Comments Add Comment

चार भन्सार बिन्दुबाट मात्र ९१ प्रतिशत निर्यात

२७ असोज, काठमाडौं । नेपालमा दुई दर्जन भन्सार बिन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ । तर, निर्यात व्यापार भने केवल ४ वटा भन्सारमा मात्र सिमित रहेको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिनामा सबैभन्दा बढी निर्यात व्यापार वीरगन्ज भन्सारबाट भयो । यस भन्सार विन्दुबाट २७.९७ प्रतिशत निर्यात भएको छ । दोस्रो स्थानमा रहेको भैरहबाबाट २७.०७ प्रतिशत हिस्सा निर्यात व्यापार भएको छ ।

यसैगरी, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विन्दुबाट २४.७१ प्रतिशत निर्यात भएको छ भने मेची भन्सार विन्दुबाट ११.८१ प्रतिशत निर्यात व्यापार भएको तथ्यांक रहेको छ । यी बाहेक अन्य भन्सार बिन्दुबाट भने अत्यन्तै नगण्य वस्तु निर्यात हुने गरेको छ । सुख्खा बन्दरगाहबाट २.६३ र भैरहवाबाट २.८९ प्रतिशत निर्यात व्यापार हुने गरेको तथ्यांकले देखाएको छ ।

तातोपानीसहित ७ भन्सार विन्दुबाट शून्य निर्यात

वैशाख २०७२ को भूकम्प अगाडीसम्म चीनसँगको मूख्य नाका तातोपानीसहित ७ वटा भन्सार बिन्दुबाट दुई महिनामा एक रुपैयाँको पनि निर्यात भएन । आयात सामान्य भएको छ ।

भुकम्पले भत्काएको लामो समयपछि यो नाका आंशिक रुपमा सञ्चालनमा आएको हो । तथ्यांकअनुसार तातोपानीबाट २९ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यसबाहेक महेशपुर, सर्लाही, जनकपुर, जलेश्वर र भद्रपुरबाट समेत वस्तु निर्यात नभएको तथ्यांकले देखाएको छ ।

आयातको चाप वीरगञ्जमा

आयातको बढी चाप भने वीरगन्जमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार पहिलो दुई महिनामा वीरगञ्जबाट मात्र ७८ अर्ब २ करोड ३४ लाख रुपैयाँ हाराहारी आयात भएको छ । यो कूल आयातको ३४ प्रतिशत हो ।

त्यसपछि भने भैरहवा भन्सार बिन्दुमा आयातको चाप देखिन्छ । भैरहवाबाट कूल आयातको १७.३८ प्रतिशत हिस्सा व्यापार हुन्छ । सुख्खा बन्दरगाहबाट १३.११ प्रतिशत आयात हुँदा विराटनगरबाट ११.४० प्रतिशत आयात भएको देखिएको छ ।

त्रिभुवन विमानस्थलबाट भने कूल आयातको ९.२९ प्रतिशत हिस्सा आयात भएको छ । रसुवा भन्सार विन्दुबाट ३.३४ र नेपालगन्ज भन्सार विन्दुबाट ३.६० प्रतिशत आयात भएको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार अहिले २४ भन्सार बिन्दुबाट नेपालको आयात–निर्यात व्यापार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment