Comments Add Comment

जुवाखालबाट बरामद भएको पैसा लुकाउने ३ प्रहरी निलम्बित

१५ कात्तिक, पोखरा । सन्तोष सुवेदी कास्की प्रहरीमा सादा पोशाकमा खटिन्छन् । सादा पोशाकमा खटिएर थुप्रै अनुसन्धानमा ‘कुशलता’ देखाएको भन्दै पटकपटक सम्मान पनि थापिसकेका छन् ।

असोज महिनामा मात्रै ६४ औं प्रहरी दिवशको अवसरमा सुवेदीले ‘उत्कृष्ट अनुसन्धानकर्ता’को सम्मान थापे । त्यो सम्मान देशभरीकै उत्कृष्टभित्रबाट छानिएको थियो । त्यसअघि ६३ औं प्रहरी दिवसमा पनि ‘असल प्रहरी’को सम्मान पाएका थिए ।

६३ औं प्रहरी दिवसमा सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरीमा छानिएका थिए । तर, त्यतिबेला उनी एक्लो नभइ उनीसँगै खटिने प्रहरी टोली नै सम्मानित भएको थियो ।

प्रहरी संगठनबाटै २ पटक सम्मानित भइसकेका असई सुवेदी शुक्रबार निलम्बनमा परेका छन् । उनी निलम्बनमा परेसँगै उनको ‘खास छवि’ सतहमा देखा परेको छ ।

सुवेदीसहित प्रहरी जवान अनिल ढकाल र जीवनाथ लामिछाने निलम्बनमा परेका छन् । उनीहरुमाथि आरोप छ, ‘असई सुवेदी आर्थिक अनियमितता गरेका छन् ।’

सुवेदी सादा पोशाक प्रहरीका इन्चार्जसमेत हुन् ।

किन परे निलम्बनमा ?

कात्तिक ९ गते असई सुवेदीको टोली तिहारको मौकामा जुवातास खेलिरहेकालाई नियन्त्रणमा लिन खटिएको थियो । सोही समय उनीहरुलाई एउटा सुराक आयो, ‘पोखरा ६ बैदाममा रहेको छवि पौडेलको घरमा जुवा खेल्दैछन् ।’

सुराकपश्चात सुवेदीको टोली पोखरा ६ मा रहेको होटल क्रिस्टल प्यालेसमा छापा मार्‍यो । त्यहाँबाट टोलीले १० लाख ५८ हजारसहित ९ जनालाई नियन्त्रणमा लियो ।

तर, प्रहरी कार्यालयमा बुझाउँदा १ लाख २६ हजार रुपैयाँ ‘गायब’ थियो । बरामदपश्चात हराएको बाँकी रकम पछि प्रहरीले प्रयोग गर्ने स्कुटरभित्र भेटियो । सादा पोशाकमा खटिएका प्रहरी जवानले स्कुटरमा पैसा राख्दै गरेको ससीटीभी फुुटेजमा देखिएको छ ।

प्रहरीले नै बरामद भएको रकम लुकाएको खुलेपछि असई सुवेदीसहित ३ जना निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले पुष्टि गरे । ‘प्रारम्भिक अनुसन्धानमा तीनै जनाले अनियमितता गरेको पाइयो,’ उनले भने, ‘थप अनुन्धान प्रक्रिया अघि बढाएका छौं । हाललाई तीनै जनालाई निलम्बन गरिसकेका छौं ।’

कास्की प्रहरी पछिल्लो समय जुवाका घटनाबाट पटकपटक विवादित बन्दै आइरहेको छ । कास्की प्रहरीले केही समयअघि जुवा खेल्दै गरेका केही एनआरएनलाई समेत नियन्त्रणमा लिएको थियो । उक्त समयमा पनि युरो डलर ‘लुकाएको’ आरोप लागेको थियो । तर, प्रहरी स्रोत भन्छ, ‘एनआरएन बरामद भएको युरो डलर उनीहरुकै आफन्तलाई फिर्ता दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment