै ब्यस्त छन् होला । यहाँ घर आँगनमा खेलिरहेका कसरी भेटिँदा हुन् र ?

मन अझै सन्तुष्ट भएन र नारायणी नदीतिर लाग्यौं । युवा अवस्थाका उर्वर समय यही नारायणी, नारायणगढ र भरतपुर वरपर त पोखिएको थियो । ती पैतालाका डोब अझै देखिन्छन् कि ? मनले खोज्यो । दशैंको दिन मान्छे बग्रेल्ती थिए । यी पनि मजस्तै अतीत र बालापन खोज्न आएका होलान् कि ?

छोरीले पानीपुरी खाने भन्न थाली । जिद्दी गरी । दिनभरि श्रवणकुमारले जसरी मलाई बोकेर हिँडिरहेकी छोरीको यत्ति माग पनि पूरा नगरेर म कृतघ्न हुनु पनि त थिएन । नारायणीको किनारमा बसेर पानीपुरी र चटपटे खायौं ।

नारायणीमा कति धेरै पानी बगिसक्यो । तर, मसँग उमेरका रङ्ग बाहेक केही परिवर्तन भएको छैन । नेपाली झण्डा फहराउँदै सानो मोटरबोट नारायणीको धमिलो पानीमा कुदिरहेको छ । कहिल्यै पानीपुरी र चटपटे नखाने मैले आज छोरी र भदासँगसँगै खाएछु । छोरी दङ्ग पर्दै भन्न थाली मामु आज के भयो र ? तपाईंले पनि पानीपुरी र चट्पटे खाएको देखेर अचम्मै परें त ! म झस्किएँ । साँच्चै हिजोदेखि बालापन खोज्न हिँडेको मान्छे, के मैले बालापन भेटेकै हुँला त ? या बालख बनेकी हुँला त ?

घरबाट फोन आयो कता हो भनेर । म चुँडिएको चङ्गा जस्तै भएर आफैंलाई खोज्न ब्यस्त बनिरहँदा घाम ढल्कदै, पहेंलिन थालिसकेछन् । हतारिँदै घर आयाैं । २३ वर्षपछिको माइतीको दशै‌ं निधारमा टिकै नलगाइकन पनि विशेष बन्यो ।

दीपकजी एक्लै गोरखा घर जानुभएको छ । मन उहाँ र घरले पनि तानिरहेको छ । अहिलेसम्म गोरखा घरमा नटुटेको दशैं रोकिएको थियो । बुबा लगायत परिवारजन के सोच्दै होलान् ? गृहस्थ जीवन शुरु गरिसकेपछि बालापनको महसुश गर्न ख‍ोज्नु केवल मृगतृष्णा पो रहेछ त !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment