Comments Add Comment

भूकम्पपीडितको अनुदान गैरपीडितले हात पारेपछि ….

विकास मरहट्टा

२९ असोज, गोरखा । गोरखा नगरपालिका ७ मान्द्रेढुंगाका सीताराम सार्कीको घर २०७२ सालको भूकम्पले भत्किएर बस्नै नमिल्ने भए पनि आंशिक क्षतिको सूचीमा प¥यो । घर प्रवलीकरण गरेर बस्न मिल्ने सूचीमा आफ्नो परेपछि उनले गुनासो फारम त भरे तर संबोधन भएको छैन ।

वडाध्यक्षमार्फत सम्झौताको समयावधी सकिन लागेको जानकारी पाएका उनी मन नहुँदा नहुदै पनि प्रवलिकरणका लागि सम्झौता गर्न बाध्य भए । गत असार १५ मा सम्झौता गरेर साउन महिनामा पहिलो किस्ता लिन उनी बैंकमा पुगे । तर आफ्नो नामको पैसा अर्कै व्यक्तिले लगिसकेको थाहा पाएपछि उनी रनभुलमा परे ।

‘मेरो नामको पैसा डण्डीडाँडाका सीताराम रोका सार्कीलाई दिएछन्,’ उनले भने, ‘बैकले भवन कार्यालय जानुस् भनेर पठाइदियो ।’ वडाध्यक्षको बदमासीले उनले अनुदानको रकम नपाएका हुन् ।

गोरखा नगरपालिकाकै डण्डीडाँडाका सीताराम रोकाको घर भूकम्पले भत्किए पनि उनी लाभग्राहीको सूचीमा परेका छैनन् । प्रवलिकरण पनि उनको नाम छैन । तर सीताराम सार्कीको नाममा आएको पहिलो किस्ता वापतको ५० हजार रकम बैकले उनलाई दियो ।

सम्झौता नम्बर र नाम एउटै भएकाले रकम दिएको नबिल बैक गोरखा शाखाले जनाएको छ । ‘एउटाको नाम सीताराम रोका अर्काेको सीताराम सार्की रहेछ, फेरि सम्झौता नम्बर एउटै अनि हामी पनि झुक्कियौ,’ नविल बैक गोरखा शाखाका एक कर्मचारीले भने ।

गैर लाभग्राही सीताराम रोकाले लिएको पैसा फिर्ता गर्न भनिसकेको वडाध्यक्ष बिष्णुप्रसाद श्रेष्ठले बताए । ‘नाम एउटै भएर झुक्कियौ, पैसा फिर्ता गर्न भनिसकेका छौ, फिर्ता गर्छु भन्नुभएको छ,’ उनले भने । रकम फिर्ता नगरे सामाजिक सुरक्षा भत्ता रोकिदिने चेतावनी दिएको उनले जानकारी दिए ।

वडाध्यक्षले एउटै संकेत नम्बरमा दुई जना (लाभग्राही र गैरलाभग्राही) लाई सम्झौता गराएकाले समस्या भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

‘भूकम्पपीडितको पैसा बैकले गैरलाभग्राहीलाई दिएछ, अब उसले त्यो पैसा बैकमा फिर्ता गरेपछि मात्र भूकम्पपीडित सीतारामले पैसा पाउनुहुन्छ,’ इकाइका राजकुमार ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment