Comments Add Comment

महिला क्रिकेटको जित भएको दिन

७ कात्तिक, काठमाडौं । कुनै पनि प्रतियोगिता खेलेपछि एउटाले हार्छ, अर्कोले जित्छ । वुमन च्याम्पियन्स लिग (डब्ल्यूसीएल)मा पनि यस्तै भयो, चितवन राइनोजले उपाधि जित्यो, क्याट विन्स काठमाडौ उपविजितामा सिमित रह्यो ।

तर त्यो भन्दा ठूलो महिला क्रिकेटको जित भएको छ ।

यो लामो समयदेखि महिला क्रिकेट खेल्दै आएकी राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको निष्कर्ष हो । फाइनलमा चितवनसँग पराजित काठमाडौंकी कप्तान उनले भनिन्, ‘पहिलो पटक आयोजना भएको फ्रेन्चाइज लिगको उपाधि जित्नबाट बन्चित हुँदा निराश त भइन्छ, तर खुशी पनि छु किनकी महिला क्रिकेटको जित भएको छ ।’

उनको भनेको जस्तै प्रतियोगिताले महिला क्रिकेटरहरुमा उत्सह जगाएको छ, सुखद भविश्यप्रति आश जगाएको छ ।

****

बिहीबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं र चितवनको फाइनल भिडन्त चलिरहेका बेला एक दशकसम्म नेपाली क्रिकेटलाई नेतृत्व दिएका पारस खड्का भीआईपी प्याराफिटमा बसेर खेल हेरिरहेका थिए । उनी कहिले वाह् भनेर खुसी दर्शाउँथे त कहिले चुकचुकाउँथे ।

आयोजक क्विन्स इभेन्ट म्यानेजेमेन्टमा आवद्ध भएकाले पारस प्रतियोगितासँग प्रत्यक्ष जोडिएका छन् । हालै मात्र कप्तानबाट राजीनामा दिएर केही फुर्सदिलो भएकाले उनले सबै खेलहरु प्रत्यक्ष हेर्ने अवसर पाए । प्रतियोगिता सफलरुपमा सम्पन्न भएकोमा उनी जति खुसी देखिन्थे, त्योभन्दा बढी मैदानमा महिला क्रिकेटरहरुको प्रदर्शनले उनलाई हौस्याएको थियो ।

यो पनि पढ्नुहोस दङ्ग इन्दु, रुविना पनि खुसी !

सुरुवाती खेलमा खेलाडीहरुमा उति उत्साह देखिन्थ्यो, त्यति नै डर तथा हिच्किचाहट थियो । यो यसकारण पनि स्वभाविक थियो कि महिला टिमबाट क्रिकेट खेलेको बर्षौ भएपनि यो स्तरको घरेलु प्रतियोगिता उनीहरुले खेलेकै थिएनन् । त्यसमाथि फ्रेन्चाइज लिगमा दबाब बढी नै हुन्छ ।

एउटै खेलमा ३/४ वटा रनआउट हुनेदेखि सिनियर खेलाडीकै फिल्डिङमा त्रुटि देखिनुको कारण पनि यही नै हो । खेल्दै जाँदा त्यसमा सुधार देखियो । र, फाइनलसम्म आइपुग्दा खेलाडीहरुको आत्मविश्वास माथि उठिसकेको थियो । प्रशिक्षक राजु खड्का भन्छन्, ‘पहिलो टुर्नामेन्टमा यत्तिको खेल्लान् जस्तो लागेको थिएन । धेरै राम्रो प्रदर्शन गरे । ८/९ वटा अर्धशतक बनेका छन् ।’

दुई महिनादेखि १३ औं दक्षिण एसियाली खेदकुद (साग)को तयारीमा रहेका महिला क्रिकेटरहरुलाई यो प्रतियोगिताले राम्रो एक्सपोजर दिएको प्रशिक्षक जगत टमाटा बताउँछन् । ‘दुई महिनादेखि (सागको) क्लोज क्याम्पमा थिए । त्यहाँ सिकेको कुरा मैदानमा प्रयोग गर्न पाए । यसले उनीहरुको क्रिकेट क्षमता बढाउँछ,’ उनले भने ।

प्रतियोगिता खेल्दै गर्दा महिला क्रिकेटरहरुको फिल्डिङमा सुधार आएको र म्याच सेन्स बढेको छ ।

****

प्रतियोगितामा केही नयाँ अनुहार पनि देखिए, जसले भोलि राष्ट्रिय टिममा स्थान बनाउन सक्नेछन् ।

एउटा उदाहरण हुन् सुमन खतिवडा । उनकै अलराउण्ड प्रदर्शनको मद्दतमा चितवनले ५४ रनको जितसँगै उपाधि उचाल्यो ।

प्रतियोगितामा ६ विकेट लिएकी उनले ७४ रन बनाइन् । ‘उनमा महिला क्रिकेटलाई लिड गर्नसक्ने क्षमता देखेको छु’, विपक्षी टिम काठमाडौंकी कप्तान रुविनाले उनको प्रशंसा गर्दै भनेकी छन् ।

सबै टिमले राम्रो क्रिकेट खेलेको भन्दै उनले अघि भनिन्, ‘जुन उत्साह लिएर मैदान प्रवेश गरेका थियौं, फाइनलसम्म पनि त्यो कायम रह्यो । त्यसमा खुसी छु ।’

प्रदेश ३ क्रिकेट संघका अध्यक्ष समेत रहेका प्रशिक्षक खड्काले पनि यू–१९ र यू–२३ मा क्रिकेटरहरुलाई यो प्रतियोगिताले राम्रो एक्पोजर दिएको र भोलिका दिनमा राष्ट्रिय टिममा पर्न सक्ने बताए । खड्का भन्छन्, ‘आगामी दिनमा यस्तो २/३ वटा प्रतियोगिता हुने हो भने महिला क्रिकेटले चाँडै फड्को मार्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment