Comments Add Comment

शाहाकारीका लागि गिट्ठाको स्वादिलो अचार

काठमाडौं । सामान्यतया गिट्ठा भ्याकुर जस्ता कन्दमूलहरु अभावको खाना हो । अन्नको अभावमा आफ्नो गर्जो टार्नको लागि प्रयोग गरिने यस्ता कन्दमूलहरु शहरीकरणको र आधुनिक खानपिनका कारण हराउँदै गईरहेको छ । सन्तुलित आहारकालागि महत्वपूर्ण मानिएको यो पौष्टिक आहारलाई राम्रोसँग पकाएर खाने हो भने यसमा पाईने पौष्टिक तत्वका कारण शाकाहारीहरुको लागि मासुको विकल्प समेत हुनसक्ने देखिन्छ ।

नेपालीहरुको महान पर्व दसैं आउँदै छ । दसैंमा रहरले मासु छाडेका र स्वास्थ्यको समस्याका कारण मासु छाडेकाहरुलाई दसैंमा खाने विशेष खानाको आवश्यकता महसुस भईरहेको हुनसक्छ । जब दसैंको माहोल सुरु हुँदै जान्छ त्यसमा शाकाहारीहरुको समस्या पनि आफ्नै किसिमको हुन्छ । मासुको बढी प्रयोग हुने यो पर्वमा शाकाहारीले भोग्नुपरेका समस्याहरु आफ्नै किसिमको हुने गर्दछ ।

धार्मिक परम्परा अनुसार हामी दसैंको कतै सातौं दिन र कतै आठौं दिनमा विधिपूर्वक बोकाको बलि दिने गरिन्छ । तर, जब यो बलिको दिन सुरु हुन्छ त्यसपछि विस्तारै शाकाहारीहरुले खानामा केही कमजोरी भएको महसुस गरिरहेको हुनसक्छन् । यस्तो अवस्थामा एक कुशल तरिकाले पकाएको खण्डमा गिट्ठाको अचार मासु भुलाउने परिकार बन्न सक्छ ।

सामान्यतया: गिट्ठा कुनैपनि झाडीमा उम्रिएर रुखमा आफैं लहरा फैलाएर फल्ने एक किसिमको कन्दमूल हो । पौष्टिक रुपमा हेर्दा यसमा भिटामिनको ए, बी, सी, के, बी ६ र बी १२ लगायतका साथै यसमा प्रशस्त मात्रामा फाईवर समेत पाईने गर्दछ । चिकित्सकहरुका अनुसार गिट्ठामा फ्याट, कोलेस्ट्रोल र ट्रान्सफ्याटको मात्रा शून्य हुने गर्दछ ।

अहिले अन्तराष्ट्रिय बजारमा यसको मूल्य २ देखि ३ डलरसम्म पर्ने गरेको छ । यस्तो गिट्ठामा कार्वाेहाईड्रेड पोटासियम, सोडियम, क्याल्सियम, आईरन लगायतको तत्वहरु पर्दछ । यसमा क्यान्सर प्रतिरोधात्मक गुण समेत पर्याप्त हुने चिकित्सकहरु बताउँछन् ।

स्वाद र सन्तुष्टिकासँगै  जसरी केही समय अघिसम्म ग्रामीण भेगमा गुन्द्रूकको तरकारीलाई अभावमा गर्जो टार्ने तरकारीको रुपमा लिने गरिन्थ्यो । अहिले त्यो शहरी बस्तीमा मानिसको रोजाईको विषय बन्ने गरेको छ । त्यसरी नै गिट्ठा अहिले कन्दमूलको रुपमा अभावको खाना नभएर देशको शाकाहारीहरुको विकल्पको खाना बन्ने गरेको छ ।

दसैं नजिकिँदै जाँदा शाकाहारीहरुमाथि एउटा प्रश्न तेर्सिने गर्दछ, शाकाहारीलाई पनि दसैं लाग्छ र ? पक्कै पनि दसैं मासु खान र टाढा टाढाबाट घरमा सबैजना भेटघाट हुने पर्वको रुपमा परिचित छ । त्यस्तो अवस्थामा शाकाहारीकोलागि यो कुनै उत्साहको पर्व होईन कि भन्ने सोचाई आउनु कुनै नौलो कुरा होईन ।

शाकाहारीहरुले दसैंमा सधैंभरी भोग्नुपर्ने अर्काे प्रश्न हो, दसैंमा के खान्छन् शाकाहारीले ? घरघरमा मासुको स्वादले बस्ती नै मगमगी हुने दसैंमा त्यो बास्नामा शाकाहारीहरुले कुनै मिठास भेट्दैनन् । त्यस्तो अवस्थामा गिट्ठालाई ‘शाकाहारीको मासु’ को रुपमा समेत लिने गरिन्छ ।

कसरी बनाउने गिट्ठाको अचार ?

यो वास्तवमा गिट्ठा काटेर त्यसलाई पकाएर बनाउने गरिन्छ । बोटमा पाकेर छिप्पिएको गिट्ठालाई ढुंगामा थेचार्दा गिट्ठाको बोक्रा आफैं निस्किने गर्दछ । यसरी बोक्रा निकालेर काटेपछि तरकारी पकाए जसरी नुन मसला मिलाएर पकाउने गरिन्छ । पाकिसकेपछि त्यसमा चुक अमिलो हालेर यसलाई थप स्वादिष्ट बनाउने गरिन्छ ।

अचार मात्रै होईन यस्तो शरीरको लागि उपयुक्त गिट्ठालाई तरूल जसरी उसिनेर पनि खान सकिन्छ । अहिले गिट्ठाको महत्वलाई बुझेर काठमाडौंमा समेत कौशीमा यसको खेती गर्न सुरु गरिएको छ । गाउँघरमा सामान्य ओसिलो ठाउँमा आफैं उम्रिएर अरु कुनैपनि रुखमा लहरा फैलिएपछि यो फल फल्ने गर्दछ ।

गाउँघरतिर दसैंमा अचार बनाउनको लागि भनेर साउन भदौदेखि नै गिठ्ठाहरु संकलन गरेर राख्ने गरिन्छ । यो एक किसिमको कन्दमूलको रुपमा रहेको भएपनि स्थान विशेषको रुपमा हेर्दा शाकाहारी परिवारमा यसले मासुको जस्तै महत्व राख्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment